समाज

इलाममा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिँदै

स्थानीय तह निर्वाचन–२०७९

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ।  

म्यादी प्रहरीका लागि योग्यता पुगेको व्यक्तिले यही चैत ६ देखि ११ सम्ममा आवेदन दिन सूचना गरिएको हो। इच्छुकले जिल्ला प्रहरी कार्यालयमा आएर दरखास्त फाराम लिन र पेस गर्नसक्ने प्रहरी कार्यालयले जनाएको छ। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने छन्।  

सूचनाअनुसार सुरक्षा निकायमा २०७८ साउन १ देखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भइ प्रवेशपत्रको प्रतिलिपि पेस गर्नेहरू छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत रही निवृत्त वा उपदानप्राप्त पूर्वसुरक्षाकर्मी र पूर्ववनरक्षक, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिलाई भर्नाको प्राथमिकताक्रममा राखिएको छ।  

आवश्यक न्यूनतम् योग्यताका रूपमा कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेछ। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले चैत १५ म्यादी प्रहरीका लागि छनोट सुरु हुने र २२ गते नतिजा सार्वजनिक गर्ने बताए। छानिएका म्यादी प्रहरीलाई चैत २८ मा प्रशिक्षण दिइनेछ।

निर्वाचन अवधिमा म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्नेछ। यो अवधिमा सरकारले एक म्यादी प्रहरीलाई प्रहरी जवानसरहको आधारभूत मासिक तलब (२२ हजार ६ सय ८० रुपैयाँ) ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नका लागि एकमुष्ठ ७ हजार २ सय र पोशाकका लागि ६ हजार रुपैयाँ दिनेछ।

निर्वाचन हुने ठाउँमा खटिने म्यादी प्रहरीलाई आउने/जाने खर्च एक हजार रुपैयाँ, बिमा र अन्य सुविधासमेत दिइनेछ।

प्रकाशित: ३ चैत्र २०७८ ११:५२ बिहीबार