समाज

भूकम्प र अधिक वर्षाले छ गुणाले पहिरो बढ्यो

फाइल तस्बिर

भूकम्प र अधिक वर्षाका कारण वर्षायाममा नेपालमा पहिरो जाने क्रम छ गुणाले बढेको एक अध्ययनले देखाएको छ। 

साइन्टिफिक जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित तथा सन् १९८८ देखि २०१८ सम्मका पहिरो र वर्षाको आधारभूत चरित्रको समीक्षात्मक अध्ययन अमेरिकाका युनिभर्सिटी अफ इष्ट एन्जलिया, युनिभर्सिटी अफ प्लाईमाउथ,युनिभर्सिटी अफ एक्सेटर र इन्टरनेसनल इन्जिनियरिङ फर्म (एइसिओएम)का अनुसन्धानकर्ताले गरेका हुन्।

भूउपग्रहमार्फत संकलित डाटा(सेटेलाइट इमेजरी) र वर्षाको तथ्यांकको आधारमा गरिएको उक्त अध्ययनको क्रममा वर्षायाममाबाहेक अन्य समयमा पनि पहिरोका घटना किन भए भन्नेबारे अध्ययन गरिएको थियो।

यसैगरी, अप्रिल २०१५मा नेपालमा आएको महाभूकम्पले वर्षायाममा छ गुणा बढी पहिरो गएको अध्ययनले देखाएको छ। अध्ययनले उक्त भूकम्पपश्चात सबैभन्दा धेरै क्षति भूकम्पको इपिसेन्टरमा नभई वरपरका अन्य भिराला पहाडमा अत्यधिक भएको पनि देखाएको छ।

अध्ययनको प्रमुख लेखक तथा अध्येता जोस जोन्सले अध्ययनको नतिजाले भविष्यमा आउनसक्ने पहिरोको घटनाबाट जोगिन समुदायलाई सहयोग गर्ने बताएका छन्। यसगैरी,अर्का अनुसन्धानकर्ता ताथ युनिभर्सिटी अफ प्लाइमाउथका एसोसियट प्रोफेसर डा. सराह वाउल्टनले क्लाइमेट मोडलले नेपालमा भविष्यमा अत्यधिक वर्षा हुने र आँधीहुरी आउनसक्ने देखिएको बताइन्।

आठ महिना लगाएर पूर्वी तथा मध्य नेपालमा गरिएको उक्त अध्ययनको क्रममा विगत ३० वर्षका भूउपग्रहमा आधारित इमेजको समीक्षा गरिएको प्रमुख लेखक जोन्सले बताए। अध्ययनलाई नेपालमा विगत ३० वर्षमा गएको पहिरोको सबैभन्दा ठूलो इन्भेन्टरी मानिएको छ।

अध्ययनअन्तर्गत भविष्यमा पहिरोको जोखिममा रहेका स्थानको भौगोलिक पहिचान तथा भारी वर्षा तथा भूकम्पपश्चात बढ्नसक्ने जोखिमको लेखाजोखा गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७८ ०२:५० शुक्रबार

भूकम्प र अधिक वर्षा भूउपग्रहमार्फत संकलित डाटा