समाज

बन्दको प्रतिकार

डडेल्धुरा-एकीकृत माओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध डडेल्धुराका व्यापारी र सर्वसाधारण प्रतिकारमा ओर्लिएका छन्। एकदिने सुदूरपश्चिम बन्द अवज्ञा गर्दै स्थानीय आफैंले प्रतिकार गरेपछि सोमबार यहाँका बजार खुलै रहे।मुख्य बजार बागबजारलगायत तुफानडाँडा, खलंगा र कीर्तिपुरका सयौं व्यापारी तथा स्थानीयले स्वस्फूर्त रूपमा नाराजुलुससहित प्रतिकार गरेपछि बन्दकर्ता भागेका थिए। जबर्जस्ती बन्द गराइएका सबै पसल स्थानीयले फेरि खुलाए। आइतबार वैद्य माओवादीले आह्वान गरेको बन्द पनि स्थानीयको प्रतिकारपछि विफल भएको थियो। 
बिहान ९ बजे मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिँड्न थालेपछि स्थानीय व्यापारी तथा सर्वसाधारण नेपाली झन्डा बोकेर ‘बन्द गर्न पाइँदैन' भन्दै जुलुससहित प्रतिकारमा ओर्लिएका हुन्। प्रतिकार र्याझलीमा स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणले ‘बन्द गर्न पाइँदैन, व्यवसाय गरेर बाँच्न देऊ' जस्ता नारा लगाएका थिए। 
‘हामी बन्दविरोधी हौं, व्यवसाय अवरोध गर्ने अधिकार कुनै पार्टीलाई छैन,' उद्योग वाणिज्य संघ, डडेल्धुराका सदस्य राजेन्द्र पनेरुले नागरिकसँग भने, ‘आफ्ना माग पूरा गराउने नाममा व्यापारी र स्थानीयलाई दुःख दिन पाइँदैन।'
राजनीतिक दलहरूले आफ्ना माग पूरा गराउन बन्द गर्नुको साटो अन्य शैली अपनाउनुपर्ने उनले बताए। ‘आफ्ना अभीष्ट पूरा गर्न बन्द–हडताल गर्नैपर्छ भन्ने शैलीमा परिवर्तन जरुरी छ,' उनले भने, ‘जबर्जस्ती बन्द थोपर्दा स्थानीयले स्वीकार गर्दैनन् भन्ने पाठ यो घटनाले दिएको छ।' 
स्थानीयको प्रतिकारपछि बन्दकर्तामध्ये कोही पनि दिउँसो सदरमुकाम क्षेत्रमा देखिएनन्। प्रतिकारकै कारण मोर्चाले खलंगामा गर्ने भनिएको कोणसभा पनि सञ्चालन हुन सकेन। सदरमुकाम खलंगाबाट विभिन्न ठाउँ जाने सवारीसाधन सोमबार दिउँसो निर्बाध चले।
बन्दकर्ता र विरोधीबीच झडप हुन सक्ने आशंकामा स्थानीय प्रशासनले सदरमुकामको सुरक्षाव्यवस्था कडा पारेको थियो। बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्रबहादुर थापाले बताए। 
एकीकृत माओवादीले पनि सदरमुकामका व्यापारीको विरोधका कारण बन्द सफल हुन नसकेको स्विकारेको छ। ‘कांग्रेस र एमालेसम्बद्ध व्यापारीले बन्दको विरोध गरेका हुन्,' एमाओवादी डडेल्धुराका अध्यक्ष पदमराज जोशीले भने, ‘यस क्रममा अप्रिय स्थिति भने हुन पाएन।' 
स्थानीयले डडेल्धुरालाई ‘बन्दमुक्त जिल्ला' घोषणा गरिनुपर्ने मागसमेत अघि सारेका छन्। ‘कुनै पनि कुरामा चित्त नबु‰दा विरोध गर्ने शैली परिवर्तन गर्नुपर्छ, बन्दलाई सधैंका लागि बन्द गर्नुपर्छ,' व्यापारी नवराज भट्टले भने।
केही दिनअघि मात्र आगलागीबाट अस्तव्यस्त बजार बन्द गराउँदै हिँड्नु गैरजिम्मेवारीको पराकाष्ठा भएकाले विरोधको विकल्प नभएको व्यापारीहरूको तर्क छ। आगामी दिन पनि बन्दविरुद्ध जनता एकजुट भएर लाग्नुपर्ने स्थानीय व्यापारी गणेश भट्टले बताए। ‘व्यापारीले निर्बाध व्यापार गर्न पाउनुपर्छ, कसैले अवरोध गर्छ भने हामी प्रतिकार गर्छौं,' उनले भने।
दुई वर्षअघि पनि बन्द गराउँदै हिँडेका एमाओवादी कार्यकर्ता र व्यापारीबीच यहाँ विवाद भएको थियो। व्यापारी र स्थानीय एकजुट भएर प्रतिकार गर्न थालेपछि त्यस बेला पनि ‘षड्यन्त्र' भएको भन्दै बन्दकर्ता पछि हटेका थिए।

प्रकाशित: २८ पुस २०७१ २०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App