समाज

लागुऔषध मुद्दाका फरार प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न

लागुऔषध मुद्दामा फरार रहेका मोरङको बेलबारी नगरपालिका–५ घर भएका एक प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न रहेको खुलेको छ।

मुद्दामा अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन भागिरहेका ६१ वर्षीय राजनारायण भनिने लवनारायण माझी पुनः गाँजाकै कारोबारमा संलग्न रहेको पाइएको हो। उनले आफ्नै घरबाट गाँजा कारोबारको धन्दा चलाइरहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार घरको कोठामा राखेको ४ किलो ३ सय ग्राम गाँजा र ५० हजार रूपैयाँ नगदसहित माझीलाई पक्राउ गरिएको छ। माझीविरुद्ध लागुऔषध मुद्दा चलाउन अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।

मोरङ जिल्ला अदालतले लागुऔषध मुद्दामा माझीलाई २०७५ पुस ५ गते ६ महिना ५ दिन कैद र ३ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर उनी कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार रहेका थिए। सजाय भुक्तान नगरिकन भागिरहेका माझी पुनः लागुऔषध गाँजासहित पक्राउ परेका हुन्।

प्रकाशित: १२ भाद्र २०७८ ०९:२८ शनिबार

लागुऔषध मुद्दा