समाज

स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु–टावर

पर्यटकलाई धेरैभन्दा धेरै दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ। गेटमै पैसा तिरेर भ्युटावर चढेका पर्यटक रमाएर होइन, जेलभित्र छिरेको अनुभव सुनाउँदै फर्किंदै छन्।  

पाँचतले भ्युटावरको सबैभन्दा माथिल्लो तला पर्यटकले दृश्यावलोकन गर्ने मुख्य तला हो। तर, यसको वरिपरि स्टिल रेलिङ थपिएपछि पर्यटकले परिपरिको दृश्य देख्न पाएका छैनन्। ‘सुरक्षा’को हवाला दिँदै प्रशासनले दृश्यावलोकन गर्ने तलाकै परिपरि बाक्लो बेरा गर्न दबाब दिएपछि इलाम नगरपालिकाले स्टिल रेलिङ लगाएको हो।  

मुख्य दृश्यावलोकन गर्ने स्थानमै बाक्लो रेलिङ भएपछि पर्यटकले न बाहिरको दृश्य हेर्न सकेका छन् न तस्बिर/सेल्फी खिच्न नै। यहाँ आएका एक पर्यटकले इलाम बजारको पृष्ठभूमिमा तस्बिर खिच्न खोज्दा स्टिल रेलिङ मात्रै आएको बताए। ‘अहिलेसम्म दर्जनौं भ्युटावर चढियो होला तर जेलजस्तो भ्युटावर चाहिँ इलामकै मात्र देखियो,’ उनले भने, ‘परिपरि किन यतिसारो बारबेरा गर्नुपरेको हो ?’  

पर्यटक मात्र होइन, इलामको भ्युटावर चढ्ने जो–कोहीलाई अहिले यही अनुभव हुन थालेको छ। वरपर इलाम बजार, टाढा–टाढाका गाउँ, उच्च पहाड, तराईलगायत दर्जनौं सौन्दर्य देखिने भ्युटावर रेलिङकै कारण कुरूप बनेको पोखराबाट पर्यटन विकासको अनुभव सुनाउन इलाम आएकी जमुना वर्षा शर्माले बताइन्। ‘इलामको यो ठाउँ आएर जुन उत्साहले पर्यटक भ्युटावर चढ्छ, माथि पुगेपछि चाहिँ खिन्न हुनेरहेछ,’ उनले भनिन्, ‘यहाँबाट हेर्दा वरिपरिका दर्जनौं दृश्यले मन लोभ्याउनेरहेछ, हेरिरहँु लाग्ने दृश्य भ्युटावरबाट देखिने रहेछ तर परिपरि लगाइएको रेलिङले चाहिँ सबै दृश्य कुरूप बनाएको रहेछ।’  

उनले पर्यटकीय पूर्वाधार बनाउँदा पर्यटक त्यो पूर्वाधारबाट कति खुसी र सन्तुष्ट हुन्छ भन्ने सोच्नुपर्ने बताइन्। उनले आफूले पनि भ्युटावरबाट इलामको सोचेजस्तो तस्बिर खिच्न नपाउँदा दुःख लागेको सुनाइन्।  

भ्युटावरमै भेटिएकी महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक सल्लाहकार देवका पहारीले पनि भ्युटावरबाट देखिने सौन्दर्य अगाडिपट्टिको रेलिङले छोपिदिएको बताइन्। ‘रेलिङ कटाएर कतैबाट फोटो खिच्न नसकिने रहेछ, यो संरचना (भ्युटावर) राम्रो रहे पनि रेलिङले चाहिँ सौन्दर्य छोपेजस्तो भयो।’  

२०६८ सालमै बनाउन थालिएको भ्युटावरको निर्माण केही वर्षअघि मात्र सम्पन्न भएको हो। इलाम नगरपालिकाको करिब ७१ लाख रूपैयाँ खर्चेर बनाइएको भ्युटावरको सबैभन्दा माथिल्लो तलामा सुरुमा हाफ (आधा) रेलिङ मात्र थियो। तर, निर्माण सम्पन्न भएको केही समयपछि ‘असुरक्षित’ भएको भन्दै दृश्य देखिने मुख्य ठाउँमै तत्कालीन प्रमुख जिल्ला अधिकारीको दबाबमा रेलिङ थपिएको हो।  

इलाम नगरपालिकाका एक प्राविधिकले प्रशासनको चर्काे दबाब आएपछि प्राविधिक स्टिमेटभन्दा बाहिर गएर रेलिङ थप्नुपरेको बताए। ‘हामीले रेलिङ थप्दा सौन्दर्य छोपिने भएकाले सुरुमा त नथप्ने अडान लियौं। तारन्तर प्रशासनको चर्काे दबाब आएपछि अनावश्यक ठाउँमा रेलिङ थप्न बाध्य भयौं,’ उनले भने, ‘धेरै रेलिङ लगाएर भ्युटावर कुरूप बनाउन हुँदैन भन्ने थाहा भए पनि दबाब खेप्न सकिएन।’ उनले थपिएको रेलिङ जति भत्काउँदा नै त्यहाँबाट राम्रो दृश्यावलोकन गर्न सकिने बताए। ‘सुरक्षाको जोखिम हुन्छ भन्दैमा खोला–पोखरी, अग्ला घर सबैतिर रेलिङ र जाली हाल्न सम्भव हुन्छ र !’ ती प्राविधिकले भने, ‘भ्युटावर पनि असुरक्षित थिएन। थप रेलिङले कुरूप भएको भन्ने पर्यटकको गुनासो सत्य हो।’

प्रकाशित: ३० असार २०७९ ०५:०९ बिहीबार

इलामको भ्युटावर