समाज

लागू औषध नेपालमा गम्भीर समस्या

गृह मन्त्रालयले लागू औषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन्।

उनले लागू औषधका कारण विभिन्न अपराधिक घटनाहरु भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए। गृहसचिव पाण्डेले लागू औषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए।

लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौती सिर्जना भएको बताए। उनले यसलाई नियन्त्रण गर्नका लागि सरकारले तीनै तहका सरकारी र गैर सरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने पनि बताए ।

त्यस्तै गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको बताए। उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए।

त्यस्तै नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागू औषधकै मुद्दामा रहेको बताए। 

उपसचिव उपाध्यायले नेपालमा लागू औषध कारोबारमा २०७७/०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरुमा ३ हजार १३ जनालाई मुद्दा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरु रहेको बताए। सो अवसरमा लागु औषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको पनि जानकारी गराइएको थियो। 

प्रकाशित: २३ चैत्र २०७८ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App