समाज

श्रीमतीलाई आगो लगाइ हत्या, श्रीमान् पक्राउ

फाइल तस्बिर।

पत्नीलाई आगो लगाइ हत्या गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारमा २३ वर्षीय तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति १० बजेतिर घरभित्र थुनेर मट्टीतेल छर्की आगो लगाएको आशंकामा तिलकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

तिलकाकी पत्नि ३० वर्षीया वविता मल्लिक घरभित्र जल्नु र घर जल्दा उनी घरदेखि केही पर जानुले पनि घटना शंकास्पद भएको पुष्टि हुन्छ। घरमा शंकास्पद तरिकाले आगो लागेको पाइएपछि घटनाको अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए। घरमा आगो लागेर अरु निभाउन व्यस्त भएका बेला उनी भने भागेर केही पर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

आगोले जलेर घाइते भएकी वविताको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको हो। आगोले जल्दै गरेको र बोल्न पनि नसक्ने अवस्थामा राति नै उद्दार गरेर उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

शरीरका अधिकांश भाग आगोले जलेको थियो। शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ। आगलागी हुनुअघि पतिपत्नीबीच विवाद भएको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ। वविता र तिलका पहिले देवर भाउजू नाताका थिए। दाजु जगदीश मल्लिकसँग वविताको बिहे भएको थियो।

तर, ७ वर्षअघि दाजु जगदीशको मृत्यु भयो। ५ वर्षअघि उनले भाउजू ववितासँग बिहे गरेर सँगै बस्दै आएका थिए। उनीहरुको सन्तान छैन। दुवै जनाले सरसफाईको काम गर्दै आएको थिए। आगोले टिनको छानो र बाँसको टाटीले बेरा गरेको घरसहित भित्र रहेका लत्ताकपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।  

प्रकाशित: १८ असार २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App