समाज

'यति वर्षपछि म आजको रात शान्तिसँग सुत्नेछु'

रिहान न्यौपाने, यो नाम नसुनेका सायदै कोही होलान्।  

नेपालमा कोरोना महामारी आउनु भन्दा केही महिना अगाडि बालक रिहान न्यौपानेको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा अस्पतालको लापरबाहीको सजाय अहिले रिहानले भोगिरहेका छन्।

रिहान न्यौपाने।

रिहानको बुबाआमाले स्वास्थ्यमा भएको त्यो लापरबाहीविरुद्ध र नेपाल मेडिकल काउन्सिलले अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूलाई कारबाही नगरेको भन्दै मुद्दा दायर गरेका थिए।

उच्च अदालत पाटनले २०७९ जेष्ठ ९ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई क्षतिपूर्ति स्वरूप ३५ लाख रुपैयाँ भराउने फैसला गर्यो। काठमाडौं लैनचौर निवासी अभिवाकद्वय सन्जीव न्यौपाने र एकता घिमिरेले आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै ग्राण्डी अस्पतालविरूद्ध दिएको मुद्दा दिए। र, उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेष्ठ ९ गते यस्तो फैसला गरेको हो।

 ‘म यस्तो केसहरु एक्सपर्टीज होइन। तर, जब पत्रिकामा रिहानको न्यूज पढेँ, म भावुक भएँ। मेरो मन छोयो र, हामी आफैले रिहानको आमाबुबालाई सम्पर्क गरेर हामीले गर्न सक्ने मद्दत गर्छौ भनेपछि हामी यो केससँग जोडिएका हौं,’ उनले भनिन्।  

फैसलापछि रिहानकी आमा एकताले ट्वीट गर्दै भनेकी छिन्,  

'मैले आफ्ना भावनाहरू कहिल्यै कसैलाई बाँडिन। तर, आज मलाई लाग्छ कि मैले भन्नुपर्छ। मेरो सन्तान रिहानको जन्मपछि जीवन पहिले जस्तो भएन। मलाई थाहा छैन म र मेरो श्रीमानले यी सबै आघातहरूको सामना कसरी गर्या। तर हामीले गर्यौं! खुशी आँसुमा परिणत भयो र अनिन्द्राका ती रातहरु।'  

दुई वर्षअघि उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै उनीहरू नेपाल मेडिकल काउन्सिलसमेत पुगेका थिए। तर, काउन्सिलले दोषीलाई कारबाही नगरेर स्पष्टिकरण मात्र सोध्ने निर्णय गरेपछि काउन्सिलको उक्त निर्णयविरूद्ध नै उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए। सोही पुनरावेदनको सुनुवाई भई अदालतले दोषीउपर कारबाहीको फैसला सुनाएको हो। अस्पतालले बच्चाको उपचारमा लापरबाही गरेकाले पीडितलाई क्षतिपूर्ति दिलाई दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग थियो।

निवेदक सञ्जीव र एकताकी अधिवक्ता दीक्षा कँडेलले सजायसम्बन्धी काउन्सिलको निर्णयलाई सदर गर्दै अदालतले पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको बताइन्। अधिवक्ता कँडेलले भनिन्, ‘प्रतिवादीहरूले लापरबाही भएको प्रमाणित भइसकेपछि पनि पीडितलाई क्षतिपूर्ति नभराउने गरी काउन्सिलबाट भएको निर्णय मिलेको नदेखिएको भन्दै पीडितलाई क्षतिपूर्तिबापत् ३५ लाख रुपैयाँ भराउने फैसला भएको छ।’

आफू यस घटनामा मानवीय र भावनात्मक रुपमा जोडिएको उनले पनि उनले सुनाइन्। ‘म यस्तो केसहरु एक्सपर्टीज होइन। तर, जब पत्रिकामा रिहानको न्यूज पढेँ, म भावुक भएँ। मेरो मन छोयो र, हामी आफैले रिहानको आमाबुबालाई सम्पर्क गरेर हामीले गर्न सक्ने मद्दत गर्छौ भनेपछि हामी यो केससँग जोडिएका हौं,’ उनले भनिन्।  

रिहानको दुःखको सुरुवात भएको त्यो दिन

एकता गर्भवती भएको पहिलो दिनदेखि रिहान जन्मिने दिनसम्म राम्रो काउन्सिलिङ भएको थियो। असार २२ गते डेलिभरी डेट दिइएको थियो। तर डाक्टरले उनलाई थाइराइड र फ्याटी लिभर (कलेजोमा बोसो भएको) भएका कारण शल्यक्रिया गर्नुपर्ने बताए। यसले गर्दा उनलाई दिइएको समयभन्दा अगाडि नै शल्यक्रिया गर्नुपर्ने भयो।

चिकित्सकको सल्लाह अनुसार उनीहरु शल्यक्रियाका लागि तयार भए। त्यसपछि रिहानको २०७५ असार १२ गते जन्म भयो। रिहानलाई जन्मिएको आधा घण्टापछि स्वास फेर्न गाह्रो भयो। उनलाई एनआइसीयूमा भर्ना गरियो।

‘मैले मेरो बाबुलाई इन्फेक्सन भयो भनेर कहिल्यै पनि इस्यू बनाएको छैन, त्यो मेरो बाबुको ब्याडलक थियो। तर समस्या कहाँ हो भने अस्पतालले आफ्नो गल्ती स्वीकार गर्न किन सकेको छैन भन्ने मात्रै हो।’

फेरि चिकित्सकहरुले बच्चालाई एकदमै गाह्रो भयो, अब भेन्टिलेटरमा राख्नुपर्छ भने। र, रिहानलाई भेन्टिलेटरमा राखियो। पाँच दिनपछि रिहान भेन्टिलेटरबाट डिस्चार्ज भए। तर, चिकित्सकहरुले बच्चालाई भेन्टिलेटरको इन्फेक्सन सरेको बताए।

अस्पताल बसाइको २१ दिनपछि सबै निको भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो। तीन दिनपछि फलोअपका लागि बोलायो। उनीहरु अस्पताल पुगे। तर, अस्पतालबाट डिस्चार्ज भएको चार दिन र जन्मिएको २५ औँ दिन रिहानलाई ज्वरो आयो। २ घण्टाभित्रमै उनीहरुले रिहानलाई अस्पताल पुर्‍याए।

रिहान बुबा सञ्जीव न्याैपानेसँग।

२६ औँ दिन एनआइसियूका चिकित्सकहरुले सञ्जीवलाई भने, ‘बच्चाको सब ठीक छ, तर हामी २४ घण्टा अब्जर्वेसनमा राख्छौँ र भोलि डिस्चार्ज गरौँला।’

दुवै जना चिकित्सकको कुरामा सहमत भए। र, घर फर्किए। एकताको मनले मनेन। उनले अस्पतालमा फोन गरेर ‘बाबुले दूध खाएको छ कि छैन?’ भनेर सोधिन्। उताबाट ‘खाइरहेको छ। सबै ठीक छ,’ भनेर उत्तर आयो।

तर, दिउँसो तीन बजे तिर सञ्जीवलाई फोन आयो,‘रिहानलाई सिजर भएको छ। तपाईँहरु आउनुस् बच्चाको ढाडको पानी निकाल्नु पर्छ।’ सञ्जीव र एकता हतार–हतार अस्पताल पुगे। ढाडको पानी निकालेर चेक गर्न अनुमतिका लागि उनीहरुले साइन गरे।

रिहानको ढाडबाट पानी आउनु पर्ने ठाउँमा पिप आयो। यसको मतलव उनलाई मेनिनजाइटिस भएको पक्का भयो र त्यही दिनदेखि नै औषधि दिन थालियो। तर रेडियोलोजिस्टले एकपटक एमआरआई गर्न सल्लाह दिए। उनले रिपोर्ट कार्डमा लेखेका छन्,‘बच्चाको टाउकोमा फोहोर जमेको छ, थप मूल्याङ्कनका लागि एमआरआई गर्न आवश्क छ।’

तर चिकित्सकहरुले मेनिनजाइटिस भएको हो, औषधि खुवाएर ठीक हुने भनेपछि उनीहरुको सल्लाह अनुसार सञ्जीव र एकता पनि सहमत भए।

४० दिनको बिहानसम्म पनि सञ्जीव र एकतालाई अस्पतालले भन्यो,‘बच्चालाई ठीक छ, ७ दिनको औषधि खुवाएर घर पठाउँछौं।’

एकताले साँझ रिहानलाई भेट्न जाँदा थाहा पाइन्, रिहानको टाउकोमा एकदमै धेरै पिप जमेको छ। शल्याक्रिया गरेर निकल्नु पर्छ। टाउकोमा पिप भए÷नभएको पत्ता लगाउन एमआरआई गरियो।

एमआरआईपछि ‘कन्फर्म’ भयो रिहानको टाउकोमा पिप जमेको छ। अब शल्यक्रिया बाहेक कुनै विकल्प थिएन।

भोलिपल्ट बिहान न्यूरोको टोली आयो। र, रिहानको केस सिभियर भएको बताए। उनीहरुले भने,‘पिप एकदमै चाँडो निकाल्नु पर्छ, नत्र यसले जीवन नै बर्बाद बनाउन सक्छ।’

सञ्जीव र एकता पहिले आत्तिए। तर, पछि छोरा निको हुन्छ भने ४० दिनको बच्चाको टाउको चिर्ने कुरामा पनि सहमत हुन बाध्य भए उनीहरु।  

रिहानको शल्यक्रिया भयो। सात दिनपछि फेरि सिटीस्क्यान गरे। चिकित्सकले अझै रिहानको टाउकोमा पिप भएको बताउँदै फेरि शल्यक्रिया गर्नुपर्ने बताए।

फेरि पनि डा. अमित थापाको नेतृत्वमा दोस्रो शल्यक्रिया भयो। शल्यक्रियापछि उनीहरु फलोअपमा अस्पताल पुगे।

तेस्रो शल्यक्रिया भयो। तेस्रो शल्यक्रिया भएको दुई हप्तापछि फेरि थाहा भयो, पिप अझै बाँकी थियो। पिप निकाल्नका लागि रिहानको टाउको बाहिर ड्रेन (पाइप) राखिएको थियो। उक्त ड्रेन रिहानले हल्लाइदिएर पिप आउन बन्द भएको चिकित्सकले बताए।

‘छोरालाई यस्तो भएपछि मैले एकदमै धेरै मेडिकल जर्नलहरू पढेँ। जसले गर्दा छोरालाई के भएको हो र उसलाई के गर्नुपर्छ भन्नेबारे सबै कुरा थाहा पाइसकेको थिए,’ सञ्जीवले भावुक हुँदै भने।’

७५ दिनको बच्चाको टाउकोमा चौथो शल्यक्रिया भयो। शल्यक्रियापछि डिस्चार्ज गरियो। खुसी हुँदै उनीहरु छोरो बोकेर घर फर्किए। तर चिकित्सकले उनीहरुलाई हरेक महिना फलोअपमा आउन भनेका थिए।

चौथो, पाँचौँ, छैठौँ महिना फलोअपमा जाँदा डाक्टरले ‘सबै ठीक छ’ नै भने। तर, सातौँ महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस (पानी जमेको ठाउँ) भएको रिपोर्ट सञ्जीवको हातमा थमाइदिए।

सञ्जीवले न्यूरो सर्जन डा. अमित थापालाई रिपोर्ट देखाए। रिपोर्ट हेरेर डा. थापाले हाइड्रोसेफालस नभएको बताए। फेरि आठौँ महिनाको फलोअपमा गए। अल्ट्रासाउन्ड गर्दा रिहानको टाउकोमा ८.८ सेन्टिमिटरको हाइड्रोसेफालस भएको रिपोर्टमा उल्लेख गरिएको थियो।

तर, डा. थापाले ८.८ सेन्टिमिटर नभएर ८.८ मिलिमिटर हुनुपर्ने मिस्टेक भएर सेन्टिमिटर लेखिएको हुन सक्ने आशंका व्यक्त गरे।

उनीहरु फेरि नौ महिनामा फलोअप गए। अल्ट्रासाउन्ड गरे। ९.८ सेन्टिमिटर हाइड्रोसेफालस बच्चाको टाउकोमा भएको रिपोर्ट आयो। अब भने उनीहरु आत्तिए।

डा. थापाले एमआरआई गर्न सल्लाह दिए। एमआरआई भयो र, रिपोर्ट पनि तुरून्तै आयो। डा. थापाले एमआरआइको रिपोर्ट हेरे र भने, ‘ल बच्चाको टाउकोमा पानी जमेको रहेछ। तुरुन्त शल्यक्रिया गर्नुपर्छ।’

यति हुँदासम्म पनि सञ्जीव र एकता उनीहरुले मनोवल कमजोर बनाएनन्। हिम्मत राखे। पाँचौँ अप्रेसन भयो। डाक्टरले बच्चालाई १२ घण्टा पोस्ट ओटीमा राख्नु पर्ने बताए। रिहानलाई क्याबिनमा सारियो।

नर्स रिहानलाई औषधि दिन थालिन्। एकताले नर्सलाई सोधिहालिन्,‘कुन औषधि हो यो?’ नर्सले उत्तर दिइन्,‘सिटामोल।’ एकताले फेरि सोधिन,‘कति एमएल?’ त्यसपछि नर्सले ६६ एमएल भन्दै उत्तर दिइन्। एकताले भनिन्, ‘यति सानो बच्चलाई यति धेरै? हामीले घरमा त तीन/चार एमएल मात्र दिने गरेका थियौँ।’

फैसलापछि रिहानकी आमा एकताले ट्वीट गर्दै भने भनेकी छिन्, 'म यहाँहरू सबैलाई धन्यवाद दिन्छु जसले हामीलाई सधैं साथ दिनु भएको छ, हामीलाई विश्वास गर्नु भएको छ। रिहानलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद, उहाँ धन्य हुनुहुन्छ। हामीले सोचे अनुसारको फैसला भएन तर पनि अपराध विरुद्ध जितेका छौं। यति वर्षपछि म आजके रात शान्तिसँग सुत्नेछु।'

बिरामीको विवरण भएको फाइलमा यही छ भन्दै नर्सले फाइल देखाइन्। तर एकता चुप रहिनन्। उनले झगडा गरिन्। र, डाक्टरलाई सोध्न पठाइन्।

नर्स फर्केर आइन्। ए! चार एमएल पो रै छ भन्दै चार एमएल दिएर गइन्।

अस्पताललाई थाहा भयो। रिहानलाई ओभर डोज भयो। उनीहरुबीच खैलाबैला हुन थाल्यो।

त्यतिकैमा नर्स आइन्। र कलेजो परीक्षण गर्नुपर्ने बताइन्।

बच्चालाई प्यारासिटामोल ओभर डोज भएको खण्डमा कलेजोले काम गर्न छोड्ने हुन्छ। रिहानको रिपोर्टमा त्यस्तो केही पनि देखिएन।

तर भोलिपल्ट न्यूरो टिमका एक जनाले भने,‘ओभर डोज भएको हो। यसको जिम्मा म लिन्छु। तपाईँ जे कारबाही गर्नु हुन्छ कारबाही गर्नु।’

सञ्जीव र एकतालाई कारबाहीभन्दा पनि छोरा चाडो निको हास् भन्ने चाहाना थियो। तीन दिनपछि फेरि रिहानलाई ज्वरो आयो। पहिल्यै ओभर डोज भएका कारण औषधि खुवाउन मिलेन। चिकित्सकले पानीपट्टि लगाएर बस्न सल्लाह दिए।

अब भने सञ्जीवलाई असह्य भयो। यो स्टेजमा आएर अब उनले अस्पतालको लापरबाहीबारे चुप लागेर बस्नै सकेनन्। अस्पतालमा उनको भनाभन भयो। निर्देशक डा. चक्रराज पाण्डेले उनलाई भने, ‘यो बच्चा मेरो नाति जस्तो हो। यसलाई म टप डाक्टर बोलाएर भए पनि निको बनाउँछु।’ तर उनीहरूसँग बच्चालाई दिने औषधि थिएन। ज्वरो निको भएन।

केही दिनपछि बच्चाको ज्वरो निको भयो घर लैजानुस् भनेर फोन आयो। उनीहरू अस्पताल गए। डाक्टर पाण्डे लगायत अन्य डाक्टरहरुसँग बैठक भयो। सञ्जीवले अस्पतालले गरेका गल्ती बताए।

‘हामी केही गर्न सक्दैनौँ। तपाईँलाई चित्त बुझेको छैन भने नेपाल मेडिकल काउन्सिल जानुस्।’ भन्दै बैठकबाट सञ्जीवलाई पन्छ्याउन खोजियो।

सञ्जीवलाई अस्पताल र चिकित्सकप्रति शंका उत्पन्न भयो। उनले छोराको सबै रिपोर्ट अन्य चिकित्सकलाई देखाए। सञ्जीव छाङ्गाबाट खसेझैँ भए।

उनले थाहा पाए कि रिहानको बायाँ पट्टि दिमाग नै छैन।

दिमाग छैन भने किन पटक–पटक रिहानको कलिलो टाउको चिरियो। उनको मनमा प्रश्न उब्जिए। तर कतैबाट उनी उत्तर पाउन सकेनन्। अस्पतालले गल्ती स्वीकार्नुको साटो उल्टै काउन्सिल जान सल्लाह दियो।

चिकित्सकप्रतिको विश्वास डगमगायो। छोरा बोकेर सञ्जीव र एकता ९ महिनापछि अस्पतालबाट घर फर्किए। उनले भने,‘मैले मेरो बाबुलाई इन्फेक्सन भयो भनेर कहिल्यै पनि इस्यू बनाएको छैन, त्यो मेरो बाबुको ब्याडलक थियो। तर समस्या कहाँ हो भने अस्पतालले आफ्नो गल्ती स्वीकार गर्न किन सकेको छैन भन्ने मात्रै हो।’

अस्पतालको लापरबाहीबारे थाहा पाएपछि...

सञ्जीवले आफूहरूमाथि अस्पताल र चिकित्सकहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्राण्डी अस्पताल, प्रशासन र संलग्न चिकित्सकविरूद्ध उजुरी हाले। तर, काउन्सिलले अस्पताललाई दोषी माने पनि कारबाही भने नगरेको र स्पष्टीकरण सोधेर मात्रै टारिदिएपछि उनीहरू उच्च अदालत पाटन पुगे। अदालतमा निवेदन दिँदा उनीहरूले उपचारमा संलग्न चिकित्सकहरू थापा, अधिकारी, बिजुक्छे लगायतको नाम काउन्सिलको रजिष्ट्ररबाट हटाउनसमेत माग गरेका थिए।

रिहानकाे डिसेम्बर २०१९ र २०२० मा लिइएकाे तस्बिर।

निवेदनमा भनिएको छ, ‘विपक्षी अस्पताल तथा विपक्षी डाक्टरहरूको चरम लापरबाहीलाई नै बेवास्ता गर्दै उनीहरूले गरेको गलत कार्यको कुनै भान नै नहुने खालको नाम मात्रको सजाय तोक्ने नेपाल मेडिकल काउन्सिलको निर्णयलाई बदर गरी, अस्पताल तथा चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा ७ क.(१)(ङ) तथा नियमावलीको नियम २३ बमोजिम रजिष्टरबाट नाम हटाउने लगायत हदै सम्मको कडा कारबाही गरी पाऊँ।’

त्यस्तै, आफूहरूलाई अस्पतालले २ करोडसम्मको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरूले निवेदनमा उल्लेख गरेका थिए। निवेदनमा लेखिएको थियो, ‘मेरो परिवारलाई पर्न गएको मानसिक तनाव, रकम नै तोक्न नसक्ने बच्चाको जीवनमा पर्न गएको असर समेतको उचित मूल्याङ्कन गरी दुई करोड पचास लाख तथा अन्य मनासिब माफिकको क्षतिपूर्ति भराई पाऊँ। लापरबाहीपूर्वक कार्य गरेकाले उसलाई आजको अवस्थामा पुर्‍याउने विपक्षी अस्पताल तथा चिकित्सकहरूले निजको हेरचाहमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी आदेश गरी पाऊँ।’

अदालतले क्षतिपूर्तिस्वरूप अस्पताललाई ३५ लाख रुपैयाँ भराउने भनी गरेको फैसलामाथि रिहानका बुबा सञ्जीवले सन्तुष्टी व्यक्त गर्दै फैसला सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

अहिले रिहानको अवस्था

यही असार १२ गते रिहान न्यौपाने ४ वर्ष पूरा भएर ५ वर्षमा लाग्दै छन्। चिकित्सा क्षेत्रमा अस्पताल तथा उपचारमा संलग्न डाक्टरले गरेको त्रुटि सामान्य भएपनि त्यसबाट बढ्दै गएको समस्याले जुन अवस्थामा उनी पुगेका छन् त्यो कारुणिक र दर्दनाक छ।

रिहानको टाउको बढिरहेको छ भने शरीर सुक्दै गएको छ। उनी न त केही खान सक्छन् न त रुन नै। न त बस्न सक्छन् न त बोल्न नै। कहिलेकाहीं रिहानको अनुहारमा मुस्कुराएको झै देखिन्छ। उनका परिवार त्यही मुस्कानलाई रिहानको हाँसो भन्ने ठानेर अलिकति भएपनि आनन्दीत हुन्छन्।

रिहान अहिले बिस्तारामा मात्रै सुतेका हुन्छन्। उनी आफ्नो बलले उठ्न सक्दैनन्। या भनौं उनको शरीरमा कत्तिपनि बल छैन। तर, रिहानले आफ्नो शरीरमा भएको स्पर्श भने महसुस गर्न सक्ने बुबा सञ्जीवले बताए।

उनी भन्छन्, ‘बाबुले आफूलाई छोएको महसुस गर्न सक्छन्। जन्मेदेखि अहिलेसम्मको अवस्थामा बाबुले हरेक पटकको शल्यक्रिया महसुस गरेका होलान्। कति दुखेको होला हामी कल्पना पनि गर्न सक्दैनौं।’

यति भन्दै गर्दा सञ्जीव र एकता भावुक हुन्छन्।  

रिहानको अवस्था अहिले पनि सुधारोन्मुख छैन। आफ्नो र श्रीमतीको दैनिक दुई–तीन घण्टा रिहानको स्याहारसुसारमै बित्ने गरेको बुबा सञ्जीव बताउँछन्। उनले भने, ‘हामीलाई मेडिकल रिपोर्ट हेर्न आउँछ। डाक्टरले बोलेका मेडिकल शब्द पनि बुझ्छौँ। यति हुँदाहुँदै पनि हाम्रो बच्चाको उपचारमा त्यति लापरबाही भयो भने गाउँका सामान्य मान्छेको उपचार कसरी हुन्छ होला? सबै कुरा प्रष्टै देखिँदा पनि अस्पतालका मानिसहरू अहिले पनि आफ्नो गल्ती स्वीकार्दैनन्। उहाँहरूले सुरूमै गल्ती स्वीकारेको भए हामीले यति लामो समय लड्नै पर्दैनथ्यो।’

आफूहरुले जे जस्तो अवस्थाको सामना गर्नुपर्यो, त्यो अन्य आमाबुबाले गर्न नपरोस् भन्छन् सञ्जीव। ‘हामीले जे भोग्यौँ र भोगिरहेका छौँ त्यसलाई त बदल्न सकिन्न तर डाक्टरको लापरबाहीले अरू बच्चाहरूको अवस्था रिहानको जस्तो नहोस् भनेर हामी लडेका हौँ,’ उनले भने।

बुबा सञ्जीव र आमा एकता आफ्नो छोरा रिहानका लागि हरेक दिन मठमन्दिरदेखि हरेक धर्मका भगवानहरुको अगाडि आफ्नो छोराको सुस्वास्थ्यको कामना गर्दै दिन बिताइरहेका छन्।  

रिहान बुबा र भाइ सिद्धान्तसँग।

जति प्रार्थना र मठमन्दिर धाएपनि छोराको स्वास्थ्यमा सुधार आउन नसक्दा निराश छन् उनीहरु।  

उनलाई देख्ने जो कोहीको पनि मन अमिलो भइ आँखा रसाउँछ।  

अहिले सञ्जीव र एकता दोस्रो बच्चाको आमाबुबा बनेका छन्। यहीं असारमा २ वर्षमा पुग्दैछन् उनीहरुको सिद्धान्त। सुरुमा रिहानको नाम सिद्धान्त राख्ने सपना बुनेका उनीहरुले अस्पतालको लापरबाहीका कारण त्यसो गर्न पाएनन्।

काखमा लडिबुडी गर्ने, बाम्बे सर्दै यताउता जाने गर्छन् सिद्धान्त। जसले गर्दा आशा मरिसकेका आमाबुबाको आशाको किरण बनेका छन्, उनी। सामान्य बच्चा झै छन्, सिद्धान्त।

रिहान र सिद्धान्त दुबैलाई उत्तिकै माया दिन्छन्, सञ्जीव र एकताले।

आफ्नो अबोध बालकलाई मृत्युको मुखसम्मै पुर्‍याएका चिकित्सकहरुप्रति अझैपनि आक्रोश छैन उनीहरुमा। भन्छन्, ‘हामीलाई यो अवस्थासम्म पुर्‍याउनु भएका चिकित्सक र अस्पातलको सधैं उन्नती र प्रगति नै होस्। उहाँहरुको पनि जीवन छ, करिअर छ। उहाँहरुलाई कहिल्यै हामी जस्तो अफ्ठेरो नपरोस्।’

फैसलापछि रिहानकी आमा एकताले ट्वीट गर्दै भने भनेकी छिन्, 'म यहाँहरू सबैलाई धन्यवाद दिन्छु जसले हामीलाई सधैं साथ दिनु भएको छ, हामीलाई विश्वास गर्नु भएको छ। रिहानलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद, उहाँ धन्य हुनुहुन्छ। हामीले सोचे अनुसारको फैसला भएन तर पनि अपराधविरुद्ध जितेका छौं। यति वर्षपछि म आजकाे रात शान्तिसँग सुत्नेछु।'

रिहानकाे सानाे भाइ र बुबा।

प्रकाशित: २३ जेष्ठ २०७९ १४:२२ सोमबार

उच्च अदालत पाटन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रिहान न्यौपाने सन्जीव न्यौपाने एकता घिमिरे