समाज

जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्त्य हुने महिना हो।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँग स्थानीय तहबाट विकसित भएको वायु मिसिएपछि भारी मात्रामा वर्षा भएको मौमसविद्ले जनाएका छन्। सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।

भारी मात्रामा वर्षा हुँदा काठमाडौंका नदी खोलामा सोमबार बिहान बाढी आयो। ‘काठमाडौंको जमिनले पानी सोस्न भ्याएन’, वरिष्ठ मौसमविद् सापकोटाले भने, ‘त्यसपछि पानी ओभर फ्लो भई बाढी आयो।’ काठमाडौंको अधिकांश भूभाग घरले ढाकेको, बाँकी भाग पनि पिच सडक तथा ढलान गरिएको हुँदा जमिनले पानी सोस्न नसकेको वातावरणविद्हरूको तर्क छ।

बाढीका कारण वाग्मती, धोवीखोला, मनोहरालगायतका नदीखोला किनारका बस्ती डुबानमा परे। बाढीबाट काठमाडौं, ललितपुर र भक्तपुरका गरी ४ सय घर डुबानमा परेको र २ सय ५० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा हुने सम्भावना रहेको जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७८ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App