समाज

आफ्नै अध्यक्ष ‘झिकाउन’ सिडिओ गुहार्दै फाकफोकथुमका जनप्रतिनिधि

कोरिया लैजाने कामदार छनोटमा विवाद

फाकफोकथुम गाउँपालिका कार्यालयमा गरिएको तोडफोड।

फाकफोकथुम गाउँपालिकाका उपाध्यक्षसहितका जनप्रतिनिधिले आफ्नै गाउँपालिका अध्यक्षलाई गाउँ ‘झिकाउन’ सिडिओ गुहार्ने भएका छन्। कोरियामा मौसमी कामदार पठाउने विषयमा उत्पन्न विवाद समाधान गर्ने बेला अध्यक्ष सहभागी नभएपछि जनप्रतिनिधिले स्थानीय प्रशासनमार्फत् आफ्नै पालिका अध्यक्षलाई गाउँ झिकाउन प्रशासनमा जाने लिखित निर्णय गरेका हुन्।  

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ गत फागुन २७ यता गाउँपालिकामा छैनन्। उनले झापाको बिर्तामोडमा बसेर गाउँपालिकाबाट कोरिया पठाइने मौसमी कामदार प्रक्रियाबिनै छानेको आरोप छ। छनोटमा नपरेका असन्तुष्ट युवाले आन्दोलन थालेपछि सोमबार उनीहरूसँग वार्ता गर्ने सहमति गत शुक्रबार नै भएको थियो। तर, गएराति अबेर सम्पन्न वार्तामै नआएका अध्यक्ष श्रेष्ठले फोन गर्दासमेत नउठाएपछि जनप्रतिनिधिहरू सिडिओ गुहार्न बाध्य भएका हुन्।

गाउँपालिका उपाध्यक्ष सरस्वती राईले आज (मङ्गलबार) आफूसहित वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतसमेत सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुगेर अध्यक्षलाई झिकाउन आग्रह गर्ने निर्णय भएको बताइन्। बैठकको निर्णय सुनाउँदै उनले भनिन्, ‘अध्यक्षलाई नझिकाउञ्जेल कामदार छनोटप्रक्रियासमेत स्थगित गर्ने सहमति भएको छ।’  

अध्यक्ष श्रेष्ठले आफूखुसी कामदार छनोट गरेपछि विवाद उत्पन्न भएको असन्तुष्ट युवा र जनप्रतिनिधि नै बताउँछन्। तर, समस्या समाधान गर्ने बेला उनी नै नभएपछि उपाध्यक्षसहितको समूह जिल्ला प्रशासन कार्यालय आएर अध्यक्षलाई झिकाउने निर्णय गर्न बाध्य भएको हो।  

कामदार छनोटमा मनोमानी भएको भन्दै गाउँपालिकाका असन्तुष्ट युवाले सोमबार दिउँसो कार्यालयमा तोडफोड गरेका थिए। बिहान १० बजेतिर गाउँपालिका कार्यालय पुगेका युवालाई धेरैबेर पर्खिंदा पनि वार्तामा नबोलाइएपछि आक्रोशित उनीहरूले प्रशासनिक शाखाहरूमा तालाबन्दीसमेत गरेका छन्। तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्प्युटर, प्रिन्टर, बाहिरी कम्पाउन्डलगायतमा क्षति पुगेको छ।  

युवाले कार्यालय तोडफोड गरेपछि सोमबार अपराह्न उपाध्यक्षसहितका जनप्रतिनिधि, प्रहरी र असन्तुष्ट युवाबीच गाउँपालिकामा छलफल भएको थियो। तर, अध्यक्ष श्रेष्ठ नै वार्तामा नआएपछि ठोस सहमति हुन सकेन। गत शुक्रबार पनि युवाले यही विषयमा असन्तुष्टि जनाउँदै युवाले गाउँपालिका घेराउ र नाराबाजी गरेका थिए। युवा आन्दोलित बनेपछि सोमबार वार्ता गर्ने र समाधान निकाल्ने सहमति भएको थियो।  

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन २६ भित्र आवेदन आह्वान गरेको थियो। जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो। सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको छ।  

कामदारका रूपमा कोरिया जान चाहने ५ सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, १ सय २२ हाराहारी युवालाई वैदेशिक रोजगारी व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै युवा आन्दोलित बनेका हुन्। उनीहरूले पालिकाले आफूहरूलाई पाखा लगाएर ‘आफ्ना मान्छे’ छानेको आरोप लगाएका छन्।

प्रकाशित: ८ चैत्र २०७८ ०१:१५ मंगलबार