समाज

पाल्पामा पाँच घर पुरिए एकको मृत्यु, एक बेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानीमा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पहिरोले पाँच घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ। राति सुतिरहेको समयमा पहिरोले घरसहित बगेका अन्दाजी ४० वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो। उनकी पत्नी ७५ वर्षीया सुन्दरी गुरुङ गम्भीर घाइते भएकी छन्। बिहीबार बिहान ४ बजेतिर गएको पहिरोमा पुरिएर चार वर्षीय आरभ परियार बेपत्ता छन्। आरभका बुवा रमेश र आमा पूजा परियार पनि घाइते अवस्था उद्धार गरिएको छ।

तिनाउँ–५ का वडाध्यक्ष बलबहादुर दर्लामीले धेरै माथिबाट गिट्टी र ठूला ढुङ्गासहितको पहिरोले पाँच घर बगाएको बताए। उनी भन्छन्, ‘धेरै माथिबाट पहिरो आएको छ। खानीका कारण वा अन्य पनि कारण हुन सक्छ।’ अहिले पहिरोका कारण विस्थापितहरूलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा राखिएको वडाध्यक्ष दर्लामीले बताए। पहिरोमा परी स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पूजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र दीपेश पुन घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। स्थानीय प्रेम श्रेष्ठले विस्थापितहरूलाई खाना र बासका लागि अस्थायी रूपमा विद्यालयमा व्यवस्थापन गरिएको बताए। उनले स्थानीयकै सहयोगमा घाइतेहरूलाई उद्धार गरी पठाइएको बताए।  

यता दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ । धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाइ पर्ने बताइएको छ। घटनास्थलमा खटिरहेका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बेपत्ता बालकको स्काभेटरको सहयोगमा खोजी कार्य गरिरहेको बताए। उनले पानी परिरहेका कारण खोजी कार्यमा केही कठिनाइ भएको बताए। 

प्रकाशित: २५ असार २०७८ ०२:२२ शुक्रबार

मृत्यु