जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांश समय बिताउँछिन्। उनले महिला, बालबालिका, पुरुषका लागि पनि कडा बुन्न सक्ने भइसकेकी छिन्।
गाउँमै तातोपानी गाउँपालिका ६ ले ६ महिने होजियारी सीप दिएपछि अहिले निकै राम्रो भएको उनी बताउँछिन्। उनले भनिन्,‘पहिले अर्कोले बुनेका कपडा किनेर लगाएका हामी अहिले आँफै कपडा बुनेर लगाउने भइसकेका छौँ। आगामी दिनमा होजियारी सीपका माध्यमबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने लक्ष्य छ।’
'अहिले स्वीटर, हाइनेक, टोपी, मफ्लर, मोजा सम्म बनाउँछौँ। उनले भनिन्,‘सिक्दैछौँ सिक्छौँ। तर घरमै बसेर भएपनि कमाउने बाटो पहिल्याउँदैछौँ। यहीबाट यहाँका महिलाको लागि निकै अनुकुल हुनेछ।’ हियाखोलाकै पार्वती कामीले सात कक्ष पढ्दै स्कुल छोडिन्। सानै उमेरमा विवाह भएपछि उनले पढ्न पाइन्न। न स्कुलमा पढ्न पाए, नत राम्रो संग काम सिक्न पाए। उनले भनिन्,‘अहिले परम्परागत घरायसी काममा लुडिबुडि गर्नुको विकल्प छैन।’
गाउँमै बेरोजगार र अशिक्षित महिलालाई केन्द्रमा राखेर होजियारी सीप दिन थालेपछि अहिले उनी विभिन्न कपडा बुन्ने कार्यमा अग्रसर छिन्। तीन महिना सिक्यौँ। अब तीन महिना सम्म सिक्दैछौँ। होजियारीका माध्यमबाट कसरी रुपैयाँ कमाउन सकिन्छ भन्ने बारेमा विकल्प खोज्दैछौँ। उनले भनिन्,‘हाम्रो लागि उपयुक्त काम भनेको यही नै हो जस्तो लाग्छ।’
तिलनदेवी र पार्वती उदाहरण मात्र हुन्। उनी जस्तै गाउँकी सात जना महिलाले होजियारी सीप सिक्दैछिन्। पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिक्यौँ, उनले भनिन्,‘अब मेसिन मर्मतको काम देखि अन्य डिजाइनका कपडा बुन्न सिक्दछौँ।’
'अहिले उनीहरु पाउ देखि शिर सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन्। यहाँ बुनेको कपडा निकै सस्तो र गुणस्तरीय हुने स्थानीय बताउँछन्। मोजा देखि टोपी सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन्। स्थानीय गोठे कामीले भने,‘घरभाडा र कालिगढ भाडा नतिर्नु पर्ने भएकोले घरको ढिडो खाएर गाउँमै बसेर कपडा बुन्न सकिने अवस्था छ। यो व्यवसाय यहाँको लागि निकै उपयुक्त छ।’
अहिले यहाँका महिलाले विहान ६ देखि १० बजे सम्म र बेलुकी ६ देखि १० बजेसम्म होजियारी सीप लिइरहेका छन्। दिउँसो बिजुली बत्तिको व्यवस्था हुन नसकेकोले घरायसी काममा व्यस्त हुन्छन्। गाउँले बेरोजगार छौँ। यो कामले निकै राम्रो गरेको छ। अब गाउँमा एक उद्योग दर्ता गरेर व्यवसायिक रुपमा अघि बढ्ने लक्ष्य रहेको छ। यो वडाध्यक्ष ज्यू को राम्रो काम हो। गोठेलेभने,‘यो कामले सरकार गाउँका वेरोजगार नागरिक प्रति सरकार कति जिम्मेवार छ भन्ने प्रमाणित गरेको छ।’
वडाध्यक्ष विशाल खड्का होजियारी उद्योगले मात्र यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्ने बताउँछन्। अहिले सम्म यहाँ नागरिक सरकारी कर्मचारी हुन सकेका छैनन्। यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो। उनले भने,‘अब यो गाउँलाई रोजगारी सिर्जना गर्ने गाउँका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ। होजियारी उद्योगका माध्यमबाट मात्र यो संभव छ।’
यो वडा कार्यालयले यहाँका बेरोजगारीलाई रोजगारी दिनको लागि विभिन्न विकल्प अवलम्बन गरेको छ। जसमध्ये हियाखोला गाउँ एक हो। वडाध्यक्ष खड्काले भने,‘पहिलो चरणमा यहाँका महिलाले होजियारी सिक्दैछन्। सीप सिकेर कपडा तयार गर्ने अवस्था भएको खण्डमा बजारीकरणको व्यवस्थापनका लागि लाग्ने छौँ। यहाँ उत्पादित कपडा देश विदेशमा जाने वातावरण सिर्जना हुनेछ।’
होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेकोे छ। यो कार्य सामान्य लागतमा हुने देखिएन। वडाध्यक्ष खड्काले थपे,‘होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौँ। अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ। यसका लागि प्याकेजिङ र सिलाई गर्ने ठाउँ फरक चाहिने रहेछ। अब उद्योगको भौतिक संरचना निर्माणमा जोड दिनेछौँ।’
उनले हियाखोलालाई होजियारी उद्योगको रुपमा विकसित गर्ने तयारी भइरहेको बताए। होजियारी उद्योगले आत्मनिर्भर गाउँ बनाउने लक्ष्य राखिएको छ। प्रशिक्षक रामप्रसाद छत्कुलीले यहाँका महिलाले निकै सिक्ने प्रयास गरेको बताए। उनले भने,‘तीन महिनामा यहाँका महिलाले धेरै सिकेका छन्। अब तीन महिनामा धेरै सिक्ने छन्। यहाँ उत्पादित कपडाको माग पनि उच्च हुनेछ। धादिङबाट सीप सिकाउन आएका छत्कुलीले यहाँ होजियारी उद्योगको संभावना निकै राम्रो देखिएको बताए।
उनले भने,‘यहाँको हावापानी अनुकुलको कपडा तयारी हुनेछ। चिसो समयमा लगाउने र गर्मी समयमा लगाउने प्रकृतिका कपडा उत्पादन हुनेछन्।’ होजियारी उद्योग स्थापना गरेर रोजगारी प्रदान गर्न स्थानीय सरकार लागि परेको वडाध्यक्ष खड्काले बताए।
प्रकाशित: ५ फाल्गुन २०७८ ०८:४८ बिहीबार