समाज

मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। शहीद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक १२ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो।

यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। ‘शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिका लागि आवेदन दिन हामीले सूचना जारी गरेका छौं,’ उनले भने,‘यसका लागि प्रदेश सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ। अब कतिको संख्यामा आवेदन आउँछ, त्यही हिसाबले हामी रकम वितरण गर्छौं तर कार्यविधिमा २१ हजार रुपैयाँसम्म दिने भनिएको छ, निवेदन कतिको संख्यामा आउँछ त्यहीअनुसार रकम घटबढ पनि हुनसक्छ।’

शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई १६ हजार रुपैयाँ र ७ देखि १२ कक्षासम्मलाई १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रूपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताए। प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषण बापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: १६ असार २०७९ ०६:४८ बिहीबार

मधेश आन्दोलन शहीद परिवारको भरणपोषण