समाज

भेटिए बेपत्ता दुर्गाप्रसाद

सुनुवाइबिनै भारतीय जेलमा ४० वर्ष बिताएर घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना बेपत्तापछि फेला परेका छन्। आइतबार साँझ घरबाट हराएका उनी करिब ४ घन्टाको पैदल दूरीमा रहेको जौबारीमा फेला परेका हुन्।  

गएराति करिब १२ बजे उनलाई प्रहरीले मेची राजमार्गको जौबारीमा फेला पारेको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताए। ‘उहाँलाई अहिले तीनघरे प्रहरी चौकीमा राखिएको छ,’गोपालले सोमबार बिहान भने, ‘केहीबेरपछि घर ल्याउँछौं।’

दुर्गाप्रसाद आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेपछि फर्केका थिएनन्। दुर्गाप्रसाद अरू दिन पनि साँझ ४/५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे। तर, आइतबार साँझ घरबाट हिँडेका उनी नफर्केपनि परिवारजन आत्तिएका थिए। सधैं पनि बिहान–बेलुका उनी घरबाट टहलिन निस्किन्थे। तर, आइतबार भने उनी ३ घन्टाभन्दा टाढाको घट्टामा भेटिएर बेपत्ता भएपछि घर फर्केका थिएनन्।

भारतीय जेलबाट छुट्ने बेला चिकित्सकले दुर्गाप्रसादको मानसिक अवस्था ९ वर्ष ९ महिनाको बालकको झैं भएको बताएका थिए। घर आएपछि पनि उनको व्यवहार असामान्य रहेको पारिवारिक स्रोतले जानकारी दियाे। केही महिनायता दुर्गाप्रसादको पारिवारिक सामाजिकीकरणमा समेत समस्या भइरहेको छ। लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताइरहेका छन्। दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भएपनि अहिले दिनदिनै जटिल बनिरहेको गोपाल बताउँछन्। ‘पहिलापहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो,’ गोपालले भने, ‘दिन बित्दैगएपछि उहाँको अवस्था झन्झन् असहज देखिँदैछ।’  

दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ। दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन्। विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो।  

प्रकाशित: ३२ श्रावण २०७८ ०२:४८ सोमबार

६१ वर्षे दुर्गाप्रसाद तिम्सिना मेची राजमार्गको जौबारीमा फेला परे