समाज

बाघको संख्या २५० त पुग्ला! तर यसको व्यवस्थापन कसरी?

बर्दिया– सरकार सन् २०२२ को बाघ गणना परिणामलाई अन्तिम रुप तल्लिन छ। गणनाका स्थलगत काम सकेर तथ्याङक र विवरणहरु विश्लेषण गर्न व्यस्त छ। जंगलमा राखिएका क्यामेरा ट्र्यापिङका तस्वीरहरु हेर्ने काम भइरहेको छ। अन्तराष्ट्रिय बाघ दिवसमा आगामी साउन १३ गते गणनाको परिणाम सार्वजनिक पनि गर्दैछ।

सन् २०१० को बाघको तथ्याङकलाई आधार मानेर सन् २०२२ मा यसको संख्या दोब्बर बनाउने अन्तराष्ट्रिय लक्ष्य पछ्याइरहेको नेपाल संभवत बाघको संख्या दोब्बर पार्न सफल पनि होला। यो भनेको १२ बर्ष अघिको १२१ लाई दोब्बर भन्दा अलिकति बढि २५० पुर्याउने लक्ष्य छ।

संख्या बढ्दैमा बाघ संरक्षण सफल भएको मान्न सकिन्छ र? संख्या वृद्धिसँगै मानविय जोखिम बढिरहेको छ। मानव र बाघबीचको द्धन्द बढ्दो छ। मानवबाट बाघलाई र बाघबाट मानवलाई त्यत्तिकै खतरा छ। संरक्षित क्षेत्र वरपरको जनजिवन त्रसित छ।

तीन बर्ष यताका घटनाक्रमले बाघ व्यवस्थापनको चूनौती थपिएको पुष्टि हुन्छ। यो चुनौती बाघको प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको तुलनामा बर्दिया र बाँके निकुञ्जमा बढि छ। विगत तीन बर्षमा यसको आक्रमणबाट २९ जनाको ज्यान गएको छ। यतिसम्म की बर्दियाको मधुवन नगरपालिका वार्ड न.३ मा मात्र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भयो।

यी घटना बाँके, बर्दिया र कैलालीका जंगल भित्र भए। केही सर्वसाधारण घाइत भए। धेरै पशुचौपायाहरु मारिए। निकुञ्ज वरपरका सर्वसाधारण अझैपनि त्यत्तिकै त्रसित छन।

डब्लुडब्लुएफ नेपाल कार्यक्रमका बाघविज्ञ डा. कन्चन थापा भन्नुहुन्छ, “बाघ संरक्षण सफल भएको छ। तर व्यवस्थापनका केही पाटाहरु छन तीनको विश्लेषण गरेर कार्यक्रमहरु लागु गर्नुपर्ने देखिन्छ।'

उहाँको अनुभवमा मानविय क्षतिका अधिकांस घटना जंगल भित्र भएका छन्। सर्वसाधारण जानेर वा नजानेर एक्लै जंगल भित्र पस्दा बाघको आक्रमणमा परेका छन्। “मैले सबैभन्दा महत्वपूर्ण समस्याका रुपमा जनचेतनाको अभाव देखिरहेको छु”, उहाँ भन्नुहुन्छ, 'जनचेतनाका कार्यक्रमहरु जति सक्यो लक्षित वर्गमा पुग्नेगरी गर्नुपर्ने देखिन्छ।'

डा. थापाले व्यवस्थापनका अन्य पाटाहरु पनि केलाउनुपर्ने बेला आएको उल्लेख गर्दै भन्नुहुन्छ, 'सामाजिक दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने छ। सर्वसाधारणको जिविकोपार्जन माध्यम र वनजंगलमा आश्रित कुरासँग जोडिएका घटनाहरु पनि त्यत्तिकै छन्। संरक्षित वा मध्यवर्ती क्षेत्र वरीपरीका मानिसलाई जंगलप्रतिको निर्भरता कम गर्दै लैजाउनुपर्छ।' उहाँले संरक्षणका कार्यक्रमहरु लक्षित समुदायमा पुग्यो की पुगेन भनेर विश्लेषण गर्नुपर्ने समय आएको बताउनुभयो।

डा. थापाको अनुभवमा विगतका घटना केलाउँदा सर्वसाधारण घाँसदाउरा लिन, निउरो टिप्नलगायत जिविकोपार्जनसँग जोडिएका विभिन्न काममा जंगल पस्ने गरेको देखिएको छ। संरक्षण क्षेत्र भित्रका नदीखोलामा रातबिरात गएका घटना पनि छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरियाका अनुसार विशेषगरी बर्दिया र बाँके निकुञ्ज आसपास र बर्दिया निकुन्जसँग जोडिएका सामुदायिक वनमा बाघ बढेसँगै आक्रमणका घटना दाहोरिएका छन्। उहाँका अनुसार मध्यवर्ती क्षेत्र, खाता जैविकमार्ग र कैलालीको सामुदायिक वनमा तीनबर्षमा बाघको आक्रमणबाट धेरैको ज्यान गएको छ। बर्दिया निकुन्जबाट बाहिर निस्केको बाघले भुरिगाउँ घरमा काम गर्दे गरेको बृद्ध बाहेक अधिकांश घटना बाघको टेरोटोरी भित्रै बाघले आक्रमण गरेको छ।

'शून्यचोरी शिकारी र आहारको व्यबस्थापनले प्रत्येक गणनामा बाघ बढेको छ', उहाँले भन्नुभयो। बाघको उचित संरक्षण र व्यबस्थापन गर्न जरुरी ठान्नुहुन्छ, कडरिया। ‘जंगलको राजा बाघको मुभमेन्ट जताततै भईरहन्छ’,उहाँले भन्नुभयो,‘मुभमेन्ट भएको ठाउँमा हो हल्ला भयो भने बाघ आक्रमक बन्छ,त्यस्तो अवस्थामा बाघले आक्रमण गर्छ।’  

डा. थापाका अनुसार संरक्षणसँगै व्यवस्थापनका थप काम पनि गर्नुपर्ने भएको छ। भइरहेका कामलाई अझै प्रभावकारी बनाउनुपर्छ। 'बाघको व्यवस्थापनको अर्को पाटो भनेको यसको बासस्थान पनि हो। किनकी केही घटना बाघ जंगल बाहिर आएर पनि भए। यस्ता घटना नियन्त्रण गरी दिर्घकालिन व्यवस्थापन गर्न जंगल भित्र त्यसको आहारा प्रजातिका जनावरको संख्या घटन दिनु भएन। ठाँउठाँउमा पानीको व्यवस्था पनि गरिदिनुपर्र्यो।' उहाँले विगतका हरेक घटनालाई छुट्टा छुट्टै तरिकाले विश्लेषण गरेर त्यही अनुसार व्यवस्थापनको काम गर्नुपर्ने बताउनुभयो।

बर्दिया निकुन्ज प्रशासनले बाघ संरक्षण र व्यवस्थापनको चुनौती बढेसँगै १३ वटा रणनितिक योजनामा काम गरिरहेको छ। ती योजना मध्यवर्ती क्षेत्रमा लागु गरिरहेको प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। 'योजनामा बाघको आनीबानीबारे जानकारी दिई मानविय व्यवहार परिवर्तन गर्ने कामलाई प्राथमिकतामा राखेका छौ', उहाँले भन्नुभयो, 'वन्यजन्तुबाट प्रभावित क्षेत्रमा मुख्य गरी सचेतना, बिमा र सुरक्षा मापदण्ड अवलम्बन गर्न निकुन्ज प्रशासनले जोड दिएको छ।'

‘बाघ र मानिसको व्यवहारमा परिवर्तन नआउँदा संरक्षणमा समस्या आयो’, उहाँले भन्नुभयो। प्रमुख श्रेष्ठको अनुभवमा भाले र भाले बाघको जम्काभेटले प्राकृतिक मृत्यु बढेको छ।

मानविय क्षतिका साथसाथै बाघहरु पनि विभिन्न कारणले मर्नेक्रम बढेको देखिन्छ। बाघहरु आपसमा जुँधेर, असक्त भएर र मानिस राखेको विद्यूतिय धरापमा परेर मरिरहेका छन्। सोमबार मात्र अन्तराष्ट्रिय जैविक मार्ग, खाता स्थित जन जागृति सामुदायिक वनमा मृत अवस्थामा सोमबार पाटे बाघ भेटियो। कुहिएको अवस्थामा भेटिएको उक्त बाघ प्राकृतिक कारणले मरेको हुन सक्ने प्राबिधिकको अनुमान छ।  निकुञ्जले मानिस र बाघबीचको द्धन्द बढि भएका स्थानमा क्यामरा राखेर व्यबस्थापन गर्ने रणनीति अंगिकार गरेको छ। ‘समस्या ग्रस्त बाघको पहिचान गर्न सकिने र प्राकतिक मृत्यु दर घटाउन सकिन्छ”, प्रमुख श्रेष्ठ भन्नुहुन्छ।

यसैगरी गाउँ बस्तीमा बाघ र आहार प्रजातीलाई रोक्नका लागि बिद्युत तारबारको विस्तार गरेको उहाँ बताउनुहुन्छ। श्रेष्ठका अनुसार मध्यवर्तीका पालीकाहरुसँगको समन्वयमा विमा(मानविय,अन्नबाली,पशु नोक्सानी) विस्तार, सेनाका पोष्ट विस्तार,नियमिति गस्ती,पट्रोल,स्वपिङ,एम्बुस जस्ता अप्रेसन लगायतका गस्ती बढाइएको छ।

यही क्रममा निकुञ्ज प्रशासनले बर्दियाबाट ६ र बाँकेबाट २ वटा गरी ८ वटा समस्या ग्रस्त बाघलाई नियन्त्रणमा लिएको थियो। ती बाघलाई उद्वार गरी निकुञ्ज र सदर चिडियाखानामा राखिएको छ। त्यस मध्य दुई वटा बाघ बाँकेको राप्ती सोनारीबाट नियन्त्रणमा लिइएको थियो।

सन २०१८ को गणनामा बर्दियामा ८७ वटा र बाँकेमा ४ वटा बाघ थिए जबकि सन २००९ मा बर्दियामा जम्मा १४ वटा मात्र बाघ थिए। त्यसपछिको गणना (सन् २०१३)मा ३७ वटा भए। तर अहिले बर्दिया र बाँकेमा गरी १ सय बाघ रहेको निकुञ्ज कर्मचारीको अनुमान छ। चितवन निकुञ्जमा सन् २०१८ मा ९३ वटा बाघ थिए। चितवन बाघको सबैभन्दा ठूलो बासस्थान हो।

सन् २००९ को गणनामा नेपालमा जम्मा बाघको संख्या १२१ थियो। सरकारले यही संख्यालाई सन् २०१० को तथ्याङक मानेर सन् २०२२ भित्र २५० पुर्याउने अन्तराष्ट्रिय लक्ष्य लिएको हो। सन् २०१० मा रुसको पिटर्सवर्गमा भएको ग्लोबल टाइगर्स सम्मेलनमा नेपालले यो प्रतिवद्धता जनाएको थियो। यस सम्मेलनमा विश्वका बाघ पाइने १३ वटा देशका प्रमुख सहभागी थिए।

'स्थलगत अनुसन्धानको काम सकेको २ साता भयो, तथ्याङक र विवरण विश्लेषण गर्दैछौं' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेदकुमार पौडेल भन्नुहुन्छ, “हेरौं, राम्रै परिणाम आउछ होला। चार महिना कुरौं।'सन् २०१३ मा बाघको कुल संख्या १९८ र सन् २०१८ मा २३५ थियो। 

प्रकाशित: ८ चैत्र २०७८ १३:४५ मंगलबार