राष्ट्र र समाजका सबै नीतिहरुको नेतृत्व गर्ने राजनीतिबाट आम मानिसको गहिरो सरोकार रहेको भन्ने कुरा उजागर गर्न सुरु गरिएको ‘अलिकति उज्यालो’ अभियान वीरगन्ज आइपुग्ने भएको छ।
राजनीतिक दलका नेता र कार्यकर्ताका लागि चुनावी गतिविधि तथा कार्यक्रमहरु टड्कारो भइरहँदा आम नागरिकमा यसबाट त्यति उत्साह र आशा जाग्न नसकेको बेला कला क्षेत्रका अभियानकर्मीहरुबाट यो अभियान थालिएको हो।
यस अन्तरगत नाटक, कविता, चित्रकारी र हाँस्य प्रस्तुतिमार्फत मानिसहरुमा निराशाहरुकाबीचमा आशा खोजी गर्ने राजनीतिक चेतनाका कुराहरु राख्न खोजिएको छ। नेपालका विभिन्न सहरहरुमा यस्तो प्रस्तुति आयोजन गर्ने क्रममा ‘अलिकति उज्यालो’ अभियान बिहीबार वीरगन्ज आइपुग्न लागेको छ।
बिहीबार बिहान बाराको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकामा र साँझ पर्साको पोखरिया नगरपालिकामा नाटकहरु प्रदर्शन हुने तय रहेको आयोजकमध्ये ‘हाम्रो अभियान, पर्सा’ का संयोजक शिवनाथ यादवले बताए। उनका अनुसार अर्को दिन शुक्रबार वीरगन्जमा दिनभरी बिभिन्न कार्यक्रमहरु तय छ।
काठमाडौंको समूह ‘शिल्पी थिएटर’ रसंस्था तन्नेरी चाँसो पनि आयोजकमा छन्। वीरगन्जमा होटोल कुमु प्यालेसको प्राङ्गणमा शुक्रबार आयोजित हुने एक दिने कार्यक्रममा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चित्रकारी प्रदर्शनी, कविता वाचन, हाँस्य प्रस्तुतिको र नाट्क प्रस्तुति हुने आयोजकले जनाएका छन्।
स्थानीय रुपमा भोजपुरी प्रतिष्ठान वीरगन्ज, संस्कृति र मध्यनेपाल मिडियाले कार्यक्रमको संयोजन गरिरहेका छन्। वीरगन्जमा आफूहरुले यसअघि पनि नाटक प्रदर्शन गरे पनि यसपाली आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नाटक लिएर फरक माहोलबीच आउन पाउँदा उत्साहित रहेको बताए युवराजले बताए।
उनको भनाइमा कला र संवादको माध्यमबाट लोकतन्त्रलाई बलियो बनाउने प्रयत्न हो ‘अलिकति उज्यालो’ अभियान। ‘हामी संवादमा विश्वास गर्छौं। प्रश्न र उत्सुकता भएनन् भने संवादअघि बढ्दैन। लोकतन्त्रमा हरेक मानिसका लागि ‘प्रश्न गर्ने ठाँउ’ सिर्जना गर्नु अपरिहार्य छ,’ युवराजले भने, ‘हामीलाई लाग्छ कला र सिर्जना यस्तो ‘ठाँउ’ हो जहाँ दर्शक वा सहभागीहरुको मनमा प्रश्नहरु जन्मन्छन्, उत्सुकताहरु आउन थाल्छन्,’ उनले भने, ‘हामी नाटक, चित्रकला र अन्र्तक्रियात्मक लफलबाट हामीले बाँच्न चाहेको समाजको बारेमा कुरा गछौँ।’ विराटनगरमा कार्यक्रम गरिसकेको र वीरगन्ज, भरतपुर र बुटवलमा कार्यक्रम गर्न लागेको उनले बताए।
प्रकाशित: २१ वैशाख २०७९ ०८:०९ बुधबार