समाज

आइतबारबाट मौसममा सुधार आउने

मौसमविद्हरूले आइतबारबाट मौसममा हल्का सुधार हुने अनुमान गरेका छन्। आइतबारसम्म देशभर सामान्य बदली र हल्का वर्षा जारी रहने उनीहरूको अनुमान छ।  

असोजको दोस्रो सातापछि वर्षे मनुसन समाप्त हुने र त्यसपछि मात्र बदली र वर्षा हुने क्रम रोकिने मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आइतबारबाट मनसुनमा हल्का सुधार भए पनि बदली र हल्का वर्षा हुने क्रम पूर्ण रूपमा रोकिँदैन।

‘असोजको पहिलो साततादेखि दोस्रो सातासम्म वर्षे मनसुन अन्त्य हुन्छ। त्यसपछि मात्र हल्का वर्षा र बदली हुने क्रम रोकिन्छ,’ श्रेष्ठले भने। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आगामी २४ घन्टा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २६ भाद्र २०७८ ०७:२३ शनिबार

मौसम