समाज

'सल्लाघारीको जग्गामा बसपार्क बनाउन दिन्नौं'

भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको नाममा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा कुनै हालतमा बसपार्क बनाउन नदिने जनाएको छ। काठमाडौं महानगरपालिकाले पूर्वबाट आउने सवारीसाधन लागि उक्त जग्गामा बसपार्क बनाउन उपयुक्त हुने सुझाएपछि नगरपालिकाले मंगलबार विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो।  

‘काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात संचालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौं उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटी नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने व्यहोरासहितको प्रतिवेदन तयार गरेको उल्लेख छ। काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालको लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। 

काठमाडौ महानगरपालिका क्षेत्रभित्र गन्तव्य बनाई आउने देशका विभिन्न भागका सवारी साधनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले आफ्नो क्षेत्राधिकार बाहिर गएर भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी खुल्ला जग्गामा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गर्नु आपत्तिजनक छ।’ जारी विज्ञप्तिमा जनाइएको छ। काठमाडौं महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पारेको छ।  

भक्तपुर नगरपालिकाले उक्त ठाउँलाई २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी गराउँदै आएको छ।

नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी संरक्षण गर्दै अएको हो। यसर्थ काठमाडौ महानगरपालिकाको यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलद्वारा भ.न.पा.को सहमतिविना यातायात संचालनसम्बन्धी पेश गरेको प्रतिवेदनलाई भ.न.पा.ले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको जनाएको छ। नेपाल ट्रष्ट नियमावली २०६५ मा ट्रष्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी संचालन गर्ने गराउनेलगायतका शैक्षिक क्षेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख छ।

यसरी ट्रष्टको नियमले समेत शैक्षिक क्षेत्रको लागि नै सदुपयोग गर्ने नियममा व्यवस्था भएको उक्त जग्गामा बसपार्क संचालनको प्रस्ताव नियमसंम्मत छैन। साथै भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क संचालन गर्ने काठमाडौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको प्रष्ट पारेको छ।

प्रकाशित: १ भाद्र २०७८ १४:५७ मंगलबार

भक्तपुर नगरपालिका