समाज

पत्रकार डेकेन्द्र हत्या प्रकरण : ३ जना हत्या आरोपित पक्रन उदासिनता

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा जिल्ला अदालत दैलेखबाट मुलुकी ऐन अ.ब. १९० नम्वर बमोजिम मुल्तबीमा राखिएका ३ जना हत्या मुख्य आरोपितहरु पक्रन दैलेख प्रहरीले उदासिनता देखाएको छ। अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरी मुल्तबीमा राखीएको हो।  

प्रहरीलाई फरार रहेका मुख्य आरोपित ३ जनाको बारेमा सूचना आएपनि पक्राउ गर्न चासो नदिएको आरोप पीडितका आफन्तले गरेका छन्। फरार रहेका मुख्य आरोपितमा बमबहादुर खड्का (मुक्ति), केशव खड्का र भक्तिराम लामिछाने रहेका छन्। उनीहरु जिल्लामै रहेको सुचना प्रहरीलाई पीडित परिवारले दिएपनि पक्राउ हुन नसकेको स्वर्गीय पत्रकार थापाका भाइ यज्ञराज थापाले बताए।

पटकपटक मुख्य हत्या आरोपितका बारेमा खवर दिदाँ समेत प्रहरी सुनेको नसुने झै गर्ने गरेको गुनासो थापाले गरे। ०६९ पौष २० गते ५ जना आरोपीलाई पहिलो पटक दैलेख प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसयता जिल्ला अदालत दैलेखले पक्राउ गरेका प्रतिवादीहरु बीरबहादुर केसी र लक्षीराम घर्तीको कैद भुक्तान भैसकेकाले कैद मुक्त गर्न र निरक घर्तीमगर १ महिना, हरिलाल पुन, जयबहादुर शाहीलाई बाकी कैद भुक्तानका लागि ४ महिना २९ दिन कैद असूल गराउन तत्कालिन जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठले फैसला सुनाएका थिए।

फरार ४ जना बमबहादुर खड्का मुक्ति, बमबहादुर खड्का अरुण, केशव खड्का र भक्तिराम लामिछानेका हकमा मुलुकी ऐन अ.ब. १९० नम्बर बमोजिम मुल्तबीमा राखिएको थियो। दुई वर्षअघि फरार रहेको मुख्य आरोपितमध्ये अरुण भनिने बमबहादुर खड्कालाई कैलालीबाट प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि दैलेख कारागार चलान गरेको छ।

तत्कालिन सशस्त्र माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते नौमुले गाउँपालिका तत्कालिन द्धारी गाविस १ मा हत्या गरी पत्रकार थापाको ४ वर्षसम्म शव लुकाएका थिए। घटनाको चार वर्षपछि परिवारले दाहसंस्कार गरेको थियो। दैलेख प्रहरीले सुचना आएपनि मुद्दाको बारेमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ १४:१३ मंगलबार

पत्रकार डेकेन्द्रराज थापा