समाज

बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ

बाघको छालासहित पक्राउ परेका तीन जना। तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय तनहुँ।

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।  

व्यास नगरपालिका–६  सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक शिवराज क्षेत्रीले बताए।  

बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधी गरीरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत हड्डी, खप्पर लगायत फेला परेको क्षेत्रीले जानकारी दिए। उनीहरुले प्रयोग गरेको दुई वटा पल्सर बाईक, एउटा डियो स्कुटर, तीन वटा मोबाईल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ। ‘थप अनुसन्धानका लागी जिल्ला वन कार्यालयमा पठाएका छौँ’, उनले भने।

प्रकाशित: १३ भाद्र २०७८ ०६:४६ आइतबार

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ