समाज

काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्। 

नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका हुन् ।  

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिए। उनले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पुर्‍याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे।  

सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन्। अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रर्दशन गरेका थिए।

काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ।

प्रकाशित: १५ भाद्र २०७८ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App