समाज

रौतहट मौलापुरको एक परिवार माथि सांघातिक आक्रमण

रौतहटको मौलापुर नगरपालिकाको एक परिवारमाथि आक्रमण भएको छ। मौलापुर नगरपालिकाको मर्यादपुरमा तिवारी परिवारका तीन जनामाथि सांघातिक आक्रमण भएको छ। आक्रमणमा एक महिलासहित तिन तिवारी घाइते भएका छन्।  

घाइते हुनेमा मर्यादपुरका शम्भुनाथ तिवारी, द्वारिकानाथ तिवारी र विन्दुमति तिवारी छन्। पुरानो रिसइबीका कारण ज्यान मार्ने उद्देश्यले तिवारी परिवारमाथि आक्रमण गरिएको स्थानीयले आरोप लगाएका छन्।

घाइते तिनै जनाको प्राथमिक उपचार मौलापुरस्थित अस्पतालमा गरिएको छ। मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह आफैँ अस्पताल पुगेर घाइतेको अवस्था बुझ्दै आक्रमणकारीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन्।  

घाइतेलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगंज पठाइएको छ। घटनाको अनुसन्धानको क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि विनोद पोखरेलले जानकारी गराएका छन्।  

पुरानो रिसइबीका कारण तिवारी परिवारमाथि पहिले पनि पटक पटक आक्रमण हुने गरेको थियो। प्रहरीले पुरानै रिसइबीको कारण आक्रमण भएको हुन सक्ने बताएको छ।

प्रकाशित: २९ चैत्र २०७८ १४:५२ मंगलबार

सांघातिक आक्रमण