सन्दकपुर गाउँपालिका–३, सुलुबङका सूर्य ढकालको घर साँघुरो छ। मान्छे बस्नलाई बनाएको घरभित्र बाख्रासमेत पाल्नुपरेपछि उनलाई घरमा बस्नै उकुसमुकुस छ। सरसफाइको समस्या त छ नै, बाख्रा र मान्छे एकैभरभित्र बस्नुपर्दा अन्यत्र खुट्टो हाल्ने ठाउँ छैन।
यही गाउँका भवानी ढकालको पनि अवस्था उही छ। मान्छे, बाख्रा सबै घरभित्रै नबसी ज्यान जोगाउन मुस्किल। ‘बाख्रा सँगै नराखौं भने राति नै चितुवाले खाइदेला भन्ने डर, राखौं भने बाख्राको फोहोरले बसिनसक्नु,’ उनले भने, ‘हाम्रो पीडा कसले सुनिदिन्छ होला?’
जिल्लाको उत्तरी क्षेत्रका किसान वर्षाैंदेखि जंगली जनावरको आतंकमा छन्। केही सातायता गाउँमा चितुवा पसेपछि विशेषगरी सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका–२ का बासिन्दा त्रसित भएका हुन्। यी गाउँमा चितुवाले आतंक मच्चाएको छ। चितुवा, भालुलगायतले गर्ने मानिस र घरपालुवा पशुपन्छीमाथिको सम्भावित आक्रमणले उनीहरू अत्यावश्यक काम नपरी घरबाहिर निस्किनसमेत सकेका छैनन्।
बाटो हिँड्दा चितुवाले आक्रमण गर्ने त्रास त छँदैछ, घरमै आएर चितुवाले घरपालुवा जनावरसमेत खाइदिन थालेपछि स्थानीयलाई पशुचौपाया जोगाउन मुस्किल भएको छ। ‘दिउँसो त ठिकै छ, साँझ परेपछि गाउँमा कोही बाहिर निस्किँदैन,’ सन्दकपुर गाउँपालिका–३, सुलुबङका खडानन्द ढकालले भने, ‘दिउँसो पनि एक्लैदोक्लै हिँड्न निकै डरमर्दाे छ।’
किसानले गोठमा बाँधेका बाख्रा राति आएर चितुवाले खाइदिएको ढकालले बताए। गोठमा बाख्रा बाँध्न सम्भव नभएपछि किसानले आफूले पालेका बाख्रा घरभित्रै ल्याएर बाँधेका छन्। कतिपयले गाईको गोठमा बाख्रा बाँधेर तारजालीभित्र राखेका छन्। ‘घरभन्दा केही तल बाख्राको गोठ थियो, अहिले सबै बाख्रा गाईको गोठभित्र राखेर तारजालीले छेकिएको छ,’ उनले भने, ‘कतिबेला चितुवा आएर खाइदेला भन्ने त्रास छ।’
केही दिनअघि गाउँ पसेको चितुवाले एउटै टोलमा ३ वटा बाख्रा खाइदिएको छ। वस्तुभाउ पनि कसरी जोगाउने भन्ने समस्यामा छन्, किसान। स्थानीय धेरै किसानले घरभित्रै बाख्रा बाँधेका छन्। उनीहरूको गोठबाट केही दिनअघि चितुवाले बाख्रा लगेको थियो। स्थानीय किसानले चितुवाले लैजाँदैगरेको खसीसमेत खोसेर ल्याएका थिए।
गत पुस १६ गते राति सुम्बेकका भैबहादुर देवानको गोठका दुई, भुवन राई र राजकुमार राईका एक–एक वटा बाख्रा चितुवाले खाएको थियो। लीला कठेत र प्रवीण नेपालले पालेका बाख्रा पनि चितुवाले खाइदिएको छ। २–४ दिनयता चाहिँ सुलुबुङ र सुम्बेकमा चितुवाको आतंक कम भएपछि प्याङ, जमुना, माइमझुवातिर अहिले त्रास बढेको स्थानीयले जनाएका छन्।
चितुवाले सन्दकपुरकै वडा–५, जमुना गाउँमा आतंक मच्चाइरहेको छ। यहाँका एकै किसानले पालेका ६ वटा बाख्रा चितुवाले गोठमै आएर खाइदिएको छ। स्थानीय उमेश गुरुङ, गर्जमान राई, हरिकृष्ण भण्डारी, तुलसी भट्टराईलगायतले पालेका बाख्रा चितुवाले गोठमै आएर खाएको पीडितले बताएका छन्। स्थानीय उमेश गुरुङका अनुसार वन्यजन्तुको आतंक नियन्त्रण गर्न पटक–पटक जिल्ला प्रशासन कार्यालयमै आग्रह गरेपनि समाधान नभएको गुनासो गरे। ‘मैले सिडिओसँगसमेत यो समस्या समाधान गर्न कुरा गरें,’ नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वअध्यक्षसमेत रहेका गुरुङले भने, ‘प्रशासनले पनि यसमा चासो देखाएन। किसान आजित भइसकेका छन्।’
अहिले पनि गाउँमा चितुवाको त्रास बढेको गुरुङको भनाइ छ। ‘मानिसलाई आफ्नै ज्यान जोगाउन समस्या भइरहेका बेला घरपालुवा जनावर खाइदिएर भएको क्षतिको हिसाब–किताब छैन,’ उनले भने, ‘किसानको हजारौं रुपैयाँको नोक्सान भएको छ, क्षतिपूर्तिको कुरा कतैबाट उठ्न सकेको छैन।’
यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ। सीमा जोडिएको स्थानमा भारतपट्टि सिंहलीला नेसनल पार्कसमेत छ। सीमा क्षेत्र खुला भएकाले वन्यजन्तु आउ–जाउ गर्न बन्देज छैन। भारतपट्टि जंगल घना हुँदैछ भने नेपालपट्टि खुला भू–भाग छ। प्रायः चिसो मौसममा भारततिरबाट वन्यजन्तु नेपालपट्टि चर्न र खेल्न आउनेगरेको स्थानीय अनुमान गर्छन्। ‘केही समयअघि ६÷७ बच्चासहितको माउ चितुवा गाउँतिर देखिएको थियो,’ गुरुङले भने, ‘अहिलेसम्म बढी आतंक चाहिँ चितुवाकै छ।’
चितुवा रुखमा समेत चढ्ने भएकाले लोपोन्मुख जनावर रेडपान्डासमेत यसको आक्रमणमा पर्ने गरेको उनले बताए। ‘जंगलमा आहार सकिएपछि वन्यजन्तु गाउँतिर पसेको अनुमान छ,’ उनले भने, ‘यसको उचित नियन्त्रण नगर्ने हो भने गाउँमा मानिसमाथि कुनबेला वन्यजन्तुले आक्रमण गर्ला भन्ने त्राही छ।’ यही क्षेत्रको भारतपट्टिको भू–भागमा गतवर्ष चितुवाले ४ जनाको ज्यान लिएको थियो। ‘त्यो घटनापछि सम्भवतः उताबाट ती चितुवा यता लखेटिएको हुनसक्छ,’ गुरुङले अनुमान गरे, ‘सरोकारवाले यो समस्यालाई सानो सोचिदिए भने समस्या गम्भीर बन्न सक्ने देखिएको छ।’
सन्दकपुर र माइजोगमाई गाउँपालिका तथा सूर्याेदय नगरपालिकाका उत्तरी क्षेत्रमा बर्सेनि जंगली जनावरको आतंक छ। यो क्षेत्रका मानिस नै पटक–पटक जंगली जनावरको आक्रमणमा समेत परेर घाइते भएका छन्। नियन्त्रणका लागि कसैले पहल नगरेको स्थानीयको गुनासो छ। आफूहरूले दुःख गरेर पालेका पशुचौपायाको क्षतिपूर्ति दिन र जंगली जनावरबाट मानिस–पशु सुरक्षित गर्न स्थानीयले सरोकारवालाकै बाटो हेरिरहेका छन्।
प्रकाशित: ४ माघ २०७८ १२:१४ मंगलबार