समाज

शहरी क्षेत्रको बाँदर व्यवस्थापनमा कस्को जिम्मेवारी?

काठमाडौं उपत्यका भित्रका बिभिन्न धार्मिक स्थलहरुमा बाँदरको जमात देखिन्छन्। स्वास्थ्य परीक्षण समेत नगरिएका यस्ता बाँदरहरुको व्यवस्थापन कुन निकायले गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दै आएको भएता पनि निकुञ्ज बाहिरका वन्यजन्तुहरुको संरक्षणको काम डिभिजन वन कार्यालयले गर्दै आएको छ। तर यसको समग्र व्यवस्थापन कुन निकायले गर्ने भन्ने सम्बन्धमा न त कुनै कानुनी व्यवस्था रहेको छ, न त कुनै निकायले नै यस विषयमा ध्यान दिएको देखिन्छ।  

डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्री कार्कीका अनुसार कार्यालयले उपत्यका भित्र रहेका बिभिन्न धार्मिक स्थल तथा वन क्षेत्रका बाँदरहरुको उद्धार गर्ने, घाइते भएमा उपचार गर्ने लगायतका कामहरु गर्दै आएको छ। तर यसको समग्र व्यवस्थापनको जिम्मा कुन निकायले गर्ने भन्ने सम्बन्धमा हालसम्म कुनै कानुनी प्रबन्ध नभएको प्रमुख कार्कीको भनाइ छ। ‘हामीले धार्मिक स्थलका बाँदरहरुलाई चोटपटक लाग्यो भने, कतै फसे भने, उनीहरुको उद्धार र उपचार गर्छौ, तर उनीहरुको आहार तथा नियमित स्वास्थ परीक्षणको जिम्मा भने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन’, उनले भने।

विश्व सम्पदा सूचीमा सूचीकृत रहेको स्वयम्भूनाथ, जसलाई ‘मङकी टेम्पल’ भनेर समेत सम्बोधन गरिन्छ। स्वयम्भूनाथ परिसरमा मात्र करिब ५ हजारको हाराहारीमा बाँदरहरु रहेको अनुमान गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं १५ भित्र पर्ने यस स्थानमा रहेका बाँदरहरुको संरक्षणको काम वडा कार्यालय आफैले गर्दै आएको र दाताहरुको सहयोगमा दैनिक रुपमा खाना खुवाउने गरेको वडाले जनाएको छ। ‘यहाँ रहेका बाँदरहरुले स्थानीय तथा पर्यटकहरुलाई आक्रमण गरेको घटना बढ्न थालेपछि स्वयम्भूको जंगल भित्र बिभिन्न स्थानमा तारबार लगाई ठूला पिंजडाहरु निर्माण गरि बाँदर व्यवस्थापन गर्ने योजना बनाएका छौं,’ वडाध्यक्ष ईश्वरमान डंगोलले सुनाए। त्यसको लागि प्रारम्भिक अध्ययन भईरहेको उनले बताए।

स्वयम्भूनाथ परिसरपछि काठमाडौंमा धेरै बाँदरहरुको संख्या रहेको धार्मिक स्थल पाशुपत क्षेत्र हो। पाशुपति क्षेत्र विकास कोषका अनुसार पाशुपत क्षेत्रमा रहेका श्लेष्मान्तक जङ्गल, गुहेश्रवरी र भण्डारखालमा गरी करिब ४ हजार ५ सय बाँदरहरु रहेका छन्। कोषको नीति अनुसार दाता परिचालन गरि यि बाँदरहरुलाई दैनिक रुपमा खाना खुवाउने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तर बाँदरहरुको सुरक्षाको लागि आहार मात्र नभइ आवासको पनि आवश्यकता रहेकाले त्यसको व्यवस्थापन भने गर्न नसकिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको भनाई रहेको छ। ‘पाशुपत क्षेत्रमा रहेका जंगल उजाड बन्दै गएको छ, वनजंगलको घनापन कम हुदैं गएकाले बाँदरहरुको वासस्थान कमजोर हुँदै गएको छ। यसको पुर्ति हामीले गर्न सकेका छैनौ। श्लेष्मान्तक जङ्गल, गुहेश्रवरी र भण्डारखाल जंगलको घनापन बढाउने हामीले योजना अगाडि बढाएका छौं।’ उनको भनाई थियो।  

काठमाडौं उपत्यकामा पशुपति, थापाथली, स्वयम्भूनाथ र बालाजु बाइसधारा क्षेत्रमा ठूलो संख्यामा बाँदर छन्। वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्ध स्तूपा, पाटन दरबार क्षेत्र लगायतका मठमन्दिर तथा सार्वजनिक क्षेत्रमा पनि बाँदरहरु छन्। यस्ता धार्मिक स्थलहरुमा ठूलो संख्यामा कुकुर र गाईवस्तु समेत छन्। तर, उपत्यकामा यस्ता छाडा तथा सामुदायिक पशुपंक्षीको संख्या कति छन् भन्ने विषयमा कुनै निकायसंग आधिकारिक तथ्यांक छैन।  

यस्ता क्षेत्रमा रहेका बाँदरहरुमा एचआइभी एड्स, क्यान्सर र रेबिज रोगको संक्रमण रहेको बेला बेलामा चर्चा हुने गरेको भएपनि हालसम्म यस विषयमा कुनै अध्ययन भएको भने पाईँदैन। मन्दिरमा आउने भक्तजनहरु बाँदरबाट आक्रमणमा पर्ने गरेको देखिएपनि रोग संक्रमणका विषयमा पशुअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले समेत ध्यान दिएको देखिँदैन। पशुपति क्षेत्र विकास कोषले त झन् बाँदरहरुको स्वास्थ्य परिक्षण नै नगरि सो क्षेत्रका बाँदरहरु निरोगी रहेको दावी गरेको छ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेर बहादुर पुनका अनुसार कुनै पनि बाँदरले टोक्यो वा चिथ¥यो भने पीडित व्यक्तिले तुरुन्तै रेविज विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ। बाँदरले टोक्यो वा चिथ¥यो भने कुनै पनि उपचार नै छैन भन्ने आम बुझाईलाई प्रस्ट पार्दै डा. पुनले भने,‘नेपालमा हालसम्म बाँदरकै कारणले रेबिज रोग लागेको वा अन्य कुनै संक्रामक रोग मानिसमा सरेको आधिकारीक पुष्टि भने भएको छैन। यद्दिपि मानिसहरु सचेत भने हुनुपर्छ। ’

शहरी क्षेत्रमा मात्र नभई बिभिन्न ग्रामिण भेगमा समेत बाँदरले आक्रमण गरेको घटना बढ्दो क्रममा छ।  परम्परागत वासस्थानको बिनास, आहारको अभाव र मानवीय क्रियाकलापका कारण बाँदर आक्रामक बन्दै गएको आशंका गर्न थालिएको छ ।

नेपालमा हरेक वर्ष बाँदरको संख्या २५ प्रतिशतले वृद्धि हुदै गएको बिभिन्न अध्ययनहरुले देखाएको छ। मानिसले दिने तयारी खानाका कारण उमेर नपुग्दै शहरी क्षेत्रका बाँदरको प्रजनन् शक्तिको फरक ढंगले  विकास हुन थालेको बिभिन्न अध्ययनले देखाएको छ। रुखका बोक्रा, पात, जडिबुटी खाने बाँदरले हिजोआज तयारी खानेकुरा खाने गरेका छन्। यस्ता तयारी खानेकुरामा रासायनिक पदार्थ मिसावटका कारण पनि बाँदर मानिसप्रति बढी आक्रामक हुने गरेको राष्ट्रिय कृषि अनुसन्धान परिषद्का निर्देशक डा.स्वयंप्रकाश श्रेष्ठको भनाई रहेको छ ।  

बाँदरलाई वनमान्छे तथा आधुनिक मानव समुदायको पुर्खाको रुपमा चिनिन्छ। बाँदर र मानिसको शारीरिक बनावट मिल्दोजुल्दो भएका कारण विभिन्न औषधि र खोप परीक्षणमा पनि बाँदर निकै उपयोगी मानिँदै आएको अध्ययनले देखाएको छ।  

नेपालमा बाँदरको संरक्षणको लागि प्रयास नभएको भने होईन। बागमति प्रदेश सरकारले बाँदर व्यवस्थापन विषेश कार्यक्रम कार्यबिधि २०७६ निर्माण गरी कार्यान्वयन गरिरहेको छ। अन्नबालीमा बाँदरले पु¥याएको क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले यो कार्यबिधि निर्माण भएपनि शहरी क्षेत्रका बाँदरहरुको व्यवस्थापनको लागि भने कुनै किसिमको कानुन निर्माण गरीएको छैन। मावनजीवनसँग प्रत्यक्ष जोडिएको बाँदरको स्वास्थ्य, आवास तथा उचित स्याहारका विषयमा पनि सरोकारवाला निकायले ध्यान दिनु जरुरी देखिन्छ।

प्रकाशित: ४ पुस २०७८ १४:३९ आइतबार