समाज

पैसाकाे प्रलाेभनमा परेर प्रहरीले नै भगाए जुवाडे

धनगढी उपमहानगरपालिका वडा नं ३ बडहरा स्थित एएफसी रेस्टुरेन्टमा सोमवार दिउँसो जुवा भैरहेको सुचना पाएर सिभिल पोशाकमा गएको जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह (आर आई टी) को संयुक्त टोलीले छापा मार्‍याे। प्रहरीले छापा मार्दा हजारौँको जुवा खेलिरकेका थिए। जुवा हेर्ने करिब १२ जना थिए। प्रहरीले एक जना जुवाडेलाई पनि समातेन। जुवाडेसँग भएको सबै पैसा असुल्याे। रेस्टुरेन्टको काउन्टर समेत फुटाईयो। प्रहरीले जुवाडेसँग भएको सबै पैसा लिएर जुवाडे सबैलाई भगाएको त्यँहा सहभागी एक जनाले बताएका छन्। सुरुमा भागेकालाई प्रहरीले बाहिरबाट समातेर भित्र ल्याएर पछि भगाएको उनले बताए।

उनले भने, ‘भुतपुर्व सैनिकले संचालन गरेको उक्त रेस्टुरेन्टमा संचालकले मलाई दिउँसो खाना खान वोलाएका थिए। त्यँहा सबै गरेर १२ जना जति थियौं। म त तास खेलिरहेको थिइन। एक्कासी प्रहरी आएपछि म भागेर पछाडी तिर गए। पछाडी प्रहरीले घेरा हालिसकेको रहेछ, दुई जना प्रहरीले धकेल्दै भित्र नै पठाए ’उनले भने, ‘पछि प्रहरीले सबैलाई जान दिएपछि म पनि भागेर गए।’  

आफूसँग भएको पैसा लैजान र आफूहरुलाई छोडिदिन भनेर जुवाडेले आग्रह गरेपछि पैसाको प्रलोभनमा परेर जुवाडेलाई प्रहरीले भगाएको एक प्रहरीले बताएका छन्। जुवाडे भगाइएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायको नेतृत्वमा मुचुल्का बनाउन प्रहरी टोली घटनास्थल पुगेको थियो। जुवाडेसँग भएको पैसा ठूलो परिमाणमा लिएपनि प्रहरीले ८५ हजार मात्र फेला परेको मुचुल्का बनाएको छ।

प्रहरी नायव निरिक्षक केशव जोशीको नेतृत्वमा आर आईटीका तीन जना र जिल्ला प्रहरीका दुई जना गरि ५ जनाको टोली सिभिल पोशाकमा छापा मार्न गएको थियो। नायव निरीक्षक केशव जोशीले भने आफू अलि ढिला पुगेको र त्यहाँ आफू पुगुन्जेल जुवाडे भागिसकेको बताए। ६ लाख पैसा काउन्टरमा छ भनेर सुचना पाएपछि प्रहरी टोलीले काउन्टर समेत तोड्न लगाएको थियो। काउन्टरमा पैसा छ भन्ने सुचना पाएर तोड्न लगाएपनि पैसा नभेट्टाएको प्रहरीको दाबी छ। एक खुराक लागु औषधसहित एक जना पक्राउ परेपनि जानकारी सार्वजनिक गर्ने प्रहरीले जुवामा छापा मारेको घटना गुपचुप राखेको थियो।

जुवाडेलाई भगाएर ५ लाख भन्दा बढी रकम प्रहरीले लिएको भन्ने कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुकाबीचमा सनसनी फैलिएपछि यसमा संलग्न नरहेका प्रहरी अधिकारी र प्रहरीहरुले समेत असन्तुष्टी व्यक्त गरिरहेको एक प्रहरी अधिकारीले बताए। प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ठूला जुवाडे भएकाले यिनिहरुको साथमा लाखौँ रकम हुने गरेको जुवाडेको वारेमा सबै जानकारी भएका एक युवकले बताए। ‘यि ठूला जुवाडे हुन, प्रत्येक सँग १ लाख भन्दा बढी नगद हुन्छ, ईमरजेन्सीको लागी चेक पनि बाेकेका हुन्छन्, 'उनले भने,‘८५ हजार मात्र हुने भन्ने हुँदैन।’

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जुवा खेलिरहेकाे सुचना पाएपछि प्रहरी पठाएको बताए। प्रहरीले जुवाडेलाई भगाएर ठूलो रकम लिएको भन्ने कुरा सत्य नभएको र ८५ हजार र तास बरामद गरेको उनले बताए। सुचना पाएर तयारीका साथ छापा मार्न गएको प्रहरी टोलीले १२ जनाको समुह मध्यमा एक जनालाई पनि पक्राउ गर्न नसकेको कुरा आफैँमा हास्यास्पद रहेको एक प्रहरी अधिकारी बताउछन्। कैलालीमा रकम बुझेर जुवा खेलाउन दिने गरेको प्रहरी माथी आरोप लाग्दै आएको छ।

प्रकाशित: २० श्रावण २०७८ ०५:०६ बुधबार

हजारौको जुवामा छापा प्रहरीले जुगाडे भगाएर पैसा लिए