समाज

डर लाग्दो प्राकृतिक प्रकोप चट्याङ, चासो कम

नेपालमा प्राकृतिक प्रकोप ठूलो चुनौती छ। बेग्लाबेग्लै प्राकृतिक प्रकोपमा ज्यान गुमाउने नेपालीको संख्या पनि वर्षेनी बढ्दो छ। प्रिमनसुनसँगै सुरु हुने प्राकृतिक घटना हो चट्याङ। मनसुनमा बाढी पहिरोबाट हुने घटना एकातिर छँदैछ भने अर्कोतिर चट्याङको जोखिम हुने गर्छ। चट्याङले न मानव भन्छ न पशुचौपाया। भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुर्‍याइरहेकै छ। विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिन्छ तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पुर्‍याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङको बारेमा भने चासो कमै भएको पाइन्छ।

नेपालमा चट्याङका कारण हरेक वर्ष सय भन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ। मानवीय क्षतिका हिसाबले बाढी, पहिरोभन्दा पनि चट्याङ ठूलो विपद् हो। तर चट्याङबाट भएको क्षतिको विवरण राख्ने र तथ्याङ्क जुटाउने काममा सरकार सुस्त देखिन्छ। धादिङ जिल्लाको सरकारी तथ्याङ्क हेर्ने हो भने त पछिल्लो पाँच वर्षयता १ जनाको मात्रै मृत्यु भएको छ। ५ जना घाइते र ६ घरमा क्षति पुगेको अधुरो तथ्याङ्क छ। तर स्थानीयस्तरमै पुग्ने हो भने चट्याङले एउटै वडामा ५ जनासम्मको ज्यान लिएको छ।

२०७७ साल वैशाख ८ गते चट्याङ लागेर थाक्रे–३ मल्दुङका २ जनाले एकैदिन ज्यान गुमाउनु पर्‍यो। २६ वर्षीय सागर अर्याललाई आफ्नै घरभित्र ढाल्यो। उनकै छिमेकी सानोमान तामाङलाई कुखुराको फार्ममा काम गर्दागर्दै चट्याङकै कारण विद्युत्मा आएको हाइभोल्टेजले ढलायो। अन्य सात जना घाइते भए। विद्युत् ट्रान्समिटरमा चट्याङ परेपछि त्यसैको झड्काले मानवीय क्षति भएको वडाध्यक्ष अमित घले बताउँछन्।

पछिल्लो समय नीलकण्ठ नगरपालिकामा चट्याङ लागेर ३ जनाले ज्यान गुमाए। नीलकण्ठ– ११ भोर्लेका सुशील गुरुङ, नीलकण्ठ– ४ रिजालथोकमा एक महिला, नीलकण्ठ–७ मस्र्याङछापमा एक पुरुषको चट्याङकै कारण ज्यान गयो। ‘मस्र्याङछापमा परेको चट्याङले त पूरा बस्तीमै असर ग¥यो’ घटना प्रत्यक्ष देखेका हरिशंकर गिदेल मगर भन्छन्, ‘चट्याङ परेको ठाउँमा रुखदेखि घरसम्म नै कुलो खनिएजस्तो बनेको थियो, आसपासका अधिकांश घरका विद्युतीय उपकरण बिगारेको थियो।’ स्थानीयका अनुसार हरेक वर्ष थुप्रै मानिस चट्याङकै कारण घाइते हुने गरेका छन्।

गत चार वर्षयता दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ को राहुलडाँडा, घैराङ, भैंसे, चिसापानीमा मात्रै ५ जनाले ज्यान गुमाए। जिल्लाका धेरै ठाउँमा चट्याङका कारण हरेक वर्ष मानिसमात्र नभई पशुचौपाया मरेका छन्। २०७६ सालमा उत्तरी धादिङमा पर्ने खनियावास–२ झार्लाङका रामसिंह तामाङ, सत्यदेवीका पूर्ण तामाङ र रुविभ्याली–३ सेर्तुङका सरोज तामाङको पनि चट्याङले ज्यानै लियो। स्थानीय जानकारहरुका अनुसार ज्यान लिने गरी परेको हरेक चट्याङले ३ देखि ७ जनासम्म घाइते भएका छन्। तर यी घटनाको आधिकारिक तथ्यांक जिल्लाका कुनै निकायसँग छैन।

धादिङको नीलकण्ठ नगरपालिकाबाट प्रसारण हुँदै आएको रेडियो धादिङ यसको ताजा उदाहरण हो। असोज पहिलो साताअघि मात्रैको चट्याङले एक लाख मूल्य बराबरको सामग्री क्षति व्यहोर्नुपर्‍यो। सामग्रीको क्षति त छँदै थियो, प्रसारण नै रोकिँदा नागरिक सूचनाबाट वञ्चित भए, यसलाई कुनै मूल्यमा रुपान्तरण गर्नै सकिन्न। यसअघि पनि चट्याङ्कै कारण पटकपटक ठूलठूला क्षति व्यहोर्नु परेको स्टेशन म्यानेजर राजाराम शर्माले बताए। ‘कहिले कम्प्युटर नै जलाइदिन्छ त कहिले एन्टेनामै क्षति पुग्छ’, शर्माले भने, ‘१४ वर्षको प्रसारण अवधिमा झण्डै २० लाख रुपैयाँभन्दा बढीको धनमाल चट्याङले खायो।’

नीलकण्ठ नगरपालिका ६, भैरबी डाँडामा रहेको टावरमा चट्याङ लाग्दा कहिलेकाही त दुई सातासम्म रेडियोको प्रसारण अवरुद्ध हुन्छ। चट्याङबाट सामग्री जोगाउनकै लागि जानीनजानी ८ लाख खर्च भइसक्यो तर रेडियोको प्रसारण सामग्री जोगाउन सकेको छैन। रेडियो धादिङको सँगै टावर राखेर चलिरहेका रेडियो बिहानी, नीलकण्ठ एफएमसहित जिल्लाबाट प्रसारण हुने अन्य रेडियोले पनि उत्तिकै क्षति व्यहोर्नु परेको छ। जब गड्याङगुडुङ सुरु हुन्छ, तब चट्याङबाट जोगाउन रेडियो बन्द गर्ने की चलाउने दोधारमा पर्ने गरेको बताए।

पहिलो कुरा त आममानिसले चट्याङ बुझेकै छैनन्। गाउँस्तरसम्मकालाई जागरुक गराउने योजना तथा कार्यक्रम पनि सरकारसँग छैन। जनमानसमा चट्याङप्रतिको अन्धविश्वास र भ्रमले चट्याङका कारण भएका क्षतिको विवरणसमेत राख्ने परिपाटी विकास भइनसकेको चट्याङविद् डा. मदन सिग्देलले बताए। ‘गाउँमा चट्याङ लागेर मानवीय क्षति भयो, पशुचौपाया मर्‍यो वा अन्य क्षति भए पनि प्रहरी वा स्थानीय सरकारलाई खबर गर्ने बानी परेकै छैन’ सिग्देलले भने, ‘नीति तथा योजना निर्माण तहमा समेत ‘‘चट्याङ भनेको दैवीशक्ति हो, यसलाई कसैले रोक्न छेक्न सक्दैन’ भन्ने अन्धविश्वास कायमै रहँदा क्षतिको वास्तविक तथ्यांक भेटिँदैन।’

चट्याङकै कारण मानिसको मृत्यु भयो भन्ने सूचना प्रहरी वा प्रशासनसम्म पुगे पनि अभिलेखीकरण भएको पाइँदैन। चट्याङबाट भएका मानवीय क्षतिको एकाद घटनामात्रै सरकारी तथ्यांकमा भेटिन्छ। अधिकांश घटनामै सीमित छन्। घटना भए पनि प्रहरीकोमा खबर नहाउने गरेको जिल्ला प्रहरी धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए। ‘बाढी, पहिरो, दुर्घटना लगायतका प्राकृतिक प्रकोपका घटनाको तुरुन्त हामीलाई खबर आउने गर्छ तर चट्याङको कमै आउँछ’, भण्डारीले भने, ‘मान्छे मर्छ, दाहसंस्कार गरिहाल्छन्, प्रहरीकोमा आउँदैन।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ वर्षाको बेला हुने अन्य विपद्भन्दा ठूलो हो। विशेषगरी वर्षाका बेला चट्याङ धेरै पर्ने गरेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले हरेक दिन आह्वान गर्दै आएको छ। तर सबैभन्दा जोखिम मानिएको चट्याङको विषयमा कसैको चासो पुगेको छैन। नीलकण्ठ नगरपालिकाले नीति नै ल्याएर चट्याङ प्रतिरोधी प्रविधि अपनाउनेतर्फ लागेको छ। ट्रायलको रुपमा यो वर्ष नगरभित्रका ७ वटा भवनमा चट्याङ प्रतिरोधी प्रविधि जडान गर्ने काम भइरहेको छ।

युएसआईडीको तयार नेपाल परियोजनाको सहयोगमा वडा नं. ५ खाल्टेका २ वटा विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र वडा नं. ३ को नीलकण्ठ क्याम्पस भवनमा यो प्रविधि जडान गर्न लागेको हो। परियोजनाका अनुसार यो प्रविधि जडान गर्न एउटा भवनमा ३ लाख लागत लाग्नेछ। गुणस्तरीय प्रविधि जडान गरेको भवनको २ सय मिटर आसपासका भवनलाई समेत सुरक्षित हुनेछन्। निजी घरहरुमा सामान्य खालको अर्थिङ जडान गर्दा अनुमानित ५० हजार रुपैयाँमा चट्याङ प्रतिरोधी बनाउन सकिनेछ।  

घर बनाउनुअघि नक्सापास गर्नैपर्ने मापदण्ड बनाएजस्तै अब बन्ने सबै घर चट्याङ प्रतिरोधी बनाउने योजना ल्याएको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढ्ंगानाले बताए। ‘यसलाई हामीले ट्रायलको रुपमा लिएका छौं,’ ढुंगानाले भने, ‘आगामी वर्षदेखि भवन बनाउँदा नै चट्याङ प्रतिरोधी बनाउने नीति बनाएर अघि बढ्दैछौं।’ स्थानीयस्तरमा बन्ने घर तथा भवनमा यो प्रविधि जडान गर्न विज्ञहरुको सल्लाहअनुसार अघि बढ्ने मेयर ढुंगानाले बताए।

प्रकाशित: १५ पुस २०७८ ०६:०८ बिहीबार

डर लाग्दो प्राकृतिक प्रकोप चट्याङ चासो कम