समाज

बँदेलको बितन्डाले बाली जोगाउन हारगुहार

बँदेलले नष्ट गरेर छाडेको मकै टिप्दै धादिङको थाक्रे गाउँपालिका १० चिउरीपाटीका किसान। तस्बिर: शंकर श्रेष्ठ/नागरिक

बारी र बस्ती सँगसँगै छ। बस्तीभन्दा तल जंगल छ। अर्को भागमा काठमाडौंबाट गाउँ जाने पिच सडक छ। केवलपुरका बस्ती र सडकमै डुलेर बँदेलले बितन्डा मच्चाइरहेका छन्। किसानले बँदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्। केवलपुरका कृष्णबहादुर श्रेष्ठ भन्छन्, ‘कसलाई सुनाउने हाम्रो पीडा ?’

बँदेलबाट मकै जोगाउने उपाय खोज्न श्रेष्ठ आइतबार थाक्रे गाउँपालिका १० को वडा कार्यालय पुगे। दिउँसो २ बजेतिर वडा कार्यालय पुगेका उनी कार्यालयमा गुनासो सुनिदिने कोही नभेटेपछि निराश भएर फर्किए।

माउभन्दा बच्चा बँदेल धेरै देखिन्छन्। दुइटा माउसँग चार–पाँचवटा बच्चा बँदेल हुन्छन्। बच्चा पनि भैंसीका पाडापाडीजत्रै छन्। ‘घ्यारघ्यार–घुरघुर गर्दै तल र माथि दगुर्छन्, धपाउन त परैको कुरा नजिक जानै सकिँदैन’, उनले पीडा सुनाए।

सप्रिएको मकै भएका बेला छेउबाट कुनासम्म देख्नै सकिँदैन। एउटा घरबाट अर्को घर पनि देखिँदैन। तल्लो गरामा मकै खाइरहे पनि माथिल्लो गराबाट देख्न मुस्किल छ। ‘यताबाट लखेट्यो उता भाग्छ’, स्थानीय किसान लक्ष्मण विडारी भन्छन्, ‘मान्छेलाई मकैबारीमा पस्नै डर छ।’

दुधे मकै भएको ठाउँमा बँदेलले बढी क्षति पुर्‍याएको छ। खाएर मात्रै होइन खेलेर पनि मकैका बोट भाँचिदिएको छ। मकैका जरा सुँढले खोतलेर चुँडाइदिएको छ। ठाउँठाउँमा सुँढले उधिनेर खाल्डैखाल्डो बनाइदिएको छ। विडारी भन्छन्, ‘बँदेलले यस्तो डरै मर्नु पारेर यति धेरै क्षति गरेको यसपालि देखियो।’

मल लुटेरै भए पनि मकै फलाएका केवलपुरका किसानलाई अहिले बँदेलको वितण्डा खपिनसक्नु छ। बँदेल हिँडेका कान्ला पनि भस्किएका छन्। मान्छे बराबर अग्ला मकैका घोगा नढालीकनै कोपरेर खाएका छन्।

थाक्रे गाउँपालिका १० र ९ का बस्ती बीचबीचमै बँदेल छिरेर मकै नष्ट पार्न थालेपछि यहाँका किसान आत्तिएका छन्। घाम, पानी, भोक र प्यासको पर्वाह नगरी हुर्काएको मकै भिœयाउने बेला बँदेलले सखाप पारेपछि गाउँभरिका किसान चिन्तित बनेका छन्।

केवलपुरका कृषकको मुख्य आयस्रोत मकैबाली हो। बँदेलको वितण्डाले घाँस–दाउरा गर्न बारी र जंगल जानसमेत डर छ। अहिलेसम्म करिब ५० परिवार किसानका मकै बाली बँदेलले नष्ट गरिसकेको छ। मकैका अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि लडिबुडी खेल्ने, खाल्डो बनाउने गरेर बाली तहसनहस पारिदिएको छ।

गत वर्षदेखि बँदेल आतंक सुरु भएको हो। त्यतिबेला पनि धेरै क्षति भएको थियो। यस वर्ष झन् क्षति धेरै गरेको छ। एकदुईजना किसानले वडाका जनप्रतिनिधिलाई गुनासो सुनाए, तर उनीहरूले बँदेलले पुर्‍याएको क्षतिलाई सामान्य रूपमा लिएका छन्।

चेतनाको कमीले स्थानीयले कहीं पनि आधिकारिक रूपमा क्षतिपूर्ति माग गरेका छैनन्। ‘क्षति पुर्‍यायो भनेर कसलाई भन्ने नै थाहा छैन। सकेसम्म बँदेल आआफ्नो बारीमा जानबाट रोक्ने कोसिस मात्रै गरिरहेका छौं’, किसान शिवप्रसाद विडारी भन्छन्।

शंख बजाउने, मोटरसाइकल हर्न बजाउने गरेर बँदेल भगाइरहेको किसान बताउँछन्। ‘अहिलेसम्म करिब ६० रोपनीमा लगाइएको बाली पूर्णरूपमा क्षति भइसकेको छ। अझ कति क्षति गराउँछ। तर पनि औपचारिक रूपमा क्षतिको विवरण लिएर गाँउपालिका गएका छैनौं’, किसान राजेन्द्र रूपाखेतीले सुनाए।

मकै गोडेर काठमाडौं गएका शिवप्रसाद विडारी पनि बँदेल कुर्न गाउँ फर्किएका छन्। ‘दाजुले मकै बँदेलले खान थाल्यो, कुर्न आऊ भन्नुभयो। त्यसपछि तुरुन्तै आएँ’, विडारी भन्छन्, ‘मकै फलाउन धेरै मेहनत गरेको छु, २५ सय तिरेर मल हालेँ, पाक्ने बेलामा बँदेलले नष्ट पारिदियो।’

गाउँमा बँदेलले पुर्‍याएको क्षतिबारे थाक्रे गाँउपालिका १० का वडाध्यक्ष गोकुल लामिछाने जिम्मेवार देखिएनन्। आफूहरूलाई लिखित जानकारी नआएको र बन्यजन्तुले गरेको क्षतिको खोजी गरेर पत्ता नलाग्ने भन्दै गैरजिम्मेवार जबाफ दिएका छन्। ‘मौखिक रूपमा जानकारी छ, लिखित जानकारी छैन। गाउँपालिकाले यति धेरैको क्षतिपूर्ति दिन पनि सक्दैन। तर पनि कार्यपालिका बैठकमा छलफल गर्ने सोच बनाएको छु’, वडाध्यक्ष लामिछानेले भने।

प्रकाशित: ११ श्रावण २०७९ ०२:१४ बुधबार

धादिङको थाक्रे गाउँपालिका