समाज

मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक

तनहुँको बन्दीपुरमा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी मणिमुकुन्देश्वरी पर्खाल ‐मिनी ग्रेटवाल) निर्माणाधीन छ। बन्दीपुर गाउँपालिकाको लगानीमा बन्दीपुर–२ थानीमाई डाँडादेखि १४ सय मिटरको दुरीमा मिनी ग्रेटवाल निर्माण भइरहेको हो।  

यो बन्दीपुर घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । यही गन्तव्य चिनाउन बन्दीपुर गाउँपालिकाको ८९औं कार्यपालिका बैठक मिनी ग्रेटवालको प्रवेश बिन्दु थानीमाई डाँडामा बसेको छ । ‘ऐतिहासिक र पर्यटकीय थलोमा कार्यपालिका बैठक बसेर पर्यटन प्रवद्धंन गर्दै जाने निर्णय गरेका छौं। यसपालि थानीमाईमा बस्यौं। अबको बैठक अर्को वडाको महत्वपूर्ण ठाउँमा बस्छौं,’ गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले भने । बैठकले पुरानो भएको थानीमाईको मन्दिर जीर्णोद्धार गर्ने निर्णयसमेत गरेको थापाले जनाए। थानीमाई डाँडा बन्दीपुर घुम्न आएका पर्यटकले सूर्योदय र सूर्यास्त अवलोकन गर्ने स्थान हो।

यस्तै, कार्यपालिका बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। गत असार १७ गते घरमाथिबाट खसेको पहिरोमा परी बन्दीपुर–२ तामुङकी ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको थियो। बाढीपहिरोले घर पूर्ण रुपमा क्षति भएकालाई पनि गाउँपालिकाले राहत स्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ। विपद् व्यवस्थापनका लागि २ सय ५० थान जाली खरिद गर्ने निर्णयसमेत गरिएको छ। बन्दीपुर गाउँपालिका–१ जामुनेमा निर्माण प्रस्ताव गरिएको फोहोरमैला संकलन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन ‐डिपिआर) तयार पार्ने र ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न नदीको घाट खुलाउने निर्णयसमेत शुक्रबार बसेको बैठकले गरेको छ।  

२ वर्ष पहिलेदेखि निर्माण थालिएको मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्न थालेको छ। थानीमाईमा प्रवेश बिन्दु रहेको मिनी ग्रेटवाल मणिमुकुन्देश्वरी डाँडासम्म करिब ३ किलोमिटरमा बन्ने गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्। यसै वर्ष सक्ने लक्ष्यका साथ ५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको उनले बताइन्। उनका अनुसार चालु वर्षको बजेटमा मिनी ग्रेटवाललाई गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विजियोजन गरेको छ।

पूर्वाधार थप्दै पर्यटकको बसाइ लम्ब्याउने नीति गाउँपालिकाले लिएको उपाध्यक्ष गुरुङले बताइन्। सोही क्रममा डुम्रेदेखि बन्दीपुरसम्म केबलकार निर्माणाधीन छ। गाउँपालिकावासी र गाउँपालिकाले केबुलकारमा लगानी गरेका छन्। साहसिक पर्यटक भिœयाउन सिसाको दृश्य अवलोकन केन्द्र, स्काई ग्लास ब्रिज र जिप लाइन निर्माण गर्ने योजनामा गाउँपालिका रहेको उनले बताइन्।

२०७६ वैशाख दोस्रो साता बन्दीपुरको ४१औं कार्यपालिका बैठक सिद्धगुफामा बसेको थियो। पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलमा बसेको सो कार्यपालिका बैठक तनहुँमै पहिलो थियो। त्यसपछि जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले पनि पर्यटन प्रवद्र्धनका लागि यस्तै उपाय अपनाउन थालेका छन्।

प्रकाशित: ३० श्रावण २०७८ ०४:४३ शनिबार

तनहुँको बन्दीपुर विश्वप्रसिद्ध ग्रेटवाल गन्तव्य चिनाउन बन्दीपुर गाउँपालिका ८९औं कार्यपालिका बैठक