समाज

हिमपातले जनजीवनमा प्रतिकूल प्रभाव

हिमाली तथा उच्च पहाडी क्षेत्रमा बुधबार बिहानदेखि परेको अविरल झरी र बाक्लो हिमपातले जनजीवन प्रभावित बनेको छ। वाग्मती प्रदेशअन्तर्गत धादिङ, रसुवा, मकवानपुरका बस्ती मा बाक्लो हिमपात भएको छ। 

धादिङको उत्तरी क्षेत्रका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङका माथिल्लो भेगमा हिउँ परेको तिप्लिङकी स्थानीय समाया तामाङले बताइन्। ‘मंगलबारदेखि नै गाउँमा घाम देखिएको थिएन, डाडाँमा सबैतिर हिउँ परेको छ,’ तामाङले भनिन्, ‘आज त सिमसिम पानी पनि परिरहेको छ, हिउँ बस्तीसम्म नै आइपुगेको छ।’

एक्कासि बस्तीसम्म नै हिउँ परेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौंरी, गाईगोरुको पनि बिचल्ली भएको छ। स्थानीयलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ। पानीका कारण करेसा बारीमा लगाएर सागपात नष्ट भएको छ। केही वर्षयता बस्तीमा हिउँ नपरेको भए पनि यस पटक सुरुवातमै बस्तीमा हिउँ आइपुगेको स्थनीयले बताएका छन्। 

असिना र पानी फेरि दोहोरियो भने र हिमपात बढ्यो भने चिसोका कारण कठ्याग्रिएर थप समस्या आउन सक्नेछ। हिमपात सुरु भएको बस्तीहरूमा पुग्न सदरमुकाम धादिङबेसीबाट ३ तीन दिन पैदल हिँड्नु पर्छ। उत्तरी क्षेत्रको वर्षा र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ।

उत्तरीमा हिमपात र दक्षिणी महाभारत लेक क्षेत्रमा अत्यधिक चिसो बढेका कारण उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्कालीन अवस्थाबाट स्थानीय बासिन्दा तथा तिनका पशुपन्छी, जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका स्रोतसाधनको उद्धार तथा संरक्षण गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेको छ। बाक्लो हिमपात र प्रतिकूल मौसमका कारण अधिकांश क्षेत्रका विद्यालय बन्द गरिएको छ। 

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै धादिङको रुविभ्याली गाउँपालिकाको शिक्षा शाखाले आफ्नो पालिकाभित्रका सबै विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गरेको छ। त्यस्तै रसुवाको क्यान्जिन उपत्यका, लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ, चिलिमे, गोसाइँकुण्ड तथा यस पदमार्गको चोलाङ पाटीलगायत ठाउँमा पनि बाक्लो हिमपात भएको छ। गत्लाङ आसपासमा करिब १ फिट हिउँ जमेको स्थानीयले बताएका छन्। गोठबाट गाईवस्तु घरतिर ल्याउने तथा गोठमा घाँस पुर्‍याउने काम गरिरहेका छन्।

यता मकवानपुरको दामन, सिमभन्ज्याङ लगायत ठाउँमा पनि बाक्लो हिमपात भएको छ। मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा–काठमाडाैं जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय पालुङका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको छ।

विपन्नलाई समस्या

बुधबार बिहानदेखि पानी परेसँगै रौतहटमा जाडो ह्वात्तै बढेको छ। मुसलधारे पानी नपरे पनि दिनभर सिमसिम पानी परेर जाडो निकै बढेको हो। मध्य पुसमा परेको पानीले बालीनालीलाई राम्रो गरे पनि विपन्न समुदाय, दलितबस्ती र ज्येष्ठ नागरिकलाई भने समस्या भएको छ।  

जाडोबाट बच्ने कपडा धेरै नभएका तथा शरीरलाई न्यायो चाहिरहने समस्या भएका बिरामीलाई भने पानी परेपछि ह्वात्तै बढेको जाडोले समस्या पारेको पाइएको छ। दिनभरि अलिकति पनि घाम नलागेको र सिमसिम पानी परेसँगै हावा पनि चलेकाले जाडोले जनजीवन पूरै प्रभावित भएको हो।

बुधबार यस वर्षको सबैभन्दा बढी जाडो अनुभव गरिएको चन्द्रपुरका रोहित जयसवालले बताए। सिमसिम पानीसँगै हावा पनि चलेकाले बुधबार सबैभन्दा बढी जाडो अनुभव गरिएको जयसवालको भनाइ छ। जाडोले दलितबस्तीमा केही बढी समस्या देखिएको छ। सरकारले घर बनाउन बाँकी रहेको, घर बनाउँदा बनाउँदै अधुरो रहेको तथा घर बनाए पनि अन्य व्यवस्थापन हुन नसकेको दलित बस्तीमा केही समस्या देखिएको छ। रौतहटको गढीमाई नगरपालिका–२ हथिऔल टोलको दलित बस्तीमा जाडोले समस्या भएको पाइएको छ।  

जाडोमा काम्दै बालबालिका घरभित्र लुकेर बस्न बाध्य भएको एक स्थानीयले बताए। पर्याप्त कपडा नहुँदा र अन्य साधन नहुँदा बालबालिका घरबाहिर निस्किन नपाएका र घरभित्र जाडोले कठांग्रिएर बस्नु परेको उनको भनाइ छ। जिल्लाका अन्य दलित र विपन्न समुदायलाई जाडोले समस्यामा पारेकाले सम्बन्धित निकाय सक्रिय हुनुपर्ने माग बढेको छ।

प्रकाशित: १५ पुस २०७८ ०५:३१ बिहीबार