समाज

जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न

सुशासन र जवाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ। 

बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो। सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो। पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका वेला गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दुःखेसो पोखेका थिए।

राजनीतिक दलका नेता, नागरिक अगुवासमेत नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे। जनप्रतिनिधि र कर्मचारीले भने राम्रा काम पनि भएको भन्दै नगरपालिकाको बचाउ गरेका थिए। स्थानीय युवा छायाँदत्त चापागाईले दर्जन जति प्रश्न नगरपालिकाप्रति तेर्साए। सरकारी बजेट खर्चेर नगरप्रमुखसहितले गरेको जापान भ्रमणको उपलब्धि मागेदेखि सार्वजनिक सवारीमा लिने गरिएको मनपरी भाडादर नियन्त्रण हुन नसकेकोसम्मका विषयमा उनका प्रश्न केन्द्रित थियो।

स्थानीयवासी तिलक थापाले नगरपालिका स्थापना भएपछि एकपटक मात्रै टालटुले हिसाबले बजार अनुगमन भए पनि त्यसपछि अनुगमनले निरन्तरना नपाएको गुनासो पोखे। उनले अनुगमन समितिको सिफारिसबिनै योजनाको भुक्तानीसमेत हुने गरेको सुनाए। राष्ट्रिय जनमोर्चा जैमिनीका सचिव ठाकुरप्रसाद शर्माले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्‍याउन गाउँमा एम्बुलेन्स पठाइदिनुभन्दा पनि नगरपालिकाले सडकस्तरीय नभएको जवाफ दिएको स्मरण गरे। 'बिरामी बोक्ने एम्बुलेन्सका लागि सडक राम्रो बनाउने जिम्मा नगरपालिकाको हो की गाउँका गरिब जनताको ?', उनले प्रश्न गरे। नगरपालिकाका गाडी र डोजरका पार्टस् पोखरामा किनेर अन्तैको बिल हाल्ने गरेको भन्दै शर्माले आक्रोश पोखे।

भ्रष्ट आचारण भएका कर्मचारीका कारण पनि सुशासन कायम हुन नसकेको उनको भनाइ थियो। सिङ्गै नगर क्षेत्रभरि बिछ्याउन पुग्ने गरी पाइप वितरण भए पनि अहिलेसम्म कुनै पनि उपभोक्ताको घरमा सो पाइपबाट मुहानको पानी नपुगेको उनको दाबी छ। पहिलेको व्यवस्थामा बरु सर्वसाधारणले स्वास्थ्यचौकीबाट निःशुल्क सिटामोल पाउने गरेकामा स्थानीय सरकारका रुपमा नगरपालिका आएपछि त्यो सुविधा पनि हटेको शर्माले बताए।

नेकपा (माओवादी केन्द्र) का नेता शोभाप्रसाद शर्माले प्रश्नको लामो सूची नै सार्वजनिक सुनुवाइमा प्रस्तुत गरे। उनले कृषिउपज केन्द्र, महिला भवनलगायत अलपत्र भौतिक संरचना अब के हुन्छन् भनी जिज्ञासा राखे। नगरपालिकाको न्यायिक समिति पनि कर्मकाण्डी मात्र भएको उनको आरोप थियो।नेपाली कांग्रेसका नगर सभापति प्रेमप्रसाद सापकोटाले सार्वजनिक सुनुवाइमा सकारात्मक कामबारे पनि चर्चा हुनुपर्ने धारणा राखे। शून्यबाट उठेको नगरपालिकाले सीमित स्रोत साधनका वाबजुद जनताका पक्षमा काम गरेको उनले उल्लेख गरे।

नगरपालिकाभित्रका गलत प्रवृत्ति र बेथितिका विरुद्ध जनप्रतिनिधि स्वयंले पनि खबरदारी गर्नुपर्ने सापकोटाको भनाइ छ। नेकपा (एमाले) का नेता रुद्र आचार्यले नगरपालिकाले आन्तरिक आय वृद्धिका योजना ल्याउनुपर्ने बताए। उनले नगरपालिकाबाट भए गरेका कतिपय सकारात्मक कामको पनि प्रसार नभएको धारणा राखे।

नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका काम र सेवा प्रवाहबारे जनताको तहबाट उठेका प्रश्न र जिज्ञासालाई आफूले सम्मान गर्ने बताए। उनले विकास र पद्धति सिक्न आफूहरु जापान भ्रमणमा गएको प्रस्टाए। उनले नगरपालिकाको न्यून खर्चमा जापान जाने अवसर आउँदा आफूहरु गएको भन्दै आलोचकलाई पनि एकपटक जापान भ्रमणमा जान सुझाए।

दुई वर्षअघि नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा गएको थियो। उनले नगरको विकास र जनतालाई दिइने सेवा प्रवाहलाई चुस्त बनाउन हरसम्भव कोसिस गरिए पनि स्रोत साधनको सीमितता, भूगोल, प्रकृति, कोभिड–१९ महामारीलगायतले बाधा उत्पन्न गराएको बताए। नगरप्रमुख पौडेलले जनप्रतिनिधिको इच्छाशक्ति कम हुँदा पनि त्यसले कामको प्रभावकारितामा असर पुर्‍याउने गरेको अनुभव सुनाए। उनले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबाट कुनै कमजोरी भएका भए त्यसलाई सच्चाएर जाने प्रतिबद्धता व्यक्त गरे।

'हामी निर्वाचित हुँदा गरेका प्रतिबद्धता कतिपय पूरा हुँदैछन्, बजेट, स्रोत साधनको अभावमा पनि केही योजना अगाडि बढाउन सकिएको छैन', उनले भने। नगरपालिका बनेपछि पहिलो वर्षको कार्ययोजनाअनुसार नगरका सबै विद्यालय र स्वास्थ्य संस्थामा सडकको पहुँच पुर्‍याइएको उनको भनाइ छ।

यही वर्ष नगर खरका छानामुक्त हुने र घरबारविहीनलाई घर बनाइदिने नगरप्रमुख पौडेलले बताए। अति विपन्नको घर निर्माणका लागि सङ्घ सरकारले विशेष अनुदानबापत रु एक करोड नगरपालिकालाई उपलब्धसमेत गराइसकेको छ। यस्तै भूमिहीनको समस्या पनि सधैंका लागि अन्त्य हुने नगरप्रमुख पौडेलले बताए। सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका योजनालाई पनि गति दिइने उनको भनाइ छ।

सामाजिक तथा मानव विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए। उनका अनुसार शिक्षा क्षेत्रमा मात्र नगरपालिकाको झण्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ। त्यसपछि ठूलो बजेट स्वास्थ्यमा जान्छ। योजना अधिकृत प्रेमप्रसाद सापकोटाले गत आवमा भौतिकतर्फ नगरपालिकाले कूल ८८ प्रतिशत र वित्तीयतर्फ ८३ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गरे। गत वर्ष २३ किमि नयाँ सडक विस्तार भएको र एक हजार २०० मिटरमा कालोपत्र भएको उनको भनाइ छ। आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गासमेत व्यवस्थापन गरिसकेको छ। रासस

प्रकाशित: १५ आश्विन २०७८ ०७:४१ शुक्रबार

जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न