समाज

मदन भण्डारी सडक भत्केको भत्क्यै, कार्यालय नहुँदा मर्मतमा समस्या

पूर्व–पश्चिम लोकमार्गको विकल्पको रुपमा निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को उदयपुर खण्डमा पछिल्लो समय पहिरो जाँदा यातायात आवागमनमा अवरोध भएको छ। निर्माण सम्पन्न नभए पनि एकवर्षदेखि सञ्चालनमा ल्याइसकिएको लोकमार्गको खासगरी गाईघाट–नेपालटार–कटारी खण्डको डेढदर्जन बढी ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा अवरोध आउने गरेको हो।

गाईघाट–नेपालटार–कटारी खण्डका धेरै ठाउँमा सडकमाथिबाट खस्ने पहिरोले आवागमन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन्। खासगरी चुरे पहाडको माटो काटेर सडक खनेको ठाउँमा रोकथाम पर्खाल (रिटेनिङ वाल) नलगाइएकाले पहिरो जाने क्रम भइरहेको छ। सडकमाथिबाट खस्ने पहिरोको ढुंगा माटोले कहिलेकाही पुरै सडक ढाकिदिने गर्दा घण्टौंसम्म सडक अवरुद्ध हुने गरेको गाईघाट–नेपालटार चल्ने गाडी चालक पुस्प कार्कीले बताए।

अर्का चालक सम्मर बिकका अनुसार गाईघाटदेखि ७ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ७ तोरीवारीस्थि झोलुंगे पुलनेरको डाँडामा पहिरो खस्दा १ महिनाअघि ३ दिनसम्म गाडी आउजाउ रोकिएको छ। यातायात व्यवसायीका अनुसार त्रियुगा नदी किनारको अग्लो डाँडो काटेर सडक निकालेको सो ठाउँमा फस्के ढुंगा मिस्रित माटो बारम्बार खस्ने भएकाले सुरुदेखि नै त्यहाँ जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।

अग्लो भीर काटेर खनिएको सडकको झण्डै २५ मिटर खण्ड निकै असुरक्षित रहेको गाईघाट–नेपालटार गर्ने अटो चालक  भिमबहादुर परियारले बताए। दैनिक ५÷६ टिप ओहोरदोहोर गर्ने उनका अनुसार फस्के माटो भएकाले वर्षामा धेरै चोटी त्यहाँ पहिरो गइसकेको छ।

त्यसबाहेक रौतामाईदेखि उदयपुरगढीको नेपालटार मौवासी, खड्कुले हुँदै बगपति र वैजनाथ पुलसम्मको दूरीमा पनि दर्जन बढी ठाउँमा पहिरो खस्ने गरेको छ। त्रियुगा ७, रौतामाई ७ र उदयपुरगढी ७ को संगमस्थल ७७७ चोकदेखि उदयपुरगढी गाउँपालिकाको  ६ को नेपालटार ७ को दनुवारबेँसी, मौवासी खड्कुले हुँदै कटारी नगरपालिका ६ र ७ नं. वडा हुँदै वैजनाथ खोलाको पुलसम्मको खोला किनारको सडकमा पनि उही समस्या रहेको छ। मौवासीस्थित शीरदेखि कटारी ७ को बगपतिसम्म वैजनाथ खोला किनारै किनार निर्माण गरिएको सडकमा धेरै ठाउँमा पहिरो भत्केर सडक पुर्ने गरेको स्थानीय बताउँछन्।

गाईघाटमा रहेको लोकमार्ग रेखदेख गर्ने ‘मदन भण्डारी राजमार्ग कार्यालय’ साउनेदेखि उठेकाले सडक बिग्रे भत्केमा तत्काल मर्मत गर्न समस्या हुँदै आएको व्यवसायीहरु बताउँछन्। ‘पहिले पो अफिस थियो र सडकमा समस्या आयो कि मर्मत गर्न सहज थियो’ उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटका अध्यक्ष ओमभक्त मैनालीले भने ‘साउनदेखि अफिस उठेपछि सडक बिग्रे व्यवसायी आफैले बनाउनु पर्ने भएकाले समस्या परेको छ।’

कार्यालय उठेपछि धेरै पटक बिग्रेको सडक मर्मतमा यातायात व्यवसायी स्वयंले पैसा र श्रम बेहोर्नु परेको अध्यक्ष मैनालीले बताए।

निर्माण सक्नुअघि नै साउनदेखि कार्यालय उठेपछि बेवारिसेजस्तै भएको मदन भण्डारी सडकको रेखदेख कसले गर्ने भन्ने यकिन नभएको कार्यालयका नासु पहलमान खड्काले बताए। सडक निर्माण सक्न बाँकी भएको र बेलाबेला मर्मत गरिराख्नु पर्ने भएकाले रेखदेखको जिम्मा गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरलाई दिने विषयमा छलफल भइरहेको उनले बताए।  

गाईघाट दिक्तेल सडक प्रमुख (डिई) गोपाल खकुरेलले मदन भण्डारी लोकमार्गको रेखदेखको जिम्मा पनि दिने विषयमा मन्त्रालयमा छलफल भईरहेको जानकारी आएको बताए। तर, अहिलेसम्म विभागले आफुलाई काम गर भनेर जिम्मेबारी तोकिएको पत्र भने नपठाईसकेो बताए। मदन भण्डारी लोकमार्गको सुनसरी र उदयपुर सीमा चतारादेखि चौदण्डीगढी सीमासम्मको सडक र पुल दुवैतर्फको काम सकिए पनि चौदण्डीगढी ४ कोबसाहा बदेलपानीदेखि गाईघाट हुँदै कटारी र सीन्धुली सीमासम्मको निर्माण कार्य भने केही बाँकी छ।

सडकतर्फको काम ९० प्रतिशत सकिए पनि पुलतर्फको काम बाँकी रहेको छ। गाईघाट–बसाहा खण्डमा बनाउनुपर्ने ४ वटा पुल सुरु भएकै छैन भने २ वटा निर्माणाधीन छन्। चौदण्डीगढीका लामा खोला र खैराहा खोलामा भर्खर पुल सुरु भएको छ भने सरस्वति र इक्राहा तथा त्रियुगा १३ को असारी खोलामा बनाउने सुरसारै छैन।

त्यस्तै गाईघाट–नेपालटार–कटारी खण्डमा निर्मित १३ वटा पक्की पुल एप्रोच सडकमा कालोपत्रे गर्न बाँकी नै छ। काम सक्नै बाँकी रहेका बेला कार्यालय उठेकाले नियमित निर्माण, अनुगमन तथा सडक बिग्रे भत्केमा तत्काल मर्मत गर्ने काममा अवरोध आएको जिल्ला समन्वय समिति उदयपुरका प्रमख खड् परियारको गुनासो छ। परियारले आयोजना कार्यालय उठे पनि बाँकी कामकाज छिटो गर्न तथा अनुगमन र मर्मतका लागि विभागले तत्कादल गाईघाट दिक्तेल योजना कार्यालयलाई नै भए पनि जिम्मेबारी दिनुपर्ने सुझाएका छन्।

प्रकाशित: १० कार्तिक २०७८ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App