समाज

भुपेन्द्र हत्या प्रकरणः धरौटीमा रिहा भएका तीन जना पुनःपक्राउ

मुख्य नायकसहित ९ जना अझै फरार

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतले धरौटीमा रिहा गरेका बर्दगोरिया गाउँपालिका २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा ३ गोदानका २६ वर्षीय सन्तोष भनिने सविन जंग शाही र लम्की चुहा नगरपालिका ५ का २८ वर्षीय बिकास खड्का उच्च अदालतको आदेशपछि पुनः पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत दिपायलले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएकाले उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदराज जोशीले बताएका छन्।

हत्यामा संलग्नको अभियोगमा पक्राउ परेका १२ मध्य ३ जनालाई गत मंसिर २४ गते कैलाली जिल्ला अदालतको ४ नम्वर ईजलाश (न्यायाधीश खेमराज भट्टको) ले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। भने ९ जनालाई पुर्पक्षको लागि कारागार पठाएको थियो। कुँवर र शाहीलाई १ लाख ५० हजार र खड्कालाई  ७५ हजार धरौटी लिएर रिहा गरिएको थियो।

उनीहरुको रिहा गरिएपछि आर्थिक चलखेल तथा हत्यामा संलग्नलाई धरौटीमा रिहा गरेर बचाएको भन्दै पीडितका आफन्तले विरोध गरेका थिए। मंसिर २७ गते लम्कीबाट धनगढी आएर भुपेन्द्रका आफन्त तथा स्थानीयले धनगढी स्थित जिल्ला अदालतको गेट अगाडी प्रदर्शन गरेका थिए। भने धरौटीमा रिहा गरेको प्रति असन्तुष्टी व्यक्त गर्दै न्यायका लागी भनेर हत्या गरिएका भुपेन्द्रको ‘अस्तु’ लगेर उनका आमाबुवाले अदालतका मुख्य न्यायाधिश जयानन्द पनेरुको कार्यकक्षमा पुगेर बुझाएका थिए। जिल्ला सहायक न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीको समेत उपस्थितीमा हत्यामा संलग्नलाई धरौटीमा रिहा गरिएकोले न्यायको माग गर्न न्यायधिशलाई छोराको आत्मा(अस्तु) बुझाएको भुपेन्द्रका वुवा डम्बर बडुवालले बताएका थिए ।

त्यतिवेला न्यायाधिशको कार्यकक्षमा भएको छलफलमा धरौटीमा रिहा भएकाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने बिश्वास पीडितका आफन्तलाई दिलाइएको थियो। धरौटीमा रिहा गर्ने आदेश बदरका लागी सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन दिएको थियो।  

गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटर लखेट्दै फिल्मि शैलीमा खुकूरी र चक्कु प्रहार गरेर भुपेन्द्रको क्रुरता पूर्वक हत्या गरिएको थियो। उनको हत्यामा संलग्न भनेर २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

मुख्य नाइकेसहित ९ जना अझै फरार

उनको हत्यामा संलग्न मुख्य नाईके नविन रावलसहित ९ जना अझै फरार रहेको प्रहरीले बताएको छ। चिरन्जिवीजंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशन बहादुर शाही र अशोक रावल फरार रहेको प्रहरी नायव उपरिक्षक जोशीले बताएका छन्। फरारहरु भारततर्फ भागेको प्रहरीको भनाई छ। 

क्रुर ढंगले हत्या गर्ने रावल समूहका १५ जनालाई मुलुकी अपराधसंहिता बमोजिम जिवीत रहेसम्म कैद सजाय,  शाहको समुहका ४ जनासहित ६ जनलाई जन्म कैदको सजाय माग दावी गरि मुद्दा दर्ता गरिएको थियो। कैलालीमा तीन वर्षदेखि संगठितरुपमा अपराध गरि रहेको समूहले क्रुरता पूर्वक बडुवालको हत्या गरेको थियो। 

यो समूहको सन्जाल काठमाडाैं लगायत धेरै जिल्लामा रहेको भुपेन्द्रको हत्यापछि प्रहरीको अनुसन्धानबाट खुलेको थियो। कैलालीका प्रहरी उपरिक्षक बिश्व अधिकारीले यो समूहका व्यक्तिले यसअघि पनि ज्यान मार्ने उदेश्यले काठमाडाैं र कैलालीमा आधा दर्जन बढीलाई खुकुरी प्रहार गरेको बताएका छन्। संगठितरुपमा अपराधमा संलग्न यो समूहका व्यक्तिलाई कारबाही नहुँदा निर्धक्कसँग हातहतियार बाेकेर अपराधिक गतिविधी गर्दै आएका थिए।

पेस्तोल, बन्दुक, खुकुरी लगायतका हातहतियार रहेको यो समूहका सदस्यले चन्दा, फिरौती, कमिशन उठाउने गर्ने गरेका थिए। यो समूह परिचालन गर्नेको काठमाडाैंको डन र भारतका डन तथा अपराधिक समूहसँग समेत कनेक्सन रहेको प्रहरीको आकलन छ। कपिल श्रेष्ठले गाह्रो पर्‍याे भनेर बाेलाएकाले लम्कीबाट गएका भुपेन्द्रलाई टिकापुरको जमरापुल नजिकबाट दुई किलोमिटर लखेट्दै लगेर टिकापुर सिद्धार्थ होटल नजिक कौशि बिष्टको घरको आगनमा पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडीको भागमा एक पटक धारिलो हतियार प्रयोग क्रुरता ढंगले हत्या गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०७:५९ मंगलबार

भुपेन्द्रको हत्या प्रकरण