धादिङको दक्षिणी क्षेत्रको विकट वस्ती पुराक्सिङका किसान खुम्रे किराको समस्याबाट आजित बनेका छन्। केही वर्षअघिदेखि खेतबारीमा देखिन थालेको खुम्रे किराले यो वर्ष पनि मकै बाली सखाप पारेको छ।
चैत अन्तिममा लगाएर गोड्ने बेला भएको कमैको जरा खुम्रे किराले खाइदिने र मकै सुक्न थालेपछि आउँदै गरेको चुनावको भन्दा मकै सखाप पारिदिने किरा नियन्त्रणको चिन्दाले यहाँका किसानलाई सताएको छ। केही किसानले त दोहोर्याएर मकै लगाएका छन्। वर्षाैदेखि खुम्रेको समस्या भोग्दै आएका राजेन्द्र चेपाङ भन्छन्–‘यो वर्ष पनि मकै भित्र्याउन पाउने आश छैन।’
गजुरी गाउँपालिका वडा नं ३ पुराक्सिङका किसानले ५ देखि १५ रोपनी जग्गामा मकै लगाएका छन्। खुम्रेकिराले माटोभित्रै पसेर जरा खाइदिएपछि हुर्कँदै गएको मकैको बोटै सुकेका छन्। मकै लगाएको ठाउँमा अहिले बोट मरेपछि खाली भएको छ।
भुकम्प गएको पछिल्लो वर्षदेखि खुम्रे किरा देखिन थालेको हो। एक साल न्यून देखिन्छ भने एक साल बाली भित्राउनै पाउँदैनन्। किसनहरुका अनुसार एक सिजन घोप्टो पर्ने (भित्रभित्रै दबिने) अर्काे सिजन उत्ताने पर्ने हुन्छ। किराले माटोभित्रभित्रै पसेर बोटविरुवाको जरा काट्ने गर्छ, जसका कारण बोटविरुवा मर्ने गर्छ। रातो माटोमा त्यति नलाग्ने भएपनि वालुवा मिसिएको माटोमा लगाएको बाली सखाप बनाउने गरेको उनीहरु बताउँछन्।
पुराक्सिङका किसानहरुले बारीभरी मकै लगाएका छन्। केहीको मकै हर्लक्क बढेको छ तर किराले जरा खाइदिएपछि बोट पहेँलो हुँदै सुक्न थालेको छ। केही बारीमा मकै उम्रिएको छैन। केहीले भने दोहोर्याएर समेत मकै छरेका छन् तर अधिकांशले लगाएको मकैको बोटमुनि खुम्रे किरा भेटिन्छ। विगतका वर्षहरुमा पनि किराले बालीनालीमा क्षति पुर्याएको सुनाउँदै किसान नन्दकुमारी चेपाङ भन्छिन्, ‘पहिलेका बर्षमा पनि बालीनाली क्षति गर्ने गरेको थियो, यसवर्ष पनि किराले काटिरहेको भेटिन्छ।’ बारीमा लगाएको मकैले वर्षभरी खान पुग्दैन।
मकै बाहेक अन्य खेती त्यति हुँदैन। ज्यालामजदुरी र मेलापात गरेर नन्दकुमारी चेपाङले ५ जनाको परिवार जसोतसो धानिरहेका छन्। भएको १० रोपनी बारीमा लगाएको मकैमा खुम्रे किराको प्रकोप देखिन थालेपछि दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ। ‘बारीको मकैले ६ महिनामात्र खान पुग्न, अरु समय ज्यालामजदुरी गरेर छाक टार्छौ,’ उनी भन्छिन्, ‘त्यहि पनि तीनचार वर्षदेखि किराले मकैबाली नष्ट गर्दै आएपछि खाद्य संकट भोग्नु पर्ने अवस्था आएको छ।’
खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो। यसले मकै उम्री सकेपछि कलिलो विरुवाको जराहरु खान्छ। जसले गर्दा विरुवाहरु बढ्न सक्दैन र पछि मर्दछ। विशेषगरी लार्भा अवस्थामा यसले बढी क्षति पुर्याउँछ। मकैबाली जोगाउन किसानहरुले बजारमा पाइने कडा बिषादीहरु समेत प्रयोग गरेका छन् जसले केही हदसम्म किरा नष्ट भएको थियो। तर अहिले ती विषादीहरु पाउन छाडेको किसानहरुको भनाई छ।
पुराक्सिङका २९ घरपरिवार मध्ये १३ परिवार तामाङ र १६ परिवार चेपाङ समुदायको बसोबास रहेको छ। आफूलाई परेको समस्याका कारण स्थानीय तहमा मौखिकरुपमा जानकारी गराएपनि त्यसको नियन्त्रणमा कसैले चासो नदिएको किसानको भनाई छ। खुम्रे किराले मकै बालीमा मात्र होइन धानबालीमा पनि नष्ट गरेको छ।
खेतबारीमा लगाएको अन्नले वर्षदिनभरि खान पुग्दैन। ज्याला पाउन शहरबजार झर्नुपर्छ भने केही बैदेशिक रोजगारमा समेत गएका छन्। लगाएको अन्नबाली पनि यसरी किराको प्रकोपले नष्ट भएपछि खाद्य संकट भोग्नुपर्ने अवस्था आएको छ। फियान नेपालले खाद्य संकट नहोस् भन्ने हिसाबले सवालहरुलाई पहिचान गरी सम्बन्धित निकायहरुमा पुर्याएको छ।
प्राविधिकहरुका अनुसार खुम्रे किरा (सेतो ग्रब्स) को वैज्ञानिक नाम फाइलोफागा एसपिपि हो। खुम्रे किरा सबैभन्दा विनाशकारी कीट किरा हो। खुम्रे किराको वयस्कहरु खपटे समुहमा पर्दछन्। खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो। यसले मकै उम्री सकेपछि कलिलो बिरुवाको जराहरु खान्छ जसले गर्दाबिरुवाहरु बढन् सक्दैन र पछि मर्दछ। विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पुर्याउँछ। यसले तरकारी बालीहरु, मकै, आलु, अधुवा र चिया खेतीमा क्षति पुर्याउँछ। खुम्रेको माउले काँचो गोबरमा फुल पार्दछ त्यसैले खेतबारीमा काँचो गोबरमल प्रयोग गर्न नहुने कृषि विशषज्ञहरुको भनाई छ।
प्रकाशित: २० वैशाख २०७९ ११:५४ मंगलबार