समाज

छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन

घरमा सुतिरहेकी एक महिला छोराछोरीकै अगाडी बलात्कृत भएकी छन्। गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।  

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको जायरीमा मदिरामा लठ्ठ भएका स्थानीय यूवा हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले आर्थिक प्रलोभन र विभिन्न धम्की देखाएर जबरजस्ती गरेका थिए। ‘छोराछोरीलाई कुटपिट गरे योजनाबद्ध तरिकाले आएका रहेछन् एकपछि अर्को गदैं मलाई बलात्कार गरे’ पीडित महिलाले भनिन्। 

श्रीमान विदेशमा भएको मौका छोपी विगतमा समेत मदिरा सेवन गरी शरीरमा छुन खोज्ने पैसाको प्रलोभन देखाउने गरेको उनले बताईन्। ‘मेरो श्रीमान विदेश भएकाले उनीहरूले मौका छोपे पैसाको प्रलोभन देखाइरहेका छन्' उनले भनिन्। बलात्कारमा संलग्न तीनै जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका छन्।

घटनाको दुई दिनसम्म महिलालाई पीडकका आफन्तले अघोषितरुपमा गाउँबाट बेनीसम्म आउन समेत नदिएको बताइएको छ। घटनाको पर्सिपल्ट कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि फरार आरोपितको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘घटनाको अनुसन्धान अगाडी बढिसक्यो अब आर्थिकसहितको प्रलोभनले मुद्दा कमजोर हुदैन्’ प्रनाउ राईले भने। उनले बलात्कार जस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत बताए।  

तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटोसहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत प्रनाउ राईले बताए। पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ ।  

आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता वितिसक्दा पनि सरकारी निकायबाट न्याय पाएकी छैनन्। पीडित महिलाले न्याय नपाई गाउँ फर्केर जान सक्ने अवस्था नरहेको बताएकी छन्। पीडित महिलालाई प्रलोभनमा पारी वा डराई धम्क्याई गरी घटनालाई तोडमोड गर्ने चिनजान छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ। बलात्कार निकृष्ट अपराधलाई पनि सामाजिक प्रतिष्ठा र दबाबका नाममा अभियुक्तहरूलाई सजायको कठघरामा ल्याउन कानुनी प्रक्रिया चाल्नेतिर नभई मिलापत्रमै टुंग्याउन दबाब दिइरहेको अवस्थामा दलित र महिला अधिकारकर्मीले समेत दबाबमुलक कार्यक्रममा खासै चासो दिएका छैनन्।  

मुद्दा मिलाउन आर्थिक चलखेल

बलात्कार गर्नेमाथि प्रहरीमा जायरी दर्ता भएपछि मुद्दा मिलाउन चलखेल सुरु भएको छ । सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास समेत भएको हो। आरोपीका आफन्त, छिमेकी र राजनीतिक दबाबमा मिलापत्र कागजका लागि पटकपटक दबाब दिइएको पिडित पक्षले बताएका छन्। 

बलात्कारको घटना मिलाउन आरोपिका आफन्तले घटना भएकै दिनदेखि लगातार भूमिका खेलेको पाइएको प्रत्यक्षदर्शीको भनाइ छ। बलात्कार घटनाको अनुसन्धान भइरहेकै समयमा आरोपीका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र मुद्दा अदालतसमक्ष पुगेमा बयान समेत फेर्न बारम्बार दबाब दिइरहेका छन्। स्रोतका अनुसार घटनाको पहिलो दिन १० हजार रुपैयाँबाट सुरू भएकोमा अहिले पीडित महिला र उनका आफन्तको हैसियत अनुसार दिन सकिने भन्दै घटनालाई कमजोर बनाउने प्रयास भइरहेको अधिकारकर्मीको भनाई छ।

आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएर बयान दिएकी महिलाको मुद्दा प्रहरीले दर्ता गर्ने सुईको पाएपछि जिल्ला अदालत म्याग्दीमा बकपत्र गर्ने वेला पीडित महिलालाई आफ्नो जायरीको विपक्ष अर्थात आफूविरुद्ध बयान दिने वातावरण बनाउन समेत एक समुह सक्रिय छ। महिलाको बेनी अस्पतालमा भएको भौतिक परीक्षण प्रमाण प्रतिवेदन समेत यौनजन्य गतिविधिलाई बल पुग्ने देखिएकाले अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दवाव दिएपनि जबरजस्ती करणी भएको भनी दिएको जायरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही दोहोराएको प्रमाण, भौतिक परीक्षण प्रतिवेदन, अदालतले बयान र कानुनलाई आधार मानेर फैसला हुने कानुनका जानकारहरु बताउँछन्।

प्रकाशित: १५ कार्तिक २०७८ ०४:२१ सोमबार

महिलाको सामूहिक बलात्कार बयान फेर्न लगातार आर्थिक प्रलोभन