समाज

धमाधम ठूल–ठूला पक्की पुल भत्किँदा स्थानीय चिन्तित

जब्दी घाटको पुल भत्किएको ७ बर्ष भित्रमा करोडौं लागतमा निर्माण भएको सत्ति घाटको पुलको स्पान शनिबार भत्किएको छ। जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ। जिल्लाको आर्थिक समृद्धिका सेतु मानिएका पुल धमाधम भत्किदा जिल्लावासी चिन्तित छन्।

बबई नदीमा आवागमन गर्न पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दी घाटको तीनवटा स्पान भत्काएर आवातजावत रोकिएको केही समयमा नै नवनिर्मित बर्दिया र कैलाली जोडन करोडौं लागतमा बनेको सत्ति घाट पुलको स्पान बाढीले भत्काएको छ। ‘देशमा धेरै ठूलो विकास भएको जस्तो लाग्थ्यो पुल देख्दा,’ एक स्थानीयले  भने‘ पुल देख्नलाई मात्र भयो।’

सत्ति घाटमा बर्दियातर्फ पुलको स्पान बाढीले भत्काएको हो। पुलको डिजाईनैमा त्रुटि भएकाले पुल बाढीले भत्काएको अनुमान छ। एउटा स्पान थपेर पुल सुरक्षित गर्न माग गरे पनि नियमनकारी निकायले स्थानीयको मागलाई वेवास्ता गर्दा अन्तत पुलको स्पान बाढीले भत्काएको स्थानीयको आरोप छ।

यतिबेला नदीले पूर्वतर्फको भाग काट्न सुरु गरेपछि स्पान बगाएर लैजान सक्ने स्थानीय बताउँछन्। ‘सर्बसाधरणले समेत पुल जोखिममा रहेको थाहा पाएका थिए’ स्थानीय रामकृष्ण थारुले भने, ‘सम्बन्धित निकायले वास्ता गरेन, राज्यको करोडौं लगनी खेर गयो।’  

पुलको स्पानमा क्षति भएपछि आवागमनमा प्रतिबन्ध लगाएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनका अनुसार नदी कटान रोक्नका लागि प्रयास भइरहेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन्। कटान रोक्न प्रहरी उपरीक्षक कार्की कर्णाली नदी कटान स्थलमा खटिएका छन्।  

पाँच सय मिटर लामो पुल निर्माणपछि पूर्बी र पश्चिम क्षेत्रको हुलाकी सडक मुख्य मार्ग बनेको थियो। पूर्व र पश्चिम आवागमन गर्न यातायात सेवा सञ्चालन भएको थियो। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए।  

पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि सम्पन्न गरेको थियो। पुल सम्म पुग्ने सडक नहुँदा सत्तिघाट पुल दुई वर्ष अलपत्र जस्तै भयो। सडक खुलाएपछि यातायात सेवा चल्न थालेको तीन वर्ष भित्रमा बाढीले स्पान भत्काएको हो। तीन वर्ष नबित्दै पुल भत्किँदा स्थानीय दुखी छन्।

यस्तै पाँच वर्षअघि १६ करोड रुपैयाँ लगानीमा बनेको जब्दी पुल भत्किएको थियोे। ४ सय २५ मिटर लामो पुलमा संचालनमा आएको एक वर्ष नहुँदै भत्किएको हो। जब्दी घाट पुल संचालनमा नआउँदै सत्तिघाट पुल भत्काउँदा निर्माण कम्पनी र हुलाकी सडक आयोजनाको लापरबाही भएको पुष्टि हुन्छ। ‘पुलमा पानी आएर टालियो’ बेचैपुरका रामबहादुर थारुले भने, ‘बबई तटबन्धन भत्काएर बस्ती पस्दा ठूलो २०७१ र २०७४ सालमा ठूलो क्षति भयो।’

नवनिर्मित पुलबाट अधिकांश मानिस सदरमुकाम गुलरियाको काम काज सकेर साझ घर सजिलो माध्यम बनेको थियो।

पुनः कर्णाली नवनिर्मित बनेको पुल स्पान भत्काउँदा स्थानीय पुरानै अवस्थामा फर्किएका छन्। फेरि पनि सर्वसाधरण डुँगामा जोखिमयात्रा गर्न बाध्यतामा पुगेका छन्।

बाढीले बबईमा निर्माण भएको जब्दी घाटको तीनवटा पुलको स्पान  भासिएको छ भने कर्णाली नदिमा भर्खरै संचालनमा आएको सत्ति घाटको पुलको एउटा स्पान भासिएको हो।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल गुणस्तरमा स्थानीयले खोट लगाएका छन्। पप्पु कन्स्ट्रक्सनको लापरबाहीले बाढीले भत्काएको स्थानीयको आरोप छ। निर्माण कम्पनीविरुद्ध अख्तियार अनुसन्धान आयोगमा मुद्दा परेपछि जब्दी पुल अलपत्र परेको छ।  

ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको स्थानीय गुनासो गर्छन्।

जिल्लाको सवै गाबिससँग जोड्ने पुल बगाए पनि यसको विकल्प खोज्नको लागि कतै तिरबाट पहल हुन सकेको छैन।

प्रकाशित: १२ असार २०७८ १२:२० शनिबार

झोलुंगे पुल इलाका प्रहरी कार्यालय