समाज

हट्दै छ होली पर्वमा हुने विकृति

सद्भाव र रंगको पर्व होलीमा देखिने गरेको विकृति केही वर्षयता हटेर सभ्य बन्दै गएको देखिएको छ। होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता कम हुँदै गएको देखिन्छ भने यो वर्ष यस्ता कृयाकलाप निकै कम देखिएको छ।  

केही वर्ष अघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो। तर, विगत चार–पाँच वर्ष यतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ। होली सद्भावना र रंगको पर्व हो, आफन्तजनमा शुभकामना आदान प्रदान गर्ने पर्वको रुपमा मनाइन्छ। संस्कृतविद् सुरेन्द्र के.सीका अनुसार पछिल्लो केही वर्षहरुमा यो पर्वले अत्यन्त भद्धा र असिष्ट तरिका अवलम्बन गरेको, महिलाहरुलाई ताकी–ताकी लोला प्रहार गर्ने, दुःख दिने, हिलो छ्याप्ने लगायतका क्रियाकलाप गरेर नेपालमा यो पर्वको महत्व घटेदै गएको थियो। तर यस वर्ष भने होली पर्व सुरु भईसक्दा समेत त्यस्ता क्रियाकलापहरु नभएको पाइएको उनको भनाइ छ।  

‘यो नेपाली जनतामा आएको सह्रै ठूलो सकारात्मक परिवर्तन हो। यो नै कायम रहोस्,’ संस्कृतिविद् के.सी भन्छन्, ‘हामीले यसरीनै होलीपर्व मनाउन आवश्यक छ, नेपालमा मनाउने सबै पर्वहरु यसरीनै सभ्य तरिकाले मनाउन जरुरी छ। पर्वलाई विकृति र आफ्नो सान, मान र अभिमान देखाउने पर्वको रुपमा भन्दा पनि परम्परा, मैत्रीभाव र सुुख–दुःख आदान प्रदान गर्ने पर्वको रुपमा मनाऔँ।’

शिशिर ऋतुको विदाइ गर्दै वसन्त ऋतुको आगमनसँगै मनाइने यो चाडको आफ्नै सांस्कृतिक, धार्मिक अनि सामाजिक विशेषता रहेको पाइन्छ। बसन्त ऋतुको यो महान चाड होलीको पृष्ठभूमि र यसलाई मनाइने चलनलाई इतिहासले वर्णन गरेको छ। त्रेता युगमा दैत्य राज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्कि रहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको मिथकीय कथा यो पर्वसँग जोडिएको छ।

सत्य युगमा मात्र होइन त्रेता युगमा पनि होलीको प्रसङ्ग पाइन्छ। फागुन शुक्ल सप्तमीका दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै नेपालको तराई क्षेत्रहरु, विशेषगरी मिथिला क्षेत्रमा भव्य रुपमा फागु खेलिन्छ। जनकपुरको राम जानकी मन्दिरमा अबिर अर्पणपछि होलीको सुरुवात गरिएको संस्कृतिविद् के.सीले बताए।

द्वापर युगमा पनि होलीको प्रसङ्ग वर्णित छ। नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ। जसअनुसार, भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको यही पूर्णिमाकै दिन बालक कृष्णले वद्ध गरे। यसरी पुतनाको वद्ध भएपछि गोकुलवासीहरुले जयजयकार गर्दै सो दिन रंगीन उत्सव मनाएको र कालान्तरमा यही पर्व होली भएको शास्त्रोक्त वर्णन छ।

होलीको प्रसङ्ग कलियुगमा पनि यथावत नै छ। यसलाई विजय उत्सवसँग जोडेर हेरिएको छ। काठमाडौं उपत्यकामा प्रचलित कथन अनुसार उपत्यकाका एक प्रसिद्ध व्यापारी व्यापारको सिलसिलामा तिब्बत पुगेका थिए। त्यहाँबाट नेपाल फर्कने क्रममा सुन्दरी राक्षसनीहरुले मायाजालमा पारी हत्या गर्न खोज्दा ती व्यापारी वायु पंखी घोडा बनि नेपाल फर्कन सफल भए। यही खुसीयालीमा प्रत्येक वर्ष काठमाडौं महानगरपालिका स्थित हनुमानढोका दरवार क्षेत्रमा रहेको वसन्तपुर कुमारी घर निर चीर उठाई हर्षोल्लास पूर्वक होली मनाउन थालिएको कथन छ।  

हनुमानढोका दरबारको दक्षिण पटाङगिनी स्थित, ऐतिहासिक मोहनकाजी चोक तथा दाख चोकमा फागुन शुक्ल अष्टमीमा ३२ फुट उचाइको तीनतले रंगीविरङगी होली चीर ठड्याइन्छ। यससँगै उपत्यका लगायत देशभर सप्ताहव्यापी रुपमा होली पर्व सुरु हुन्छ। पूर्णिमापछि विधिपूर्वक चीर दहन गरेसँगै पर्व समापन हुन्छ।

विभिन्न जात र सम्प्रदायले आफ्नै रीति अनुसार मनाउने यो पर्वले सामाजिक एकता कायम राख्न सघाएको छ। समुदायमा सबै भेला भई एकआपसमा रङ्ग लेपन गर्दै यो पर्व मनाउँदा यसले आपसी द्वेष र राग हटाउन भूमिका खेल्दछ। विशेष परिकारहरु खाँदै सबै जना भेला भई होलीका प्रसङ्गमा रचित विभिन्न गीत सङ्गीतमा झुम्नुले यो पर्वमा विशेष महत्व राख्दछ।  

होलीमा प्रयोग हुने रातो, हरियो तथा नीलो रंगलाई मुल रंग मानिन्छ । रातो रङ्गलाई प्रेम, पवित्रता, ऊर्जा, शौभाग्य, विजय तथा समृद्धिको प्रतीकका रुपमा लिइन्छ। त्यस्तै, निलो रङ्गले ताजापन, मानवता, धीरता र अहिंशालाई दर्शाउँछ। पहेलो रंग भगवान् श्री कृष्णको प्रिय रंग साथै उज्यालो, प्रसन्नता न्यायको संकेत हो। हरियो रङ्ग शितलता, शान्ति तथा आशाको प्रतीक हो। वैजनी रङ्ग सत्यसँगै सान, कलाएवं भावनाको अभिव्यक्तिको संकेत हो। त्यस्तै, सुन्तला रंगलाई बल र बुद्धिको सूचकका रुपमा लिइन्छ।  

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली मनाइँदैछ भने तराईका जिल्लामा भने भोलि होली मनाइँदैछ।

प्रकाशित: ३ चैत्र २०७८ १३:१३ बिहीबार