बझाङ थलहरा गाउँपालिका ४ डिक्ला सितलका गगने सार्कीले परिवारको जिविकोपार्जनका लागि आफ्नो युवा उमेरदेखि भारतमा मजदुरी गरे। ५७ वर्ष टेकेका उनलाई भारतमा मजदुरी गर्न लागेको तीस दशकभन्दा बढी भैसकेको छ। परिवारलाई पाल्न उब्जनी हुने आफ्नो जमिन नभएकाले उनी २२ वर्षको उमेरमा मुग्लान पसे। उनले भारतका बिभिन्न ठाउँमा कठिन काम गरेर कमाएको पैसाले घर, जमिन जोडे।
ठूलो परिवार पुरानो घरमा बस्न नपुग्ने भएपछि ८ वर्ष पहिले मात्र उनले नयाँ घर बनाए। उनका ५ छोरा, बुहारी, नातीनतिना लोभलाग्दो परिवार थियो। गत पुस महिनामा उनी घरबाट रोजगारीका लागि भारतको आन्द्रा प्रदेशको मठ्कासेरामा गएका थिए। त्यहाँ उनी चौकीदारी गर्थे। दशैँमा उनी घर आउन पाएनन्। दशैँका दिन फोन गरेर उनले पत्नी, छोरा बुहारी, नातीनतिना सबै सँग कुरा गरे। फोनबाटै आशिर्वाद दिए।
‘मैले आधा घण्टाभन्दा बढी फोनमा सबै सँग कुरा गरेँ, घर परिवारको सबै खवर राम्रै छ भनेका थिएँ’, उनी अन्तिम पटक पत्नीसहित छोरा, बुहारी, नातीनतिनासँग कुरा गरेको सम्झेर भक्कानिए। बिसु पर्व(नयाँ वर्ष)मा घर आउने उनले परिवारसँग बताएका थिए। तर वृद्ध उमेरतिर ढल्किरहेका गगनेलाई नियतीले केही सोच्नै नसक्ने गरि बज्रपात पारिदिएको छ।
कलिलो उमेरदेखि पूरै जिवन भरि अर्काको देशमा पसिना बगाएर दुःख गरेर हुर्काएको परिवार, जोडेको घर र जग्गा केही बाँकी रहेन। आइतबार घर फर्किँदा न त्यो लोभलाग्दो परिवार थियो। न त घर र जग्गा नै। ‘न परिवार रह्यो, घर र जग्गाको नाम निशानी नै छैन’, गगनेले पीडा सुनाए, ‘अब म कसरी बाँचु?’
ठूलो परिवार भएकाले उनले अधिया जमिन पनि बनाएका थिए। ३ लाख रुपैयाँको जमिन मातेमा(पैसा फिर्ता नलिएसम्मका लागि) लिएर पनि उनले खेती गरेका थिए। त्यो सबै जग्गा पहिरोमा बिलाएको छ। ‘मलाई त खुट्टा टेक्ने ठाउँ पनि बाँकी रहेन’, गला अवरुद्ध पार्दै दबिएको आवाजमा उनले भने। उनले बुहारीको कानमा ४ तोला बराबरको सुन पनि बनाएका थिए। भारतको मठ्कासेरामा रहेका उनका गाउँका अन्य व्यक्तिले पहिरोले घर र परिवार बगाएको कात्तिक २ गते नै थाह पाएपनि उनलाई अलि पछि बताएका थिए। कात्तिक २ गते बिहान ५ बजेतिर आएको पहिराेले घर बगाउँदा उनको परिवारका पत्नीसहित १८ जना बेपत्ता भएका थिए।
सिता सार्की, शुभास सार्की र विकास सार्कीको शव फेला परेपनि १५ जना अझै फेला पर्न सकेको छैन। गगनेको २६ जनाको परिवारमा उनीसहित ६ जना सकुशल रहेका छन्। उनका तीन छोरा, एक बुहारी र एक नतिनी सकुशल छन्।
उनको ५ छोरा मध्य जेठा छोरा काले सार्की बिहान पहिरो आउने समय घर बाहिर निस्केकाले भागेर बाँच्न सफल भएका थिए। साहिलो छोरा सुरे सार्की उनी सँगै भारतमै मजदुरी गर्ने गर्थे। कान्छो छोरा राम सार्की र बुहारी त्यस दिन माईत गएका थिए। उनीहरु सँगै कालेको २ वर्षीया छोरी सरिता पनि गएकी थिइन्।
ओत लाग्ने एक झुप्रो बनाईदिए हुन्थ्यो भन्ने उनले आश गरेका छन्। ‘सरकारले मलाई ओत लाग्ने एक झुप्रो बनाईदिए हुन्थ्यो, बाँचेकाहरुलाई कहाँ लगेर राखु?’, उनले भने।
सरकारले खोजी कार्य बन्द गरेपछि पीडित निराश
पहिरोले घर बगाएर बेपत्ता भएका २३ जना मध्य दुई परिवारका १९ जना अझै भेट्टिएका छैनन्। सरकारले बेपत्ता भएकाको खोजी कार्य बन्द गरेको छ। सरकारले खोजी बन्द गरेकोमा आफन्त गुमाएका पीडित निराश बनेका छन्। ‘सरकारले पहिरोमा परेकाहरुको खोजी बन्द गरिदिएको छ। खोजी गरेर जुन अवस्थामा देख्न पाएपनि हुन्थ्यो’, जयबहादुर पार्कीले भने, ‘शरीरको कुनै अंग मात्रै भएपनि देख्न पाएमा हाम्रो चित्त बुझ्थ्यो।’
घरपरिवार पहिरोमा पुरिएकाको खोजी गर्न सरकार गम्भिर नभएकोले पीडितहरु चिन्तित छन्। खोजीका लागि आवश्यक जनशक्ति,उपकरण, साधनश्रोत प्रयोग नगरेकाले खोजी गर्न समस्या भएको बुझिएको छ।
‘परिवारका १५ जना अझै फेला परेका छैनन्, सरकारले खोज्न छोडिसक्यो, पत्नी, छोराछोरी, आमा, दाजु भाउजुको शव पनि देख्न नपाउने कुराले अझ बढी पीडा थपेको छ’, गगने सँगै भारतबाट घर फर्केका उनका छोरा शुरे सार्कीले भने।
बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले पहिराेले बगाएर नाम निशाना नै नरहेको कारण खोजी गर्न सम्भव नभएकाले खोजी कार्य बन्द गरिएको बताए। भेट्टिएका पनि ४, ५ किलोमिटरको दूरीमा एक हात, एक खुट्टा मिलेको उनले बताए। पहिरोले गगनेका परिवारका १८ र नरबहादुर पार्कीका ५ जना बेपत्ता भएकोमा ४ जनाको मात्र शव मिलेको छ।
प्रकाशित: १५ कार्तिक २०७८ ११:३३ सोमबार