समाज

अमेरिकादेखि घुम्न आएका दुई छोरीसँगै बुबाआमा पनि हवाई दुर्घटनामा परे

एकै परिवारका चारजना हवाई दुर्घटनामा परेपछि सुनसान बनेको गोरखाको शहीदलखन गाउँपालिका–५ तिनमाने भञ्ज्याङ। तस्बिरः नागरिक

पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा भएको जहाज दुर्घटनामा गोरखाका एकै परिवारका चारजना परेका छन्। शहीदलखन गाउँपालिका–५ तिनमाने भञ्ज्याङका गणेशनारायण श्रेष्ठ, श्रीमती रश्मी श्रेष्ठ र छोरीहरु २३ वर्षीया रोजीना श्रेष्ठ, २० वर्षीया रबिना श्रेष्ठ यो दुर्घटनामा परेका हुन्।  

अध्ययनका लागि अमेरिका गएका छोरीहरु छुट्टी मनाउन नेपाल आएका बेला मुस्ताङ घुम्न जाने क्रममा भएको हवाई दुर्घटनामा श्रेष्ठ परिवारका चारजना सदस्य परेका हुन्। रबिना र रोजीना गत वैशाख ३० गते अमेरिकाबाट नेपाल आइपुगेका थिए भने बुबाआमा काठमाडौं बस्दै आएका थिए।  

श्रेष्ठ परिवारको जहाज दुर्घटनामा परेको खबरले गोरखाको शहीदलखन गाउँपालिका ५ का स्थानीय स्तब्ध छन्। ‘गाउँलेहरु भेला भएका छन्, मुखामुख गरेका छन्, आइतबार जहाज हराउँदादेखि नै उहाँहरुको मात्रै कुरा भएको छ, सबै दुःखी छन्,’ स्थानीय राजेश श्रेष्ठले भने, ‘उहाँ सामाजिक काममा सक्रिय भएकाले पनि स्थानीय धेरैले चिन्छन्, सबै निराश छन्।’  

विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने, गाउँमा सामाजिक काममा सक्रिय हुने गणेशनारायणको स्वभाव थियो। तीन साताअघि उनीहरु गाउँ आएर फर्किएका थिए। केही समयदेखि उनीहरुको बसाई राजधानीमा थियो। गणेशनारायणका छोरा अमेरिका बस्छन्। विमान दुर्घटनामा परिवार परेको खबर थाहा पाएपछि उनी पनि नेपाल फर्किएका छन्। दुई छोरी एक छोरासहित श्रेष्ठको पाँचजनाको परिवार थियो। तीनैजना छोराछोरी अमेरिका बस्थे। गणेशनारायण पुतलीसडकमा सफ्टवेयर इञ्जिनियरिङको काम गर्दै आएका थिए।

विमान दुर्घटनामा परेको खबर थाहा भएपछि शहीदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, वडाध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनी पोखरा पुगेका थिए। दुर्घटनामा परेका सबैको मृत्यु भएको अनुमान गरिएपनि अहिलेसम्म १५ जनाको मात्र शव उद्धारकर्ताले फेला पारेका छन्। तर, ती सबैको पहिचन भईसकेको छैन।

आइतबार पोखराबाट जोमसोम जाने क्रममा ताराको जहाज दुर्घटनामा परेको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App