समाज

ह्युमपाइप राखेर मेलम्ची तर्ने वातावरण तय गर्दै नगरपालिका

मेलम्ची नगरपालिकाले अवरुद्ध सडक खुलाउँदै अस्थायीरूपमा ह्युमपाइप हालेर अस्थायी पुल निर्माणको काम थालेको छ। मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ तथा स्थानीयवासीको आग्रहपछि उपभोक्ता समितिमार्फत नगरपालिकाले बजेट विनियोजन गरी ह्युमपाइप राख्ने काम भइरहेको उपभोक्ता समितिका सचिव जयराम दुलालले जानकारी दिए।

बाढीले पुल बगाउँदा मेलम्ची नवलपुर, ज्यामिरे, शिखरपुर, पाँचपोखरी जानका लागि सडक सञ्जाल टुटेको थियो भने मेलम्ची दुवाचौर, केउरानी, मानेखर्कलगायतका स्थानमा जानका लागिसमेत वैकल्पिक व्यवस्था नहुँदा स्थानीयवासीले दुःख भोग्न परेको थियो। चाडपर्व नजिकिँदै गर्दासमेत बाटोका कारण व्यापार गर्न नपाएको र सधैं चहलपहल हुने मेलम्ची बजार यसपालि सुनसान भएको भन्दै जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउन व्यापारीले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए।

'ह्युमपाइप हाल्ने काम सुरु भएको छ। बढीमा एक हप्ताको समय दिएका छौँ। पुल निर्माण भएपछि आवतजावतमा सहजता हुनेछ”, मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले भने। यता उपभोक्ता समितिले भने पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको छ। “नगरपालिकाले दिएको एक हप्ताको समय हामीलाई पर्याप्त छ। जतिसक्दो छिटो काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ। पाँच दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयत्नमा हामी छौँ', समितिका अध्यक्ष तारा बानियाँले भने।

प्रकाशित: १३ आश्विन २०७८ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App