समाज

तनहुँका मतदातामा उत्साह

तनहुँमा बिहान ७ बजेदेखी उत्साहजनक रुपमा मतदान भइरहेको छ। जिल्लाको १० स्थानीय तह र वडाको नेतृत्व चयनका लागि मतदाताले बिहानदेखी उत्साहजनक रुपमा सहभागिता जनाएर मतदान गरिरहेका छन्।

ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीका लागि लाइनमा नबसीकन सिधैँ मतदान गर्न पाउने व्यवस्था मतदान केन्द्रमा मिलाइएको छ। आज भइरहेको मतदानबाट जिल्लाको १० स्थानीय तहको ८५ वडामा ४४४ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

एक हजार ६३५ जना चुनावी मैदानमा छन्। देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन्। देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन्। जिल्लाका दुई लाख ४४ हजार ३४० मतदाताले आफ्नो गाउँ, नगर र वडा हाँक्ने जनप्रतिनिधि चयन गर्नेछन्।

१३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। सरदरमा २५ प्रतिशत मत खसेको उनले बताए। ‘हरेक केन्द्रहरुमा २५ प्रतिशत मत खसेको रिपोर्ट पाएका छौँ’, उनले भने। साँझ ५ बजेसम्म मतदान जारी रहनेछ।

प्रकाशित: ३० वैशाख २०७९ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App