समाज

बेलाबेला किन भासिन्छ पोखरा

पोखरा महेन्द्रपुलमा भासिएको क्षेत्र । तस्बिर : उमेश पुन/ नागरिक

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा आइतबार राति पोखराको महेन्द्रपुलस्थित सडकमा बडेमानको भ्वाङ पर्‍यो। भेलका कारण सडकमात्र नभई फुटपाथसमेत भासिएको छ। सडक र फुटपाथ भासिएपछि आसपासमा घर भएका चिन्तित बनेका छन्। महेन्द्रपुल पोखराको कहलिएको व्यापारिक क्षेत्र हो। त्यहाँ वित्तीय संस्थादेखि विभिन्न निजी कार्यालय र प्रतिष्ठानहरू छन्।

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन। पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ। कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा। ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ। भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ। सडक किनारमा भ्वाङ परेपछि नजिकैका घरसमेत जोखिममा पर्न सक्ने विज्ञहरूको भनाइ छ।

पोखरामा आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म करिब १४ घन्टा अवधिमा २ सय ६० मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी ७ बजेदेखि भीषण वर्षा सुरु भएको थियो। रातभर वर्षा हुँदा पोखरा सहरभरि नै भेलबाढी आएको उनको भनाइ छ। उनका अनुसार यसपालि मनसुनको छोटो अन्तरालमा भएको वर्षा यही नै सबैभन्दा बढी हो। यसअघि असार २३ गते नौ घन्टामा २५८ मिलिमिटर वर्षा भएको थियो। मंगलबारसम्म भीषण वर्षाको सम्भावना रहेकाले थप जोखिम निम्तिन सक्ने उनले बताए।  

पोखराको महेन्द्रपुल क्षेत्रमा अघिल्ला वर्षमा समेत बेलाबेला जमिन भ्वाङ पर्ने गथ्र्याे। यसपटक क्षति बढी भएको पोखरा महानगरपालिकाका प्राविधिकहरू बताउँछन्। पोखरा महानगरपालिकाका सबइन्जिनियर नेत्र तिमिल्सेनाका अनुसार वर्षा बढी हुँदा आइतबार राति ९ बजेतिर त्यहाँ भ्वाङ पर्न थालेको थियो। रातभरको भीषण वर्षापछिको भेलले खोतल्दै जाँदा भ्वाङले झनै ठूलो आकार लिएको तिमिल्सेनाले बताए। ‘बेलुकी भ्वाङ परेको जानकारी पाएपछि मध्यरातसम्म हामी त्यहीं रहेर केही प्रयास गरेका हौं। भेल पनि तर्काएका थियौं। बिहानपख त झनै बढी क्षति भएछ,’ उनले भने।

उनका अनुसार खानेपानी विस्तारका क्रममा पाइप बिच्छ्याउँदा त्यो क्षेत्रमा खनिएको थियो। खाडलको १० मिटर दूरी ढलान हुन बाँकी थियो। दोहोरो पार्किङ रहेकाले ढलान हुन सकिरहेको थिएन। तल र माथि ढलान भए पनि १० मिटर जति बाँकी रहेकोमा त्यही ठाउँमा भेलले खोतल्दा भ्वाङ परेको तिमिल्सेनाले बताए। पोखरामा अहिले खानेपानी पाइप बिछ्याउने काम भइरहेको छ। पोखराभित्र सय किलोमिटर दूरीको खानेपानी पाइप बिच्छ्याउने योजनअनुरूप महेन्द्रपुल क्षेत्रमा पनि काम भइरहेको हो।

‘पार्किङको दोहोरो समस्या भएकाले त्यही क्षेत्र ढलान हुन बाँकी थियो। त्यसैमा खोतल्दा खाडल पर्न गयो,’ तिमिल्सेनाले भने। कमजोर ठाउँ फेला पारेपछि भेलले भित्रभित्र खोक्रो बनाएको पाइएको उनले बताए। सडकमा खाडल परेसँगै नजिकैका घरको पेटी पनि भासिएको छ। उनका अनुसार त्यहाँको माटो कमजोर छ। जहाँँ नदीपुरदेखि सोहोरिएर आएको भेलबाढी मिसिन्छ। भीषण वर्षा हुँदा पालिखेचोक क्षेत्रमा त सडक वारपार गर्न पनि सकस हुन्छ। त्यही भेलले खोतल्दा क्षति भएको उनले बताए।  

उनका अनुसार त्यहाँ रहेको नालीबाट पानी निस्किएर बाटोमा बग्ने भएकाले पनि क्षति हुने गरेको छ। ‘खाडलको समस्या समाधान गर्न महानगर, खानेपानी संस्थान, सडक विभागलगायत निकायको सहकार्य भइरहेको छ। अहिले अस्थायी रूपमा त्यहाँ काम गरे पनि दीर्घकालीन समस्या समाधान गर्न भित्रसम्म खोतलेर हेर्नुपर्ने हुन्छ,’ तिमिल्सेनाले भने।  

भूगर्वविद् पनि छोटो समयमा आएको भीषण वर्षापछिको भेलले खोतल्दा महेन्द्रपुल क्षेत्रमा खाडल पर्ने गरेको बताउँछन। भूगर्भविद् श्रीकमल द्विवेदी भन्छन्, ‘यसै त पोखरामा बढी पानी परेको छ। पानीको भेलको निकास सही नहुँदा भित्रभित्र पसेर खोतल्दा खाडल पर्ने गरेको छ। कमजोर भूबनोट भएका कारण भेलबाढीले सजिलै सडक खोतल्ने गरेको उनको भनाइ छ। पोखराको महेन्द्रपुल मात्र नभई आसपासको क्षेत्र बर्सेनिजसो भासिने गरेको उनले सुनाए। केही वर्षअघि पोखराको माथिल्लो क्षेत्र अर्मलाको खेत भासिँदा निकै क्षति पुगेको थियो।

‘व्यवस्थित तरिकाले ढलको निकास गरिएको भए यो अवस्था नआउन सक्थ्यो। पोखरामा जमिनको संरचना कमजोर छ। पानीको निकासले खोतल्दै जाँदा सुरुङ बनेको छ,’ उनले भने, ‘पानीको ढलको व्यवस्थापन उचित नभएकै हो। ढलबाट बग्नुपर्ने पानी सडकमै बगेपछि कमजोर ठाउँ पाउनासाथ खोतल्न थाल्छ ।’ उनका अनुसार पोखराको चुनयुक्त भित्री भूगोललाई भेलको पानीले कमजोर बनाउँछ र प्वाल पर्दै जान्छ। ढलको पानीले चुनलाई खियाउँछ। त्यसले गर्दा भित्री भाग भ्वाङ पर्ने जोखिम हुन्छ। ‘सडकसँगै ती आसपासका घरको अवस्थाबारे पनि अध्ययन गर्नुपर्छ। सुरुङमाथि नै घर पनि छन। तर, माथिको संरचना कमजोर भए जोखिम हुन सक्छ,’ उनले भने।

प्रकाशित: ८ भाद्र २०७८ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App