समाज

उद्योगीलाई धम्काएर रकम असुल्ने २ जना पक्राउ

विराटनगरका एक उद्योगीलाई धम्काएर रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–६ घर भइ हाल विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित एयरपोर्ट मोडमा बस्दै आएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे–६ कै २६ वर्षीय विशाल ऋषिदेवलाई शुक्रबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनीहरुलाई उद्योगीलाई धम्काएर रकम असुलेको आरोपमा पक्राउ गरिएको हो। विराटनगर–३ का अगरबत्ती उद्योग सञ्चालक मुकेश शर्मालाई १० दिनदेखि निरन्तर फोन र पत्रमार्फत ५ लाख रूपैयाँ माग गर्दै धम्की दिन थालेका थिए। धम्कीका कारण उनले २५ हजार रूपैयाँ आइएमईमार्फत उनीहरुलाई पठाए पनि धम्की र रकम माग गर्ने काम रोकिएन।

निरन्तर धम्की आएपछि उनी अन्तिममा प्रहरी कहाँ पुगे र घटनाको अनुसन्धान थालेपछि उनीहरु पक्राउ परेका हुन्। धम्कीपूर्ण पत्र र फोन गरेर बारम्बार शर्मासँग पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीले जनाएको छ।

पाँच लाख रुपैयाँ लिनेदिने भनिए पनि ऋषिदेवको नाममा शर्माले शुक्रबार २५ हजार रूपैयाँ आइएमई गरेर पठाएका थिए। आइएमईबाट पैसा निकाल्दै गर्दा ऋषिदेव हसन्दहमा पक्राउ परे। उनी पक्राउ परे लगत्तै कार्कीलाई विराटनगरबाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

दुवै जना पक्राउपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट घटनाको मुख्य योजनाकार कार्की रहेको खुलेको छ। पक्राउ परेकाविरुद्ध ठगी तथा अपराधिक लाभअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App