समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मोरङको बेलबारी नगरपालिका–८ मा शुक्रबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ५ प ५९५९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–८ का २९ वर्षीय डम्बर थापाको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्। घाइतेको नोबेलमै उपचार भइरहेको छ। दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टरका चालक मोरङको रङ्गेली नगरपालिका–१ का २९ वर्षीय कमलेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २५ मंसिर २०७८ १२:३८ शनिबार

मोटरसाइकल