समाज

कालीकोटका स्थानीय तह निमित्तका भरमा

कालीकोटका नौ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन्। जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन्।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन्।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौँ तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ।

त्यस्तै, पलाँतामा छैटौँ तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा  छैटौँ तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौं तहका केन्द्रबहादुर शाहीलार्ई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ। उनीहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत छन्।

पचालझरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ। कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताए।

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए। रासस

प्रकाशित: २८ माघ २०७८ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App