समाज

संघर्षशील नारीको कथा 'मायाको संसार'

केही महिनाअघि इलाममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीलाई आफ्ना पतिको अवस्थाबारे जानकारी गराउँदै माया भण्डारी (भट्टराई) । तस्बिर : भीम/नागरिक

प्रसव पीडामा छट्पटिएका बेला अस्पतालबाटै श्रीमान बेपत्ता भएर पीडामा रहेकी माया भण्डारी (भट्टराई)को जीवनमा आधारित वृत्तचित्र ‘मायाको संसार’ निर्माण गरिएको छ। सशस्त्र द्वन्द्वको प्रभावले बेपत्ता शान्तिपुर गाउँका लोकेन्द्र भट्टराईकी पत्नी मायाको पीडालाई समेटेर वृत्तचित्र तयार गरिएको हो।

समृद्धि भिडियो सेन्टरले बजारमा ल्याएको वृत्तचित्रमा ताप्लेजुङमा जन्मिएर इलामको शान्तिपुरका लोकेन्द्रसँग बिहे भएकी ४० वर्षीया मायाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वकै बेला विद्रोही माओवादीबाट ससुरा चन्द्रकान्त भट्टराईको हत्या गरिएको, प्रसव पीडाले अस्पतालमा सिकिस्त भएका बेला उनका पति बेपत्ता भएको र त्यसपछि मायाले गर्नुपरेको संघर्ष वृत्तचित्रमा समेटिएको छ।  

निकै जटिल अवस्था पार गरेर सफलताको बाटोमा उक्लिएकी मायाको मार्मिक कथा र संघर्षबाट अरूले शिक्षा लिने वृत्तचित्रका परिकल्पनाकार रामप्रसाद ढुंगेलले बताए। ‘माया भट्टराईको जीवन संघर्षबाट अरूलाई पनि उत्प्रेरणा र ऊर्जा मिल्छ,’ ढुंगेलले भने, ‘निकै दुःख झेलेर सफलताका पाइला चालिरहेकी माया धेरैका लागि दृष्टान्त बन्न सक्छिन्।’

ताप्लेजुङको पेदाङ गाउँमा २०३८ वैशाख ७ मा जन्मिएकी मायाको परिवार २०४६ सालको राजनीतिक परिवर्तनपछि इलाममा बसाइँ सरेको थियो। २०५५ साल वैशाख १५ मा लोकेन्द्रसँग बिहे गरेकी मायाका २ छोरी र १ छोरा छन्। २०६४ वैशाख ७ मा कान्छी छोरी जन्मिनेक्रममा प्रसव पीडामा रहेकी मायालाई अस्पतालमै छाडेर बेपत्ता भएका लोकेन्द्रको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो शल्यक्रिया गर्ने अन्तिम समयमा औषधि किन्न निस्केका लोकेन्द्र अहिलेसम्म बेखबर रहेपछि मायाले निकै कष्टपूर्ण जीवन झेल्नुपर्‍यो। 

‘मलाई जीवनमै सबैभन्दा दुःख लागेको क्षण थियो त्यो,’ माया सम्झिन्छिन्, ‘पटक–पटक आत्महत्या गर्न डोरी लिएर घरबाट निस्किएँ तर छोराछोरीको मायाले फर्काएर ल्यायो।’  

मायाका ससुरा चन्द्रकान्त भट्टराई तत्कालीन शान्तिपुर गाउँ विकास समितिका प्रधानपञ्च थिए। देशमा सशस्त्र द्वन्द्व चलेका बेला २०५६ कात्तिकमा माओवादीले उनको हत्या गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका जागिरे लोकेन्द्रलाई पनि पटक–पटक धम्की दिइएको माया बताउँछिन्। ‘मेरा ससुराको हत्या भएपनि श्रीमान् राति कहिल्यै घर बस्नुभएन, कहिले जंगल र कहिले गोठमा रात कटाउनुहुन्थ्यो,’ मायाले भनिन्, ‘उहाँलाई पटक–पटक धम्की आइरहेको थियो, हामी अस्पतालमा रहेका बेला कसैले उहाँलाई बेपत्ता बनाएको आशंका छ।’  

द्वन्द्वको असरले नै लोकेन्द्र बेपत्ता भएको भन्दै गाउँ र जिल्ला तहका सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राख्न सिफारिस गरे। तर, २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि उनी बेपत्ता भएको भन्दै उपल्लो सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राखेन। मायाले आफ्ना पतिलाई सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिको सूचीमा राख्न दर्जनौंपटक आग्रह गरिन्, अझै गरिरहेकी छिन्। ‘आयोगले पटक–पटक आश्वासन दियो तर आश्वासनमै सीमित भयो,’ माया दुखेसो पोख्छिन्, ‘मेरो श्रीमान्माथि सयौं पटक धाकधम्की आए, निकै कठिन अवस्थामा उहाँ बेपत्ता हुनुभयो तर राज्यले बेपत्ता भएकोसम्म देखिदिएन।’  

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई त्यतिबेला निधन भएका व्यक्तिसरह राहत रकम उपलब्ध गरायो। तर, बेपत्ता लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखेको छैन। मायालाई एकल महिलाको पहिचान दिएर सामाजिक सुरक्षा भत्तासम्म दिइएको छ। स्वयं माओवादीका जिल्ला नेतासमेतले औपचारिक कार्यक्रमहरूमा लोकेन्द्रलाई बेपत्ताकै सूचीमा राख्न सकिने बताइरहेका छन्।

पति बेपत्ता भएपछि घरमा कमाएर ल्याउने बाटो हरायो। सुत्केरी मायालाई खुट्टा टेक्न र ३ छोराछोरीको गाँस जम्मा गर्न निकै कठिन भयो। उनी सदरमुकाम आइन्। पोल्ट्री सप्लायर्स, तरकारी खेती र किराना पसल सञ्चालन गरी बिहान–बेलुकाको छाक टार्नसक्ने भइन्। आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिइन्। उनका छोरा रेबन सिड्नीको केम्स ओन विश्वविद्यालयमा इन्फर्मेसन टेक्नोलोजी अध्ययन गर्दैछन्। सानी छोरी रेजिना कक्षा ९ मा पढ्छिन्। 

‘जति पीडा खप्नुपरेपनि तयार छु तर मेरा श्रीमान्लाई कसले, किन कता पुर्‍यायो भन्ने थाहा पाउन पाए सन्तोष मिल्ने थियो,’ उनले भनिन्, ‘अहिले आउनुहुन्छ कि भरे आउनुहुन्छ भनेर बाटो हेरिरहेकी छु।’

प्रकाशित: ३१ श्रावण २०७८ १४:३८ आइतबार

संघर्षशील नारीको कथा मायाको संसार