रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्ड र भैरवकुण्डको गहिराई नापिएको छ। करिब चार दिन लगाएर दुवै कुण्डको गहिराइ नापिएको हो। गोसाइँकुण्ड तथा भैरवकुण्डमा यसअघि पनि गहिराइ नापिएको थियो।
जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिने उद्देश्यले पुनः गहिराइ नापिएको हो। यसपटक पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमी मार्फत अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जना (आभास अर्याल, नविन गुरुङ र विधान भण्डारी) को टिमले तालको कुनाकुनामा गएर गहिराइ नापेको छ। डेप्थ साउण्डर मेसिनको प्रयोग गरेर दुईवटा कुण्डको गहिराइ नापिएको अनुसन्धानकर्ता बासुदेव न्यौपानेले बताए।
‘हामीले भर्खरै कुण्डको गहिराइ नाप्ने काम सम्पन्न गरेका छौं’, उनले भने, ‘केही समयपछि यसको नतिजा प्रकाशन गर्छौं।’
‘डेप्थ साउण्डरले लिएको डाटालाई जिआइएसमा राखेर विश्लेषण गर्ने काम बाँकी छ’, उनले भने, ‘विश्लेषणको काम सकिएपछि कति गहिराई छ भनेर भन्न सकिने छ।’ टोलीले दुवै कुण्डमा डुंगा सञ्चालन गरेर गहिराई नापेको थियो। दुईवटा कुण्डको गहिराई नापेको टोलीले अन्य कुण्डको भने जिपिएस लोकेसन लिएको छ।
यस अध्ययनले यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेसन टुरिजमको अवधारणालाई सहयोग पुग्ने उनले बताए।
तालको गहिराइको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नापेको छ। गोसाइँकुण्डको पानीको स्रोतमा त्रिशूलधाराबाट आएको ठाउँ, माथिको तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरपटिको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर नापिएको उनले बताए। गोसाइँकुण्ड र भैरवकुण्डको पानीको क्षारको मात्रा बढी पाइएको छ।
एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्न मान्छेहरू छान्ने गरेको छ। गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन्। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्।
प्रकाशित: ३० आश्विन २०७८ ०७:१४ शनिबार