समाज

दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु

दार्चुला जिल्लाको नौगाड गाउँपालिका ३ चौखुटेमा बिहीबार विहान पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना एकै परिवारमा रहेका छन्। बुधबार रातभरी परेको अविरल वर्षाले बिहीबार बिहान ५ बजेतिर पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाको नातिनी मन्जुरी ठगुन्नाको मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताएका छन्। 

घर पहिरोले पुरिने बेला भाग्ने क्रममा १८ वर्षीया हरमती ठगुन्ना समान्य घाइते भएकी छिन्। ६ जनाको परिवार रहेको नन्दु ठगुन्ना बाख्रा चराउन तिकंर क्षेत्रमा गएका र अन्य दुई जना पनि घरमा नभएको उनले बताए। यसैगरि घट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर २९ वर्षीय लक्ष्मण सिटौलीको मृत्यु भएको छ। चौखुटेमा गोठे टमटाको घर पनि पहिरोले पुरिएको छ। ५ जनाको परिवार रहेको उनको घरमा पहिरोले पुरिने बेला कोही नभएकाले मानवीय क्षति नभएको उनले बताए। बिहीबार ५ बजे पहिरोमा पुरिएका तीन जनाको शव दिउँसो ११ बजेतिर पहिरोबाट बाहिर निकालिएको थियो।

यसैगरि ३२ किलोबाट क्षमताको खार खोला दोश्रो लुगजल विद्युत आयोजना बगाएको छ। खार र जामिर जोड्ने ५० मिटर लामो झोलुंगे पुल खार खोलामा आएको बाढीले बगाएको छ। नौगाड गाउँपालिका वडा नं ६ धुलीगडामा २ वटा घट्ट, तीन वटा निर्माणाधीन आरसीसी पुल बाढीले बगाएको र ६० परिवारका लागि बनाइएको खानेपानी आयोजनाका ३ वटा मुहान पनि बगाएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।  

प्रकाशित: २४ असार २०७८ १०:०३ बिहीबार

पहिरोमा पुरिएर ३ जनाको मृत्यु दार्चुला