समाज

फेरिएको 'आधुनिक' गाईजात्रा

भाइरल भएको तस्बिर। जात्राको क्रममा मुख्य आकर्षण मानिएको भैलद्य (परालबाट बनाउने गाई) परिक्रमा गराइँदै।

गाईजात्राको दिन सोमबार विहानैदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल बन्यो, त्यो हो मोटरसाइकलमा राखेर गाईजात्राको गाई (स्थानीय नेपाल भाषामा साँचा) नगर परिक्रमा गराइँदै गरेको। 

युगौंदेखि चल्दै आएको गाईजात्राको गाई बाजा बजाएर नाचगान टोलीसहित पैदल भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेकोमा इतिहासमै पहिलो पटक मोटरसाइकमा राखेर गाईजात्राको गाई परिक्रमा गराएको दृश्य देखिएपछि उक्त फोटो भाइरल बनेको हो। ‘आधुनिक गाईजात्रा’ नाम दिएर पोष्ट भएको उक्त तस्बिर धेरैबाट लाइक, कमेन्ट अनि सेयर भयो।  

इतिहासमै पहिलो पटक यस्तो दृश्य देखिएपछि नयाँ प्रचलनको सुरुवातबारे धेरै टिकाटिप्पणी चल्यो। एकथरीले आधुनिकतासँगै यसलाई स्वीकार्नु पर्छ भनेरै प्रतिक्रिया राखे भने अर्काेथरीले आधुनिकताको नाममा यसरी परिवर्तन गर्दै जाने हो भने हाम्रो संस्कृति भोलि कता पुग्ला? भनेर गम्भीर चिन्ता साटे।  

त्यसो त यो वर्षको भक्तपुरको गाईजात्रा यसअघिका वर्षहरु भन्दा फरक देखिए नै, यसअघिका वर्षहरुमा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) सहित हुने गरेकोमा यो पटक नाचगानविहीन भएर जात्रा औपचारिकतामा सिमित भयो।  

कोरोनाका कारण यो वर्षको जात्रा पनि औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाले आग्रह गरेपछि जात्रा औपचारिकतामा सीमित हुन पुगेको हो। भक्तपुरको गाईजात्रा आठ रात नौ दिन हुने गर्दछ। तर कोरोनाका कारण मुख्य दिन सोमबार नै औपचारिकतामा सीमित भएपछि अन्य दिन पनि त्यस्तो विधि जात्रा नहुने निश्चित जस्तै देखिएको छ। अघिल्ला वर्षहरुमा भए गाईजात्राको पूरै हप्ता जात्रा पर्वले सबै नगर नाचगानमय हुने गर्दथ्यो। जात्राको क्रममा अनेक प्रकारकाे नाचगानले नगर गुन्जायमान बन्थ्यो।  

पछिल्लो एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। यस क्रममा उनीहरूलाई श्रद्धालुहरुबाट ठाउँठाउँमा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति छ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न सरकारले आह्वान गरेको थियो। यही अनुसार उपत्यकाको गाईजात्रा गतवर्ष जस्तै यो वर्ष पनि रौनकविहीन हुन पुग्यो।

प्रकाशित: ७ भाद्र २०७८ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App