खेतमा सिँचाइ छैन तर उनलाई आकासे पानीको भर छ। जोत्ने साधन छैन तर चाँदे र कोदालीको भर छ। तर उनलाई सरकारले बाहिरबाट ल्याएर बिक्रीवितरण गर्ने रासायनिक मलको भर भने छैन।
भक्तपुर पिखेलकी किसान दिना खत्रीले धानको ब्याड देखाउँदै भनिन्, ‘असार लाग्दा पनि मल नपाउँदा अलमलमा परियो। यसपटक मनसुनको चाहिँ भर भयो तर सरकारको भएन।’ तीन सन्तानकी आमा खत्रीले आफ्नो १ रोपनी र भाडामा लिएको ३ रोपनीमा धान खेती गर्दै आएकी छन्।
उनले सन्तानको शिक्षादेखि अन्य व्यवहार धान खेतीका भरमा चलाउँदै आएकी छन्। खत्रीले धान खेती बिग्रदा सबै व्यवहार बिग्रने सुनाइन्। ‘ख्यालठट्टा हैन, खेती त हाम्रो जीवन हो’, उनले भनिन्, ‘तर खेतमा राख्न भनेका बेला कहिल्यै मल पाएनौं।’ मल अभावमा मकै खेतीसमेत बिग्रेको बताउँदै उनले यस्तै भयो भने धान खेती पनि राम्रो नहुने सुनाइन्।
उनको जस्तै समस्या छ कान्छी थापाको पनि। २ रोपनी खेतमा धान रोप्दै आएकी उनले मल नपाउँदा अत्यास बढेको सुनाइन्। ‘कि सरकारले सुरुमै मल भित्र्याउन हुँदैन्थ्यो’, खेतीमा विकासे मलको परनिर्भरताबारे उनले भनिन्, ‘अब त युरिया भएन भने धानै फल्दैन।’
दिना र कान्छी मात्र हैन, असार लाग्दा पनि मल नपाउँदा अधिकांश किसान अलमलमा परेका छन्। असारमा मानो रोपेर मंसिरमा मुरी फलाउने सपना सरकारको लाचारीका कारण पूरा नहुने हो कि भन्ने चिन्ता उनीहरूमा छ। ‘सरकारले असारमा मल दिन नसकेपछि नल्याए पनि हुन्छ’, सानोथलीकी मैया श्रेष्ठले भनिन्, ‘किन्न खोज्दा त मल दिन नसक्ने सरकारले किसानलाई अरु राहत के देला र?’
किसानलाई सरकारले मल कसरी ल्याउँछ भन्ने पनि थाहा छैन। मलमा हुने भनिएको चलखेलको जानकारी पनि छैन। उनीहरूलाई त सरकार छ, मल ल्याउँछ भन्ने विश्वास छ। तर त्यो विश्वास गुम्दै गएको उनीहरू सुनाउँछन्। ‘अहिले त हामीसँग धान बेचेर भए पनि मल किन्ने पैसा छ’, ललितपुर सानागाउँकी किसान टियु महर्जनले भनिन्, ‘यो धान बिग्रियो भने अर्को पटकदेखि मल किन्न पनि सक्दैनौ।’
सरकारले किसानका समस्यालाई गम्भीरतासँग नलिँदा अहिले यो समस्या आएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन्। ‘मलको नाममा हुने राजनीतिले नै अहिलेको अवस्था आएको हो’, उनले भने, ‘जबसम्म किसानको महत्त्व बुझिँदैन तबसम्म समस्या समाधान हुँदैन।’ किसानलाई कसैका लागि जागिर, कसैका लागि भोट र कसैका लागि पद पाउने माध्यम मात्र बनाइएको उनले सुनाए। ‘किसानका कुरा गरेर नेताले चुनाव जित्छन्’, उनले भने, ‘त्यसपछि किसानका समस्या बिर्सन्छन्।’
विगतमा घरायसी मल प्रयोग गरेर खेती गरिँदै आएको सम्झँदै उनले अहिलेको माटोले रासायनिक मल नै खोज्ने बताए। ‘सरकार न त पुरानो परम्परागत कम्पोस्ट मल उत्पादन गर्ने विधिलाई सहयोग पुर्याउन उत्सुक छ’, उनी भन्छन्, ‘न त रासायनिक मल नै उपलब्ध गराउन सक्छ।’ मल नहुँदा झन्डै ४० लाख हेक्टर क्षेत्रमा हुने खेती प्रभावित हुने उनले बताए।
कृषिविज्ञ डा. कृष्ण पौडेल कमिसन खेलका कारण समयमै मल आउन नसकेको बताउँछन्। मल चाहिने समय पहिल्यै थाहाँ हुँदा पनि समयमा मल आउन नसक्नु दुर्भाग्य भएको उनको बुझाइ छ। ‘मल समयमा उपलब्ध गराउन नसक्नुमा जिम्मेवार निकाय दोषी हो’, उनले भने, ‘अनुदानको मलमा पनि कमिसनको खेलले किसान पीडामा पर्दैछन्।’
वर्ष दिनअघिदेखि गर्नुपर्ने तयारी एक महिना अगाडिबाट गर्दा यस्तो समस्या सधैं बल्झने गरेको उनले बताए। ‘यसपटक मलको भाउ बढ्न थालेपछि कमिसन घट्ने डरले आयातमा ढिलाइ गरियो’, उनी भन्छन्, ‘कमिसन खेलले किसानको ढाड सेकिँदै छ।’ रासायनिक मल अभाव भइरहेका बेला सोमबार प्रतिनिधिसभा बैठकले समयमै सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशनसहितको प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभाले कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधानका लागि रासायनिक मल किसानलाई सहज रूपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो। तर मलमा पनि राजनीति नै हाबी हुने गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तारूढ दल कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताए।
‘मल चाहिन्छ तर यसमा वर्तमान सरकार मात्रै दोषी छैन, अघिल्लो सरकार पनि दोषी छ’, विश्वकर्माले भने। माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले रासायनिक मलको समस्या कृषिमन्त्री स्तरबाट समस्या समाधान नहुने भएकाले प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताए।
कृषिमन्त्री महेन्द्र राय यादवले प्रक्रिया सुरु गरिए पनि समयमै मल ल्याउन नसकिएकोे बताए। ‘टेन्डर प्रक्रियाका कारण पनि ढिला भएको हो’, उनले प्रतिनिधिसभामा भनेका थिए, ‘हामीले भारत सरकारसँग पनि कुरा गरेका छौं, चाँडै मल समस्या समाधान गर्ने छौं।’ तर किसान मन्त्रीका कुरा पत्याउने अवस्थामा छैनन्।
किसानले यस्तो समस्या भोगेको यो पहिलोपटक हैन। ‘मैले खेती गर्न थालेको दुई दशकभन्दा बढी भयो’, वीरगन्ज ३२ का समसुद्दिन अन्सारीले भने, ‘तर समयमा कहिल्यै मल पाइएन।’ सीमावर्ती भारतीय सहरबाट आएको तस्करीको मल महँगो मूल्यमा किनेर खेतीमा हाल्ने गरेका अन्सारीले नेपाल सरकारको भर पर्न छाडेको बताए।
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले अहिले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिएको र आफ्ना डिपो/बिक्रीकक्ष मार्फत वितरण भइराखेको तथा २२ हजार मेट्रिक टन युरिया मल असार पहिलो सातादेखि भित्रिने जनाएको छ। तर यो हात्तीको मुखमा जिरा बराबरको हो।
कृषि मन्त्रालयका अनुसार यो सिजनमा धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया) आवश्यक पर्दछ। त्यसैले अहिले सबैतिर मल अभाव छ। ‘पसलमा मल पनि छैन, कहिले आउँछ भने पत्तो पनि छैन’, काठमाडौं कागेश्वरी मनोहरा ७ की पसले नानीमाया अवाल भन्छिन्, ‘मल कहिले आउँछ भनेर सोध्न आउनेको संख्या दिनहुँ बढ्दो छ।’
प्रकाशित: १ असार २०७९ ०१:२८ बुधबार