समाज

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार ६ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो ।  

‘भारतीय प्रहरी एसएसबीले काम गर्न नदिएकाले दुई वर्षदेखि १ हजार ६ सय मिटर सडक निर्माणको काम रोकिएको छ’ हुलाकी सडक आयोजना धनगढीका सुचना अधिकारी पदम मडैले भने। भारत पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरेको कुरा जिल्ला प्रशासनमार्फत गृह मन्त्रालय र विभागिय मन्त्रालय भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयमा जानकारी गराइएको उनले बताए।

नेपालको जग्गा प्रमाणपत्र भएको क्षेत्रलाई भारतीय पक्षले आफ्नो दाबी गर्दै सडक निर्माण हुन नदिएको हो। बस्ती बसेदेखिको चलन चल्तीको सडकमा हुलाकी सडकको पनि सर्भे गरिएको थियो । उक्त बस्तीमा वर्षौंदेखि स्थानीय हिँडडुल गर्ने उक्त बाटो भन्दा अर्को वैकल्पिक बाटो नरहेको स्थानीय बताउँछन्। ‘चलनचल्तीको सकडमै हुलाकी सडकको सर्भे भएको हो। कालोपत्रे गर्दा दुई वर्षदेखि भारतीय पक्षले अवरोध खडा गरेको छ’ उनले भने। दुई वर्षदेखि भारतीय पक्षको अवरोधले रोकिएको सडक निर्माण गर्न सरकारबाट कुनै पहल भएको छैन। 

अन्तर्राष्ट्रिय सिमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले नेपालीहरुको लालपूर्जा भएको जमिनलाई भारतले आफ्नो भनेर दाबी गरेको बताएका छन्। भारतले आफ्नो जमिन दाबी गरेर सडक निर्माण गर्न नदिएको ठाउँ भन्दा करिब २० मिटर दक्षिणतिर सिमा पिल्लर रहेको उनी बताउँछन्। ‘त्यो सडक बनाएको ठाउँ भन्दा उतातिर लालपुर्जा भएको हाम्रो धेरै जग्गा पर्छ’ उनले भने। कञ्चनपुरको लालपूर्जा भएको सयौ बिगाह जमिन भारतले दाबी गरिरहेकोले समस्या समाधान गर्नको लागी भनेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि संसदीय समितीहरुसँग छलफल गरेपनि नेपालकोतर्फबाट प्रभावकारी पहल हुन नसकेको उनको भनाई छ।

स्ट्रिप नक्सा अनुसार लालपूर्जा भएको सयौँ कञ्चनपुरको जमिन भारतमा पर्ने भएकाले उक्त नक्शा पुनरावलोकन गर्न स्थानीयले माग राखेको उनले बताए। ‘स्ट्रिप नक्सा अनुसार महाकाली सिँचाईको नहर, भुतपूर्व सैनिकलाई बस्ती बसाउँदा उपलब्ध गराएको जमिनलगायत लालपुर्जा भएको र कुनै विवाद नभएको जमिन समेत भारततर्फ परिरहेकोले याहाँ समस्या भएको हो’ भट्टले भने,‘सन् १८१६ को सुगौली सन्धी र सन् १८६० को नयाँ मुलुक फिर्ता पाएको बेला पुरानो नक्सा हेरेर यो बनाइएको स्ट्रिप नक्सा ठिक छ कि गलत छ भनेर छानबिन गरिनुपर्छ र गलत गर्नेलाई देश द्रोहको मुद्दा लगाइनु पर्छ।’ देशमा द्वन्द्व चर्किरहेका बेला सुरक्षा व्यवस्था नभएको भनेर संयुक्त सिमा सर्भे टोलीमा रहेका नेपालतर्फका नापी अधिकृत भारतीय प्रहरी एसएसबीको क्याम्पमा राती बसेर नक्साको काम गरेकाले नक्सामा केही गडबड भएको हुनसक्ने आशंका स्थानीयको रहेको उनले बताए। कालापानी र सुस्तामा स्ट्रिप नक्सा बनेको छैन। सबै सिमाको समस्या एकै पटक समाधान गर्नुपर्ने नेपाल सरकारको धारणा रहि आएको छ।

भारत पक्षले जमिन अतिक्रमण गरेर सिमा विवाद रहेको कञ्चनपुरमा स्ट्रिप नक्सा लागू भएमा विवाद नभएको स्थानीयले भोगचलन गरिरहेको समेत सयौँ बिगाह जमिन भारत तिर जाने उनी बताउँछन्।कञ्चनपुरमा ५ वर्षदेखि ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ। २०७३ फागुनदेखि हुलाकी सडक निर्माण सुरु भएको हो। छुट्टाछुट्टै गरी तीन खण्डमा विभाजन गरी सडक निर्माण भइरहेको छ।  

पहिलो खण्डमा डोकेबजारदेखि बेलौरीसम्मको २० किमी, दोस्रो खण्डमा बेलौरीदेखि बेलडाँडीसम्मको २० किमी र तेस्रो खण्डको २२ किमी सडक पर्छ। बाबाहंस सिद्धिकी र शर्मा राजेन्द्र जेभीले राजमार्ग निर्माण गरिरहेका हुन्। सडकको चौडाइ १२ मिटर छ। यसमा सात मिटर कालोपत्रे गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ।

प्रकाशित: १ फाल्गुन २०७८ ११:३२ आइतबार

हुलाकी सडक भारतिय पक्षले अवरोध